Edukhabar
सोमबार, ०३ बैशाख २०८१
विचार / विमर्श

शिक्षामा गुणस्तरको प्रश्न

आफ्नो जीन्दगीको गुणस्तर खोजी गर्ने ध्याउन्नमा अगुवाहरूले शिक्षार्थीको भविष्यलाई नै चेप्ट्याएर गम्भिर गल्ति गरिरहेका छौँ । अझ भन्ने हो भने आफ्नो जीवनलाई स्तरीय बनाउन नजान्नेबाट गुणस्तरीय शिक्षा प्रवन्धको अपेक्षा गरिरहेका छौँ ।

आइतबार, २४ मंसिर २०८०

गुणस्तर शब्द भन्न र अपेक्षा गर्न सजिलो छ । तर यसको परिभाषा र प्राप्तिको मार्ग भने वृहत र समय सापेक्षतामा आधारित छ । शिक्षा भन्नासाथ यो स्वतः गुणस्तरीय हुनुपर्दछ । सबैको लागि गुणस्तरीय शिक्षा रहर मात्र नभएर यो अपरिहार्य नै भएकोले निःशुल्क र अनिवार्य हुनुपर्दछ भन्ने विश्वव्यापि मान्यता स्थापित छ ।

शुद्ध र पिउनलायक पानी, स्वच्छ स्वास प्रश्वास गर्ने हावा, खानलायक खाना, बस्नलायक आवास, जोखिमरहित पेशा, जीवन निर्वाह गर्नपुग्ने आय, दु:खविमारमा उपचारको प्रवन्ध, सन्ततिको उज्वल भविश्य प्रति चिन्तारहित अवस्था, मनको भावना व्यक्त गर्न र सही सूचना वा जानकारी पाउन सक्ने स्वतन्त्रता, भयरहित जीवन र कारोवारको परिवेश, सहज यात्राको प्रवन्ध, बुढेशकालमा पनि सहज जीवन बाँच्न सक्ने सामाजिक सुरक्षाको प्रवन्ध दिन सक्ने व्यवस्था, यति त हो नि गुणस्तर बारेमा जनबोलीले समेट्ने परिभाषा । अहिले मानव सभ्यताले मार्दै आएको फड्कोसँगै प्राप्त भएका वा हुने नयाँनयाँ ज्ञान, प्रविधि र सुविधाका विषय जान्न पाउने र आफ्नो अशक्ततामा पनि यस्ता सुविधाहरू उपभोग गर्न पाउने थप अवस्थालाई पनि गुणस्तरको परिभाषाले समेट्ने गर्दछ ।

माथि भनिएको सामान्य अवस्था सिर्जना गर्न सक्षम भए नभएको आधारबाट शिक्षामा गुणस्तर मापन गर्न सकिन्छ । तसर्थ शिक्षाको गुणस्तरीयताले सिकारुलाई अहिले र भोलि पनि समाजमा सहज रूपमा समायोजन वा घुलमिल भएर बस्न सक्ने सिप प्रदान गर्नु पर्दछ । यसका लागि सिकाइको स्तरअनुसार कुन उमेर समूहका सिकारुले के कति सिक्ने र उसको रूचिअनुसारका विषय क्षेत्रमा आवश्यक ज्ञान सिप र प्रवृत्तिगत पक्षमा सिकाइ उपलब्धिको सूची पाठ्यक्रम प्रारूपमा समटिएको छ ।

राष्ट्रिय शिक्षा नीतिमा यसका लागि सरकार, सरोकारवाला, पेशाकर्मी, साझेदार र शैक्षिक तथा अन्य संस्थाहरूले गर्ने कार्यको मार्गदर्शन गरिएको छ । यस्तो मार्गदर्शनलाई अभ्यासमा रोपण गर्न र सोचमा निखार ल्याउन अध्ययन, तालिम, सामग्री विकास, भौतिक विकासलगायत अन्य पूर्वाधारका लागि लगानी गरिएको छ ।

नेपालको संविधानले जनताका लागि प्रत्याभूत गरेका  मौलिक अधिकारहरू उपभोग गर्न पाउने गरी  दिगो विकासका लक्ष्य पूरा गर्न शिक्षा क्षेत्रमा मुलुकले गर्नुपर्ने कामको सूची र सूची अनुसारको संस्थागत पूर्वतयारीको अवस्थासँग गुणस्तरीय शिक्षा अन्तर निर्भर रहन्छ ।

शिक्षा आफैँमा मानजीवनका लागि साध्य भने होइन । तसर्थ उन्नत जीवनका लागि साधनका रूपमा रहेको शिक्षा प्रवन्धलाई गुणस्तरीय बनाउन यो बहुपक्षहरूसँग अन्तर सम्बन्धित छ । मानव जीवनका लागि गरिने समृद्धिको यात्रामा शिक्षाले चेतना दिन्छ; सिप दिन्छ, विवेक दिन्छ र कर्तव्य सिकाउँछ । यसकारण अन्य  विषयभन्दा शिक्षालाई बढी चर्चा र महत्वपूर्ण स्थानमा राखिएको हो । यस आधारमा शिक्षा क्षेत्रमा संलग्न हरेक जनशक्ति, लगानी गरिएका प्रविधि र लागतका कारक वा सञ्चालकले चेतना, सिप, विवेक र कर्तव्यमा खरो उत्रिनु आवश्यक हुन्छ । गुणस्तरीय शिक्षा यही विन्दुमा आएर कति स्तरीय वा कमजोर हुदैछ भन्ने निर्धारण गर्न सकिन्छ ।

गुणस्तरीय शिक्षाका लागि कम्तीमा यी पक्षहरू अन्तर सम्बन्धित रहन्छन् :  स्तरीय सिकारु, स्तरीय शिक्षण सिकाइ प्रक्रिया, स्तरीय विषयवस्तु, स्तरीय लगानी, स्तरीय वातावरण, स्तरीय जनसहभागिता, स्तरीय नीति, स्तरीय व्यवस्थापन, स्तरीय मूल्याङ्कन पद्धति, स्तरीय उपलब्धि आदि ।

लोकप्रियतावादी र उपभोगवादी सोचले अधिक घर गरी रहेको वर्तमान समयमा न त हामीले गुणस्तरको व्यवहारिक अर्थ खोजेका छौँ न त यसप्रति प्रतिवद्ध भएर कर्तव्य निर्वाहमा समर्पित हुन सकेका छौँ । भएपनि त्यो निर्णायक बन्न सक्ने अवस्थामा रहेको छैन । यस अर्थमा आफैले आफ्नो जीन्दगीको गुणस्तर खोजी गर्ने ध्याउन्नमा अगुवाहरूले शिक्षार्थीको भविष्यलाई नै चेप्ट्याएर गम्भिर गल्ति गरिरहेका छौँ । अझ भन्ने हो भने आफ्नो जीवनलाई स्तरीय बनाउन नजान्नेबाट गुणस्तरीय शिक्षा प्रवन्धको अपेक्षा गरिरहेका छौँ ।

शिक्षामा गुरुकुलीय परम्पराले सिकाएको ज्ञान सिप र प्रवृत्तिजन्य विशेषतालाई अहिले कसरी ग्रहण गरिदैछ भन्ने प्रश्नले पूर्वीय सभ्यता र त्यसभित्र पनि नेपाली पारामा अन्तरनिहित मूल्य र महत्ताको खोजी गर्न बाध्य बनाउँछ । यसकारण हामीले भूईँको टिप्न खोज्दा पोल्टाको नै पोखिने अवस्था आउला भनेझैँ स्तरीयता खोज्ने बहानामा नक्कल गर्ने बानि विकास भैरहे स्वआर्जन, स्वपरम्परा र निजत्व नै गुमाउन पुगिन्छ कि भन्ने सोच्न आवश्यक छ ।

त्यसैले गुरुको आश्रम प्रतिको लगाव, ज्ञान आर्जन गर्न जीवन नै तपस्यामा होम्ने त्याग र ममताको बहार पोख्ने अभिभावकीय भूमिकाको हाम्रो परम्परा अहिले पुन: खोजी गर्न आवश्यक छ । अनि घर परिवार नै त्यागेर कठिन श्रमसहित शिक्षा आर्जन गर्ने शिष्य परम्पराको पुनर्जागरण गर्न आवश्यक छ ।

कुनै बेला खाद्यान्न निर्यात गर्ने मुलुक अहिले उमेर पुगेका र योग्य मानवशक्ति निर्यात गर्ने  अवस्थामा आइपुगेको छ । यसको अर्थ नेपालको शैक्षिक गुणस्तर कमजोर भएर मात्र हो कि बाह्य एक्स्पोजर बढेर वा अन्य कारणसमेतले हो भनेर पनि प्रश्न गर्न सकिएला । तर यसलाई हाम्रा पूर्वजले घर परिवार नै त्यागेर कठिन श्रमसहित शिक्षा आर्जन गर्ने शिष्य परम्परा अपनाएर आएको विगतसँग जोडेर हेर्नु पर्ने अवस्था आएको देखिन्छ ।

त्यसैले अब मुलुकका हरेक शिक्षालयमा श्रम गर्ने वातावरण निर्माण गर्न आवश्यक छ । श्रमसँग आर्जन जोडिन्छ नै । श्रमलाई सिपयुक्त बनाउन सिपवान् गुरु पनि अपरिहार्य हुन्छ नै । यसका लागि नीति निर्माता र लगानीकर्ता पनि सिपवान् बन्नु पर्नेनै छ । विद्यालयमा प्राविधिक शिक्षाको खोजी यही परम्परासँग जोडिएको देखिन्छ । पढ्नु भनेको कोदालो खन्न र भारी बोक्न ( शारिरिक श्रम) बाट मुक्त हुनका लागि हो भन्ने मेकाले सोचबाट मुक्त गुणस्तरीय शिक्षाको दिशामा अबको शैक्षिक यात्रा अघि बढ्नु आवश्यक छ ।

जसरी श्रमसहितको शिक्षाका लागि घर त्यागेका हाम्रा पुर्खाहरू शिक्षा आर्जन गरिसकेपछि घर फर्किन्थे र जीवन निर्वाह गर्ने गर्दथे त्यसैगरी अहिले पनि श्रमसहितको शिक्षा र आर्जनका लागि घर छाडेर शहर वा देश परदेश लागेका युवाहरूलाई शिक्षा आर्जन वा श्रमको प्रतिफल लिएर आफ्नै घरगाउँ वा स्वदेशमा फर्काउने चेतनासहितको शिक्षा गुणस्तरीय शिक्षा हो भन्ने मान्यतालाई गुणस्तरीय शिक्षाको परिभाषामा पुन:स्थापना गरेर शैक्षिक अभ्यास गर्न आवश्यक देखिन्छ ।

गौतम शिक्षा मन्त्रालयका उपसचिव हुन् । 

प्रतिक्रिया