Edukhabar
शुक्रबार, २८ बैशाख २०८१
खबर/फिचर

एसईईमा हरेक विषयमा कम्तीमा २७ नम्बर ल्याउनु पर्ने

दुई विषयसम्म एनजी आएमा पुनः परीक्षा दिन पाउने, दुई भन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष मात्रै परीक्षा दिन पाउने प्रावधान लागू हुदैछ ।

शुक्रबार, २७ पुस २०८०

काठमाडौँ– यस वर्षको एसइईमा हरेक विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा २७ नम्बर ल्याउनै पर्ने नयाँ नियम लागु हुदैछ । प्रयोगात्मक नभएको विषयमा भने ३५ नम्बर ल्याउनै पर्ने हुन्छ । 

यो नियम अघिल्लो वर्ष लागु हुने भनिए पनि विरोध भएपछि रोकिएको थियो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले यस वर्षदेखि भने सैद्धान्तिक (लिखित) मै ३५ प्रतिशत अथार्त २६ दशमलव २५ अंक नल्याए माथिल्लो कक्षामा प्रवेश नपाउने बताए । ‘यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका ०७८ लागू हुदैछ । यसले हरेक विषयमा ३५ प्रतिशत नल्याए विद्यार्थीले ग्रेड नपाउने र सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने भन्ने सुधार भएको छ,’ राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिव दुर्गा अर्यालले भने ।

यसअघि सैद्धान्तिक र प्रयोगात्मक दुवैको नम्बर एकै ठाउँमा जोडिन्थ्यो । यस वर्षदेखि सैद्धान्तिकमा ७५ नम्बरमा कम्तीमा २७ नम्बर ल्याउनु पर्ने प्रावधान लागू हुन लागेको हो । सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा कम आएमा, आन्तरिक मूल्याङ्कन २५ मा १० नम्बर अथार्त ४० प्रतिशतभन्दा कम आएमा विद्यार्थीले पाउने ग्रेड सिटमा नट ग्रेडेट (एनजी) उल्लेख गरिने निर्देशिकामा उल्लेख छ । निर्देशिकामा भनिएको छ,‘एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउने छैनन् ।’

दुई विषयसम्म सैद्धान्तिकमा २७ र प्रयोगात्मकका १० अंक आएमा वा दुई विषयमा अनुपस्थित भई अन्य सबै विषयमा ३५ र सोभन्दा बढी प्रतिशत ल्याएका विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने प्रावधान राखिएको छ । निर्देशिकामा भनिएको छ,‘दुईभन्दा बढी विषयमा एनजी प्राप्त गरेका वा अनुपस्थित विद्यार्थीले पुनः सोही कक्षाको नियमित पठनपाठन क्रियाकलापमा सहभागी हुनुपर्ने छ ।’

आन्तरिक÷प्रयोगात्मक परीक्षामा कम्तीमा सी ग्रेड र सैद्धान्तिक परीक्षामा डी ग्रेड ल्याएमा मात्र स्तरीकृत अंक औसत जिपिए ग्रेड प्वाइन्ट एभरेज सहितको ग्रेड सिट विद्यार्थीले पाउनेछ । 

०७१ मा प्राविधिक र ०७२ मा प्राविधिक तथा साधारण विषयमा लेटर ग्रेडिङ प्रणाली सुरु भएको थियो । विद्यार्थीको मुल्याङकन गर्ने प्रावधान राखिएकै कारण मुलुकको शिक्षा कमजोर हुन पुगेको सदस्य सचिव अर्यालले बताए । ‘विद्यार्थीले सबै विषयमा परीक्षा दिन्थे कुनै पनि विषयमा हामीले कटअप राखेनौ । जति ल्याए पनि माथिल्लो कक्षा जान योग्य हुने प्रावधान राख्यौ । ६ वटै अनिवार्य विषयमा विद्यार्थीले परीक्षामा हाजिर हुन्छन् । केही नलेखे पनि एक नम्बर पाउँथ्यो । ऐच्छिक विषयमा पनि गर्छ । अनि हामीले त्यो विद्यार्थीलाई सक्सेसफुल्ली कम्प्लिट भनेर हामीले प्रमाणित गरिदियौ,’उनले भने,‘अब यस्तो हुँदैन । हरेक विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने हुन्छ ।’  गत वर्षसम्म विद्यार्थीले प्राप्त गरेको अंकलाई ए प्लस, ए, बीए प्लस, बी, सी प्लस, सी, डी प्लस, डी र ई ग्रेडमा विभाजन गरेको थियो । २० भन्दा कम अंक ल्याउनेको भ्यालु ई हुन्थ्यो भने अब नयाँ प्रावधानमा ३५ प्रतिशत भन्दा कम ल्याउनेलाई नन ग्रेडेड अर्थात् अवर्गीतमा रूपान्तरण भयो । 

नौ वटा समूहबाट आठ वटामा परिवर्तन भयो । नयाँ व्यवस्था अनुसार ९० र सो भन्दा माथि ल्याएमा ४ जिपिए र  ए प्लस हुने प्रावधान राखेको छ । त्यस्तै ८० र सो भन्दा माथि ९० भन्दा कम भएमा ३.६ जिपिए उपलब्धि स्तर ए हुनेछ । ७० र सो भन्दा माथि ८० प्रतिशत भन्दा कम प्रतिशत भएमा ३.२ जीपीएर उपलब्धि स्तर  बी प्लस हुने मन्त्रालयले बनाएको निर्देशिकामा उल्लेख छ । ६० र सो भन्दा माथि ७० भन्दा कम प्रतिशत ल्याएमा २.८ उपलब्धि स्तर बी हुनेछ । ५० र सोभन्दा माथि ६० भन्दा कम भएमा २. ४ जिपिए र सी प्लस ग्रेड हुनेछ । ४० र सो भन्दा माथि ५० प्रतिशत भन्दा कम भए २ जिपिए र सी ग्रेड हुनेछ । ३५ र सो भन्दा माथि ३० प्रतिशत भन्दा कम अंक ल्याएमा १.६ जिपिए र डी ग्रेड प्राप्त गर्नेछ । ३५ भन्दा कम ल्याएमा जिपिए उल्लेख हुने छैन । ग्रेड पनि एनजी उल्लेख हुनेछ ।  

 

शिक्षा मन्त्रालय र परीक्षा बोर्डको खटपट संसदीय समितिमा छरपस्ट

एसईई खारेज नगर्ने लविगंमा परीक्षा बोर्ड 

 

प्रतिक्रिया