Edukhabar
विहीबार, २७ बैशाख २०८१
खबर/फिचर

अनुसन्धानलाई प्राथमिकता दिएको भन्दै प्रधानमन्त्रीको निर्देशनमा रोकियो भीसी छनोट प्रक्रिया

दर्खास्त दिने अन्तिम दिन आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाको असन्तुष्टि पछि प्रधानमन्त्रीले उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिका पदाधिकारीलाई प्रक्रिया स्थगित गर्न निर्देशन दिएका हुन् ।

सोमबार, ०७ फागुन २०८०

काठमाडौं - कार्यविधिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय जर्नलमा अनुसन्धान गरेको पोख्त व्यक्ति हुने प्रावधान राखेको भन्दै प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालको निर्देशनमा सुदुरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको छनोट प्रक्रिया नै स्थगित गरिएको छ ।  उपकुलपतिमा योग्य व्यक्ति छनोट गर्ने सार्वजनिक अभिव्यक्ति दिए पनि व्यवहारिक रुपमा भने पार्टीका कार्यकर्ताले दर्खास्त दिनै नसक्ने गरी कार्यविधि बनाएको भन्दै प्रधानमन्त्री दाहालले छनोट प्रक्रिया नै रोक्न लगाएका हुन् । 

दर्खास्त दिने अन्तिम दिन आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाको असन्तुष्टि पछि प्रधानमन्त्री दाहालले उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिका पदाधिकारीलाई प्रक्रिया स्थगित गर्न निर्देशन दिएको स्रोतले जनाएको छ । दुबै विश्वविद्यालयमा ९/९ जनाले दर्खास्त दिएका छन् । प्रक्रिया नै स्थगित भएपछि उनीहरुको दर्खास्त कायम रहन्छ कि निस्कृय हुन्छ भन्ने निश्चित छैन । 

दुबै विश्वविद्यालयमा अहिले भएका प्राध्यापकले दर्खास्त नै दिन नपाउने गरी कार्यविधि बनेको भन्दै बिरोध भइरहेको थियो । सुदुरपश्चिम विश्वविद्यालयका प्राध्यापक संघका सभापति राजेन्द्र वीर चन्द लगायतका पदाधिकारीले कांग्रेस सभापति देउवा र प्रधानमन्त्री दाहाललाई भेटेर छनोट प्रक्रिया रोकेर कार्यविधि सच्याउन माग गरेका थिए । 

माघ २६ मा सूचना जारी गरेर दुवै विश्वविद्यालयको उपकुलपतिको विज्ञापन भएको थियो । विज्ञापनमा अनुसन्धानलाई बढी प्राथमिकता दिएको थियो । शिक्षा मन्त्री अशोक कुमार राई संयोजक रहेको त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट समितिले बनाएको कार्यविधिमा अनुसन्धानलाई ६ अंक दिईएको थियो । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति हुन १६ अंक अनुसन्धानलाई छुट्याईएको थियो ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी संयोजकत्वमा शिक्षा सचिव सुरेश अधिकारी र योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेश चन्द्र पौडेल सदस्य रहेको सुदुरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट समितिले भने अनुसन्धानलाई ३५ अंक छुट्याएको छ । अन्तर्वार्ता र विश्वविद्यालयको कार्ययोजना प्रस्तुतीलाई कम प्राथमिकता दिईएको छ । 

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियामा अनुसन्धानलाई कम प्राथमिकता दिएकै कारण मुल्याङकन कर्ताले तजबिजको आधारमा नम्बर दिने आधार बनाइएको छ । 

त्रिविमा उपकुलपति छनोट गर्न एक सय अंकभार  मध्ये  बिजनेश प्लान र सोचपत्र प्रस्तुतीमा २० अंक र अन्तरवार्तामा १५ अंक छुट्याईएको छ । मध्यपश्चिम र सुदुरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट कार्यविधिमा प्रस्तुतीलाई १० र अन्तर्वार्तालाई १५ अंक छुट्याईएको छ । यसमा तजबिजको नम्बर कम हुनु र अनुसन्धानलाई प्राथमिकता दिएकै कारण सुदुर र मध्यपश्चिमका प्राध्यापकहरुले बिरोध जनाएका हुन् । 

सिमागो जर्नलमा क्यु वान देखि क्यु फोर सम्म र नेप्जोलमा प्रमुख अनुसन्धानकर्ता, सह अनुसन्धानकर्ता भएमा नम्बर पाउने प्रावधान राखेपछि प्राध्यपाकहरुले नेताहरुहलाई भेटेर प्रक्रिया खारेजी गरिदिन माग गरेका थिए । 

‘हामीले संसदको शिक्षा समितिका सांसदहरु, नेताहरु, प्रधानमन्त्री, शिक्षा मन्त्रालयका पदाधिकारीलाई भेटेर उपकुलपतिको छनोट कार्यविधि सबैको स्वीकार्य हुने गरी बनाउनु पर्ने माग राखेका थियौ,’सुदुरपश्चिम विश्वद्यिालयका प्राध्यापक संघका सभापति चन्दले भने,‘छनोट स्थगित भयो । हामी खुसी छौँ । अब सबैले स्वीकार्य हुने कार्यविधि बन्नेमा आशावादी पनि छौ ।’ 

सुदुरपश्चिम विश्वद्यालयमा  अन्तर्वार्ता, प्रस्तुती नम्बरलाई कम प्राथमिकता दिईएको छ । सुदुरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापकहरुले त्रिविकै जस्तो अन्तर्वार्ता र प्रस्तुतिलाई प्राथमिकता दिनु पर्ने, अनुसन्धानलाई कम प्राथमिकता दिनु पर्ने माग गरेका छन् ।  

विश्वविद्यालय भनेको प्राज्ञिक क्षेत्र भएकोले अनुसन्धानलाई बढी प्राथमिकता दिने गरी मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिको कार्यविधि बनेको छनोट समितिले जनाएको छ । 

‘अुनसन्धानलाई नै प्राथमिकता दिनु हुदैँन भन्ने होइन । सबै विषय र विभागका प्राध्यापकले दर्खास्त दिन सक्ने आधार बनाइनु पर्छ,’ चन्दले भने । 

मध्यपश्चिम र सुदुरपश्चिमको उपकुलपति छनोट कार्यविधिमा अनुसन्धान र विश्वविद्यालयको सोचपत्र, बिजनेश योजनालाई छुट्याईएको अंक भारमा उत्तिकै महत्व दिईएको छ । त्रिवि र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट गर्न चार वर्षीय योजना र सोचपत्रलाई प्राथमिकता दिईएको छ भने मध्यपश्चिम र सुदरपश्चिममा अनुसन्धान र योजनालाई उत्तकै महत्व दिईएको छ ।

प्रतिक्रिया