Edukhabar
विहीबार, ०३ जेठ २०८१
खबर/फिचर

बजेट २८ स्कुललाई बस दिने, माग १ सय ३३

बस अनुदान पाउन तराईमा १ हजार ८ सय, पहाडमा १ हजार २ सय र हिमालमा ६ सय विद्यार्थी हुनुपर्छ ।

मंगलबार, १५ फागुन २०८०

काठमाडौँ - शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा १ सय ३३ वटा सामुदायिक विद्यालयले बस खरिदको लागि अनुदान माग गरेका छन् । 

कक्षा १२ सम्म अध्ययन हुने सामुदायिक विद्यालयमा स्कुल बस उपलब्ध गराउने सरकारको योजना रहेकोमा यस पालि १ सय ३३ विद्यालयले बसको माग गरेको केन्द्रले जनाएको छ । केन्द्रले २८ विद्यालयलाई २५ लाखको दरले अनुदान दिने कार्यक्रम बनाएको छ । 

केन्द्रले यस वर्ष एक भन्दा बढी गाभिएका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरेर बस दिने योजना ल्याएको हो । शैक्षिक सत्र ०७७, ०७८, ०७९ र ०८० भित्र दुई वा सो भन्दा बढी विद्यालय एक आपसमा समायोजन भएकालाई स्कुल बस दिने प्राथमिकता निर्धारण गरेको छ । केन्द्रले बस अनुदान दिन सूचना निकाले पछि समायोजन नभएका स्कुलले पनि बसको लागि निवेदन दिएका छन् । 

सामुदायिक विद्यालयको रूपमा अनुमति वा स्वीकृति प्राप्त गरी नियमित रूपमा कक्षा १२ सम्म अध्ययन गराउने, विद्यालय व्यवस्थापन समिति गठन भएको हुनु पर्ने सर्त राखिएको छ । बस अनुदान पाउन समायोजन भएको विद्यालयमा तराईमा १ हजार ८ सय, पहाडमा १ हजार २ सय र हिमालमा ६ सय विद्यार्थी हुनुपर्छ । 

बस लिनको लागि विद्यालयमा बाह्रै महिना सवारी चल्ने बाटो हुनु पर्ने सर्त राखिएको  छ । बस सञ्चालनका लागि पेट्रोलियम पदार्थ, मर्मत तथा चालक, सहचालकको खर्च विद्यालय आफैले वा स्थानीय तहले व्यहोर्ने प्रतिबद्धता जनाएको हुनुपर्ने सर्त छ । स्थानीय तह र शिक्षा विकास तथा  समन्वय इकाई बाट सिफारिस भएको निवेदन दिनु पर्ने प्रावधान राखिएको  छ । स्थानीय र प्रदेश सरकारबाट बस व्यवस्थापनको लागि सहयोग लिएर यसअघि बस सञ्चालन नभएको विद्यालयलाई प्राथमिकता दिएर सूचना जारी गरिएको थियो । 

फोटो : एआई 

प्रतिक्रिया