Edukhabar
सोमबार, १७ बैशाख २०८१
गतिविधि

सेवा दिन नसकेको भन्दै प्रमुखको राजिनामा पछि मन्त्री शाखामा !

'सेवा प्रवाह गर्ने निकायमा बस्ने र सेवा दिन नसक्ने भनेको मेरो नैतिकता कमजोर हुनु हो भन्ने लाग्यो र मैले राजिनामा दिएँ' उनले भने ।

विहीबार, ०१ चैत्र २०८०
राजिनामा पछि पौडेलले सामाजिक सञ्जालमा गरेको पोष्ट ।

काठमाडौं - वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) वितरण गर्ने शाखाको सेवा प्रवाह चुस्त बनाउन नसकेको महशुस गर्दै शाखा प्रमुखले राजिनामा दिएको भोली पल्ट विहानै शिक्षा मन्त्री उक्त शाखामा पुगेकी छन् । शाखा प्रमुख शान्तीराम पौडेलले सार्वजनिक पदमा बसी नागरिकलाई समयमै सेवा दिन सकिदैंन भने त्यस्तो जागिरलाई निरन्तरता दिनुको अर्थ, उपादेयता र सार्थकता रहँदैन भन्दै बुधबार राजिनामा दिएको जनाएका छन् । 

'नैतिकताको धरातलमा उभिएर चैत १ गते देखि स्वेच्छिक रुपले सेवाबाट विश्राम लिन कानूनी प्रकृया अगाडि बढाईयो' उनले भनेका छन् ।  

२०५३ बैशाख २५ गते खरिदारबाट सरकारी सेवा प्रवेश गरेका पौडेल चार महिना अघि उक्त शाखाको प्रमुख भएका थिए । सरकारी सेवामा रहँदा उच्च तहका व्यक्तिको काम गर्ने शैलीका बारेमा आलोचनात्मक हुने स्वभावका पौडेल समान तहमा दुई पटक लोकसेवा परीक्षा दिएर दुवै पटक पास भएका अधिकृत हुन् । २०५८ फागुनमा अधिकृत भएका उनी दोश्रो पटक फेरी २०६० फागुनमा समान तहको अधिकृतमा पास भएका थिए । उनी २०७६ सालमा उपसचिव भएका हुन् । 

एनओसी शाखामा काम गर्दा विभिन्न स्वार्थ समूहको जञ्जालले घेरेको बताउँदै उनले उक्त जञ्जालका बारेमा केही समय पछि सार्वजनिक गर्ने बताए । 

'सेवा प्रवाह गर्ने निकायमा बस्ने र सेवा दिन नसक्ने भनेको मेरो नैतिकता कमजोर हुनु हो भन्ने लाग्यो र मैले राजिनामा दिएँ' उनले भने 'राजिनामा स्विकृतीको चरणमा छ, यो प्रकृया सकिए पछि एनओसीको जञ्जालका बारेमा सार्वजनिक गर्ने छु ।'

उक्त शाखाको सेवा प्रवाहका बारेमा पटक पटक आउने गुनासो सुन्न शिक्षा मन्त्री सुमना श्रेष्ठले बिहीबार विहानै उक्त शाखाका कर्मचारी र सेवाग्राही विद्यार्थीसँग छलफल गरेकी थिइन् । सेवा प्रवाहका आधारमा छुट्टा छुट्टै सात वटा झ्याल निर्धारण गरेर काम गर्न उनले शाखा प्रमुख वासुदेव वस्तीलाई निर्देशन दिएकी छन् । सेवाग्राही विद्यार्थीले चुस्त सेवा नपाएको गुनासो गरेका छन् भने कर्मचारीहरुले आफूहरुलाई सेवाग्राहीबाट धम्कि समेत आउने गुनासो गरेका छन् । 

पढ्नुहोस् उक्त खबर : गुनासो सुन्न शिक्षा मन्त्री शाखामै !

प्रतिक्रिया