Edukhabar
बुधबार, २६ बैशाख २०८१
गतिविधि

सांसद भन्छन् : देशमा  शैक्षिक संकटकालको अवस्था छ

सामुदायिक विद्यालयहरुको पठनपाठनको गुणस्तर सुधार गर्न र एक कक्षामा भर्ना भएका विद्यार्थीलाई कमसेकम १० कक्षासम्म टिकाउन सरकारको योजना के छ ?

मंगलबार, २० चैत्र २०८०

काठमाडौँ – देशमा  शैक्षिक संकटकालको अवस्था रहेको सांसदले बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद दीपक गिरीले १० वर्ष अघि २०७०  सालमा कक्षा एकमा  देशभरी झण्डै साढे  नौ लाख बालबालिका भर्ना भएकोमा अहिले १० वर्ष पछि त्यसको आधि मात्रै विद्यार्थी  एसईई परीक्षामा सहभागी भै रहेको बताए । 

'बाँकी आधि विद्यार्थी कता गए ? तिनलाई हामीले किन १० कक्षा सम्म पनि रोक्न सकेनौँ ?’ उनले प्रश्न गरे ।

यस वर्षको एसईई परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी भै रहेका छन् । सांसद गिरीले यसलाई शैक्षिक संकटकालको अवस्था भन्दै यसले हाम्रो देशको शिक्षा क्षेत्रको असली तस्वीर प्रस्तुत गरि रहेको बताए ।  

'अहिले पनि देशका कूल विद्यार्थी मध्ये झण्डै ८० प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयहरुमा अध्ययन गर्छन्  । सामुदायिक विद्यालयहरुको पठनपाठनको गुणस्तर सुधार गर्न र एक कक्षामा भर्ना भएका विद्यार्थीलाई कमसेकम १० कक्षासम्म टिकाउन सरकारको योजना के छ ?’ उनले प्रश्न गरे । 

हालै एडुखबरले, फ्लास रिपोर्ट अनुसार १० वर्ष अघि  कक्षा एकमा नौ लाख ४८ हजार दुई सय ९४ जना विद्यार्थी भर्ना भएकोमा परीक्षा आवेदन फारम भर्नेको संख्या भने चार लाख ७५ हजार एक सय ३४ मात्रै रहेको एक विशेष रिपोर्ट प्रकाशित गरेको थियो  । 

पढ्नुहोस् : ४१ जिल्लामा ५० प्रतिशत विद्यार्थी पनि पुगेनन् कक्षा १०

यसलाई आधार मान्ने हो भने १० वर्ष अघि भर्ना भएका मध्ये ५० प्रतिशत मात्रै १० कक्षाको अन्तिम परीक्षा दिँदै छन् ।

प्रतिक्रिया