Edukhabar
बुधबार, २६ बैशाख २०८१
गतिविधि

पाठ्यपुस्तक बिक्रि खुला भएको एक सातामा ३० प्रतिशत मात्रै बिक्रि

स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम निकासा नगर्दा बिक्रि नभएको हुन सक्ने जनक शिक्षा सामाग्री केन्द्रले जनाएको छ ।

बुधबार, २१ चैत्र २०८०

काठमाडौं - जनक शिक्षा सामाग्री केन्द्रले चैत दोस्रो साताबाट पाठ्यपुस्तकको बिक्रि खुला गरे पनि मंगलबारसम्म ३० प्रतिशत मात्रै बिक्रि भएको छ । एक करोड ५० लाख थान बिक्रि हुने लक्ष्य राखेकोमा मंगलबारसम्म ४५ लाख पाठ्यपुस्तक मात्रै बिक्रि भएको केन्द्रका महाप्रबन्धक अनिल झाले बताए । 

केन्द्रले चैत १३ देखि पाठ्यपुस्तक बिक्रि सुरु गरेको हो । दुर्गम जिल्लाबाट पाठ्यपुस्तक बिक्रि सुरु गरेको उनले बताए । एसईई चलिरहेकोले पाठ्यपुस्तक तर्फ विद्यालयको चासो नभएकोले यस्तो हुन सक्ने केन्द्रको आंकलन छ । त्यस्तै स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम निकासा नगर्दा पनि पाठ्यपुस्तक बिक्रि नभएको हुन सक्ने केन्द्रले जनाएको छ । केन्द्रको भक्तपुर कार्यालयले पनि दुर्गम जिल्लाको वितरण सकेर काठमाडौं उपत्यकामा सुरु गरेको झाले बताए । मधेश र काठमाडौं उपत्यकामा अन्यत्रको तुलनामा पाठ्यपुस्तक बढी बिक्रि हुने यसवर्ष कम बिक्रि भएको उनले बताए । 

केन्द्रमा बुधबार ललितपुर काठमाडौंका लागि बिक्रि खुला भएको छ । बुधबार भक्तपुरको लागि खुला भए पनि न्यून पुस्तक व्यापारीले पाठ्यपुस्तक उठाएको केन्द्रले जनाएको छ । 

चैत महिना भरीमा हरेक जिल्लामा पुस्तक पठाइसक्ने केन्द्रले जनाएको छ । मंगलबार ६० जिल्लामा पुस्तक पठाइसकेको उनले बताए । 

‘बिक्रि खुला भए पनि कति पुस्तक बिक्रेताले पुस्तक लगेका छैनन्’ महाप्रबन्धक झाले भने । 

मधेशको आठ जिल्लामा अन्यत्रको तुलनामा न्यून बिक्रि भएको उनले बताए । आवश्यक पुस्तक गोदाममा रहेको उनले बताए । मधेशका आठ जिल्लामा जनकपुर, भरतपुर, विराटनगरको क्षेत्रीय कार्यालयबाट बिक्रि हुन्छ । 

‘तराईमा बल्ल बिक्रि सुरु भएको छ’ उनले भने ।

प्रतिक्रिया