Edukhabar
मंगलबार, १८ बैशाख २०८१
खबर/फिचर

'अवैध आईबी' पढ्न भर्ना शुल्क तीन लाख ३८ हजार, मासिक शुल्क ५५ हजार !

कक्षामा बस्दा लिने हावाको पनि शुल्क, एडुखबरले गरेको खोजले, शिक्षा मन्त्रालयको स्विकृती विना सञ्चालित त्यस्ता विद्यालयहरुले वार्षिक चार करोड रुपैंया भन्दा बढी नाफा कमाएको समेत फेला परेको छ ।

आइतबार, २५ चैत्र २०८०

काठमाडौं - विद्यालय तहमा निजी विद्यालयले अन्तराष्ट्रिय कार्यक्रमको नाममा भर्ना र मासिक शुल्कमा अचाक्ली रकम असुल्ने गरेका छन् । विदेशी कार्यक्रम सञ्चालन गरेको भन्दै त्यस्ता विद्यालयले मासिक शुल्क ५५ हजार र आईबी पढ्न भर्ना बापत कम्तीमा साढे तीन लाख रुपैयाँ सम्म लिने गरेका छन् । स्विट्जरल्याण्डको आईबी कार्यक्रम सञ्चालन गरेको भन्दै काठमाडौं र ललितपुरमा सञ्चालित निजी विद्यालयले विदेशी कार्यक्रमको नाममा अभिभावकसंग चर्को शुल्क असुल्दै आएका छन् । 

एडुखबरले गरेको खोजले, शिक्षा मन्त्रालयको स्विकृती विना सञ्चालित त्यस्ता विद्यालयहरुले वार्षिक चार करोड रुपैंया भन्दा बढी नाफा कमाएको समेत फेला परेको छ । अवैध रुपमा सञ्चालन गरेर अभिभावक र विद्यार्थीलाई भ्रम बाँडिरहेका त्यस्ता विद्यालयको धन्दा रोक्न शिक्षा मन्त्रालय र स्थानीय सरकार अक्षम देखिएका छन् । 

अवैध रुपमा आईबी कार्यक्रम सञ्चालन गर्ने विद्यायलले कुनै पनि पालिकामा आफुले लिन चाहेको शुल्क विवरण बुझाएका छैनन् ।  एडुखबरले कक्षा १ मा विदेशी कार्यक्रम आईबी पढाउने विद्यालयले लिने शुल्कको अनुगमन गरेको थियो । 

नागार्जुन नगरपालिकाको सानो भर्याङमा रहेको स्वस्तीश्री गुरुकुलले आईबी पढाउने नाममा सबैभन्दा बढी भर्ना र मासिक शुल्क लिने गरेको पाइएको छ । यो विद्यालयले भर्ना शुल्क भनेर १ लाख २४ हजार २ सय, धरौटी बापत  १ लाख १० हजार ४ सय, बार्षिक शुल्क १ लाख ३ हजार ५ सय रुपैयाँ लिने गरेको छ । सबै शुल्क जोड्दा कक्षा १ मा भर्ना गर्न स्वस्तीश्री गुरुकुलमा सुरुमै तीन लाख ३८ हजार रुपैंया बुझाउनु पर्ने हुन्छ । 

त्यस्तै मासिक रुपमा ५५ हजार ६ सय ६० रुपैयाँ बुझाउनु पर्ने हुन्छ । मासिक ट्युशन शुल्क बापत १३ हजार आठ सय रुपैयाँ लिने गरेको छ । शैक्षिक सामाग्री बापत  लिने शुल्क मासिक ट्युशन शुल्क भन्दा बढी छ । उसले मासिक शैक्षिक सामाग्री बापतको शुल्क १८ हजार चार सय रुपैयाँ लिने गरेको छ । इसीए र सीसीए शिर्षकमा लिने शुल्क आठ हजार पाँच सय १० रुपैयाँ छ । त्यस्तै खाना बापत १४ हजार नौ ५० रुपैयाँ लिने गरेको छ । 

शिक्षा नियमावलीमा मासिक लिने शुल्कको दुई महिनाको बार्षिक शुल्क लिन पाइने व्यवस्था छ । धरौटी बापत एक महिनाको मात्रै शुल्क लिन पाइन्छ । यो विद्यालयले मासिक शुल्कमा १३ हजार आठ सय रुपैयाँ निर्धारण गरेको छ ।  यस अनुसार धरौटी बापत १३ हजार आठ सय हुनु पर्नेमा यो विद्यालयले १ लाख १० हजार चार सय र बार्षिक शुल्क १७ हजार हुनु पर्नेमा एक लाख तीन हजार पाँच सय रुपैयाँ लिने गरेको छ । 

नागार्जुन नगरपालिकाका शिक्षा प्रमुख कृष्णबहादुर कुँवरले विद्यालय वर्गिकरणको काम सकिए पनि शुल्क प्रस्ताव नभएको बताए । 

‘नगरपालिकाले स्वस्तिश्री गुरुकुललाई ‘क’ वर्गमा राखेको छ । नगरपालिकाको नियम अनुसार उसले लिने शुल्क ४ हजार २ सय तय गरेका छौँ’ उनले भने । 

नगरपालिकाले तोकेको भन्दा झण्डै चार गुना बढी मासिक शुल्क लिने गरे पनि कारवाहीको दायरामा ल्याउन सकेको छैन । 

सरकारको अनुमति विना १ देखि १० सम्म स्विजरल्याण्डको आईबी कार्यक्रम पढाए बापत अभिभावकसंग चर्को शुल्क लिने अर्को विद्यालय हो–ललितपुरको खुमलटार स्थित प्रिमियम स्कूल । यो विद्यालयमा कक्षा १ मा भर्ना गर्दा अभिभावकले दुई लाख २९ हजार तीन सय ५० रुपैयाँ तिर्नु पर्ने हुन्छ । त्यस्तै ट्युशन फी मात्रै ४५ हजार र खाना बापत १० हजार दुई सय ९७ गरी ५५ हजार २ सय ९७ रुपैयाँ मासिक शुल्क लिने गरेको छ । उसले यो शुल्कको जानकारी ललितपुर महानगरपालिकालाई गराएको छैन । 

‘विद्यालयले लिने शुल्क कति हो ? दुई तिहाई अभिभावकको हस्ताक्षर सहितको निर्णय गराएर प्रस्ताव गर्न पत्र पठाएका छौँ’ महानगरका शिक्षा प्रमुख महेन्द्र क्षेत्रीले भने, ‘अहिलेसम्म हामीलाई शुल्क प्रस्ताव गरेको छैन ।’ 

महानगरले यसवर्ष  लिएको शुल्क र आउँदो शैक्षिक सत्रमा लिने शुल्क विवरण माग गरेको छ । एडुखबरले विद्यालयबाट लिएको जानकारी अनुसार प्रिमियरले  कक्षा १ मा भर्ना गर्न सुरुमै २ लाख २९ हजार लिने गरेको छ । यसमा एक महिनाको शुल्क पनि जोड्ने हो भने २ लाख ८४ हजार ६ सय ४७ रुपैयाँ तिर्नु पर्ने हुन्छ । 

भर्ना शुल्क एक लाख ३० हजार, डिपोजिट २५ हजार लिने गरेको छ । बार्षिक शुल्क ७४ हजार मध्ये ३ सय ५० मा लाइब्रेरीको सात हजार दुई सय ५०, टेक्निकल र सिकाइ सामाग्रीमा ३५ हजार सात सय, आईबी, आइसीटी कक्षाको २० हजार र इसीएको ११ हजार चार सय रुपैयाँ अभिभावकसंग लिने गरेको छ । प्रिमियर स्कुलकी सञ्चालक पवित्रा लिम्बुले विद्यालयले दिने सुविधाको आधारमा शुल्क लिन पाउनु पर्ने बताईन् । 

‘खुला बजारमा जसले जति सुविधा दिन्छ उसले शुल्क लिन पाउनु पर्छ’ उनले भनिन् ।

ललितपुरकै माछापुच्छ्रे स्कुलले कक्षा १ मा भर्ना गर्दा सुरुमै ८० हजार र मासिक ३० हजार रुपैयाँ लिने गरेको छ । भर्ना शुल्क ३० हजार, धरौटी २० हजार, बार्षिक शुल्क ३० हजार लिने गरेको छ । यस्तै मासिक शुल्क ३० हजारमा 
शिक्षण शुल्क  १० हजार, इसीए, सीसीए शिर्षकमा ४ हजार, कम्प्युटर आइसीटी ५ हजार र खाना बापत ६ हजार लिने गरेको छ । अवैध आईवी शिर्षकमा एडुखबरमा समाचार प्रकाशित भए पछि उक्त विद्यालयले आईबीको साईनबोर्ड भने हटाएको छ । 

पढ्नुहोस्  : धमाधम हटाउन थाले अवैध आईबीको लोगो
 
ललितपुर महानगरपालिकाले आईबी कार्यक्रम पढाउने माछापुच्छ्रे विद्यालयलाई पनि शुल्क प्रस्ताव पेश गर्न निर्देशन दिएको छ । दुबै विद्यालयलाई दुई तिहाई अभिभावकको हस्ताक्षर सहित शुल्क प्रस्ताव गर्न निर्देशन दिएको महानगरका शिक्षा प्रमुख क्षेत्रीले बताए । उनले भने,‘दुबैले शुल्क प्रस्ताव गरेका छैनन् ।’ 

आइबीकै नाममा महंगो शुल्क लिनेमा अर्को विद्यालय हो–तीनकुनेको हिमालय ह्वाइट हाउस स्कूल  । उसले भर्नाको बेला १ लाख ३० हजार र मासिक २६ हजार एक सय, आइबीको बार्षिक शुल्क ४५ हजार, धरौटी २० हजार, आइबी एण्ट इन्रिचमेण्ट शिर्षकमा ४५ हजार, बार्षिक शुल्क ३० हजार रुपैयाँ लिने गरेको छ । त्यस्तै मासिक शुल्क भने २६ हजार १ सय लिने गरेको छ । 

ललितपुर लुभुको जिनियस स्कूलले भर्ना गर्ने बेलामा १ लाख १९ हजार पाँच सय रुपैयाँ लिने गरेको छ । यसमा भर्ना शुल्क ४४ हजार,  धरौटी २५ हजार,  शिक्षण सामाग्री २८ हजार पाँच सय, इसीए सीसीए शिर्षकमा २२ हजार लिने गरेको छ । मासिक शुल्क भने २२ हजार र खानाको आठ हजार रुपैयाँ लिने गरेको छ । 

ललितपुरको महालक्ष्मी नगरपालिकाका शिक्षा प्रमुख चिरञ्जीवी पौडेलले जिनियस स्कुलले लिने शुल्कको बारेमा कतैबाट पनि उजुरी नपरेको बताए । 

‘नगरपालिकाबाट शुल्क प्रस्ताव गर्न पत्र जादैँछ’ उनले भने,‘नगरपालिकाले तोकिएको सीमा भन्दा बढी लिन दिदैनौँ ।’ 

विद्यालयले कोभिड यता शुल्क निर्धारण नगरेको उनले बताए । 

‘यसवर्ष शुल्क प्रस्तावको पत्र पठाउने निर्णय भएको छ’ उनले भने । 

पोखराको फिस्टेल एकेडेमीले गण्डकी प्रदेशकै पहिलो आईबी पढाउने स्कूल भनेर आफ्नो वेभसाइटमा राखेको छ । उसको शुल्क भने जानकारी नभएकोले समावेश गरिएको छैन । अवकास प्राप्त एक सचिवको समेत लगानी रहेको यो विद्यालयले पनि पोखरामा अरु विद्यालयको तुलनामा बढी नै शुल्क लिने गरेको पाइएको छ । 

कक्षामा बस्दा हावाको पनि शुल्क 

काठमाडौंको टोखा स्थित काठमाडौं यूरो स्कुलले मासिक, बार्षिक, धरौटी बाहेक कक्षामा बस्दा लिने हावाको पनि शुल्क लिने गरेको छ । कक्षामा एसी राखेको भन्दै उसले तातो र चिसो हावा बापतको बार्षिक १२ हजार रुपैयाँ लिने गरेको छ । काठमाडौं यूरो स्कूलले भर्नाको बेला १ लाख ३५ हजार र मासिक शुल्क २६ हजार तिर्नु पर्छ । उसले रजिष्ट्रेशन बापत २५ हजार, डिपोजिट १० हजार, बार्षिक शुल्क ४० हजार, पुस्तककालय १० हजार, स्टेशनरी २५ हजार लिने गरेको छ । अभिभावकलाई मासिक शुल्कमा हिटिङ एण्ड कुलिङ बापतको एक हजार, खाना सहितका शिक्षण शुल्क २० हजार तिर्नु पर्ने हुन्छ । यातायातको कम्तीमा ५ हजार तिर्नु पर्ने हुन्छ । IMG-20240405-WA0046__01

टोखा नगरपालिकाका शिक्षा प्रमुख बाबुराम गौतमले काठमाडौं युरो स्कूलले नयाँ शुल्क प्रस्ताव नगरेको बताए । विद्यालयले लिने तातो र चिसो हावा (एसी) प्रयोग गरेबापत अभिभावकसंग थप शुल्क लिएको नगरपालिकालाई कसैले उजुरी नगरेको उनले बताए ।

‘यस वर्ष विद्यालयले लिने शुल्क सिमा तोकिएको छैन’ गौतमले भने,‘विद्यालयले कानुन विपरीत अनेक शीर्षकमा शुल्क लिएको जानकारी आएमा कारवाहीको दायरामा ल्याउछौ ।’ 

यो पनि पढ्नुहोस् : एडुखबर समाचार प्रभाव : 'अवैध आईबी'मा भर्ना नगर्न शिक्षा मन्त्रालयको आग्रह

प्रतिक्रिया