Edukhabar
विहीबार, १० जेठ २०८१
विचार / विमर्श

व्यवस्थापनलाई थाहा छ ? कति स्कुलमा शैक्षिक सामग्री छन् ?

आजको शिक्षकले हिजोको तरिकाले शिक्षण गरेर सिकाइ हुन गाह्रो छ । त्यसैले फरक शैली चाहियो । त्यसैले शिक्षण सामग्री चाहियो ।

मंगलबार, ०४ बैशाख २०८१

शैक्षिक सामग्री विनाको पढाई निरस हुन्छ । यस्तोमा विद्यार्थीको ध्यानै हुँदैन भनेपनि हुन्छ । भए पनि देखावटी हुन्छ । यसको सिधा अर्थ हो सिकाइ भएको छैन । कक्षा मात्र चालु हुनु सिकाइ हैन ।दुई सय १० दिन खुलेको विद्यालयलाई हामी गुणस्तरीय विद्यालय भनिहाल्छौँ । ठुलो भवन हुने वित्तिकै स्तरीय भनिहाल्छौँ । धेरै विद्यार्थी पढ्छन् भन्ने वित्तिकै भयङ्कर ठान्छौँ । यो एउटा मानक होला । सवै हैन । खुल्ने बित्तिकै गुणस्तरीय हुँदैन । नखुलेको भन्दा  खुलेको राम्रो हो । हामीले मसिनो गरी केलाउने कहिले हुन्छौ ? हामी सतही भयौँ की ! तर यस आलेखमा गुणस्तर हैन सिकाइका लागि शैक्षिक सामग्रीको महत्व र हाम्रो अवस्था केलाउन खोजिएको छ ।

एउटा स्रोत केन्द्र विद्यालयको प्रअ बैठकको पुरानो घटना याद आयो । सामग्री यत्र तत्र छरिएका थिए । सम्बन्धित विद्यालयको प्रअलाई मैले सोधेँ – यी सामग्री राखेको कि फालेको ? 

फालेको भन्न पनि नमिल्ने ! राखेको भन्न पनि नमिल्ने ! उहाँ अप्ठेरोमा पर्नु भो । अली अप्ठेरो मानीमानी राखेको भन्नु भो । मलाई त्यो उत्तर आउँछ भन्ने त पहिल्यै थाहा थियो । उत्तर आउने वित्तिकै प्रति प्रश्न गरेँ– मलाई कक्षा ९ को सामाजिक शिक्षाको पाठ १० को शैक्षिक सामग्री दिनु न । भनेँ । अब उहाँले यो काम गर्न सक्नुहुन्न मलाई थाहा थियो । उहाँ असमञ्जसमा पर्नु भो । राखेको कुरा पो यहाँ छ भनेर थाहा हुन्छ । फालेको कुरा कहाँ छ भनेर कसरी थाहा हुन्छ ? उहाँले दिन सक्नु भएन । हामी धेरैसँग शैक्षिक सामग्री नै छैनन् । भएकामा पनि व्यवस्थित राखिएको छैन । कतै कुनामा फाले पछी कसरी चाहिने बेला भेटिन्छ र ! चाहिने बेला नभेटिने सामग्रीलाई के सामग्री भन्ने ?

हामीले पढाउने कुरालाई साह्रै हलुका विषयको रुपमा लियौँ । गल्ति त्यहीँबाट शुरु भयो । यो भारी बिषय हो । ठुलो जिम्मेदारीको कुरा हो । लाखौँको जिन्दगीको सवाल हो । देशको सवाल हो । हामीले त्यसरी लिएनौँ । पार्टिको कार्यकर्ता भएर, सहकारीको सञ्चालक भएर, किसान भएर, जनप्रतिनिधि भएर जे भएर पनि शिक्षक हुन सकिन्छ भन्ने भाष्य सृजना गर्यौँ । शिक्षण पहिलो प्राथमिकताको बिषय रहेन । त्यो भएपछी किन चाहियो शैक्षिक सामग्री ? कक्षामा गयो । किताब झिक्न लगायो । कुन पाठ हो ? भनेर बच्चालाई नै सोध्यो । लेक्चर मेथडबाट भट्यायो । हिँड्यो । हामीले गर्ने तरिका यही हो । किन चाहियो शैक्षिक सामग्री ? केहिमा सुधार भएको छ । अधिकाँशको । अपवाद होला । सलाम छ तिनलाई ।  तर नगन्य छ । अब यसको खोजी हुनपर्छ । सतही रुपमा गुणस्तर भन्दै हिँडेर गुणस्तर बढ्ने हो र ? 

शिक्षक संघ संगठनका ठुला ठुला आन्दोलनहरु भए । तर दुःखको कुरा ती आन्दोलनमा शैक्षिक सामग्री मुद्दा भएन । कक्षा कोठा व्यवस्थापन मुद्दा भएन । पुस्तकालय मुद्दा भएन । प्रयोगशाला मुद्दा भएन । राज्य जिम्मेदार छैन । उ सँग यसको हिसाव किताव थाहा हुनुपर्थ्यो । त्यो त भएन, भएन । शिक्षकका जिम्मेदार सँस्थाहरुले पनि यसलाई कहिल्यै प्रमुख बिषय बनाएनन् । अरु अरु कुरामा हिँडे । सतही भए । शिक्षा कसरी सुध्रन्छ ? हामीले कुरा त ठुला गर्यौँ । तर 'डेलीभरि'मा चुक्यौँ । 

सामग्री भन्ने वित्तिकै हाम्रा शिक्षक साथीहरुले सरकारले दिएन भन्छन् । तर धेरै सामग्री सरकारले दिनु पर्ने नै हुँदैनन् । सामग्रीको कुरा गर्दा मुख्य गरी तिन भागमा बाँडेर हेर्ने गरिन्छ । पैसा नलाग्ने (नगन्य) । थोरै पैसा लाग्ने । धेरै पैसा लाग्ने । पहिलो र दोस्रो किसिमको सामग्री स्थानीय स्तरमा मै प्राप्त हुन्छन् । धेरै पैसा लाग्ने मात्र सरकारले हेर्ने विषय हो । यो कुरा विद्यालयले आफ्नो चेकलिष्टमा तयार गरेको हुनु पर्छ । कति सँग यो चेकलिष्ट छ त ? अहिले गर्न खोजिएको सवाल यो हो । हामी सँग यी सामग्री छन् । अब यति विषयका यो यो पाठका यो यो सामग्री त्यो पनि विद्यालयले किन्न नसक्ने सामग्री हुन् भनेर क–कसले छुट्याएको छ ? को को सँग यो प्रश्नको जवाफ छ ? भएका सामग्री जो सुकैले पनि भेट्ने ठाँउमा छन् ?  कि फालेको छ ?

एउटा घटना सम्झनामा आयो । भूकम्पीय सुरक्षा सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा नवलपरासीमा थियौँ । बिभिन्न देशका प्रतिनिधि शिक्षक विद्यार्थी सहभागी थिए । फर्कने बेला बाटोमा जापानको शिक्षकले मलाई मोटर रोक्न लगायो । किन रोक्ने ? मैले प्रश्न गरेँ । उसले पुरानो प्रविधिको घर देखेछ । यस्तो पनि भुकम्पमा नभत्केकोमा उ अचम्ममा परेछ । त्यो घरको फोटो खिच्नु पर्यो रे ! मैले भने किन ? त्यो उसको कक्षाका लागि शैक्षिक सामग्री हुन्छ रे ! त्यो शिक्षक जो अन्तराष्ट्रिय गोष्ठिमा विदेशमा छ । तर आफ्नो कक्षाको सिकाइ सामग्रीको बिषयमा सोची रहेको छ ! हामी किन त्यसरी सोच्न सक्दैनौँ ?
के सामग्री नभै सिकाइ नै हुन्न त ?

यो कुरा प्रविधिक हो । परिस्थितिजन्य हो । विषयगत हो । हिजो सुचनाको संसार थिएन । विद्यार्थीको सिकाइको स्रोत शिक्षक मात्र थियो । सिमित सामग्रीबाट सिकाइ गरिन्थ्यो । विद्यार्थीको पहुँच कम थियो । अभिभावक अनभिज्ञ थियो । त्यसैले गुरुले जे दियो त्यहि सही थियो । पर्याप्त मानिन्थ्यो । आज सँसार सागुँरिएको छ । निमेषमा संसार भर फैलिन्छ । विद्यार्थी, शिक्षक, अभिभावक सबैमा । कतै त गुरुले भन्दा पहिला विद्यार्थी र अभिभावकले चाँडै थाहा पाउँछन । त्यसैले शिक्षण दिनानुदिन चुनौतीपूर्ण हुँदै गएको छ । त्यसैले आजको शिक्षकले हिजोको तरिकाले शिक्षण गरेर सिकाइ हुन गाह्रो छ । त्यसैले फरक शैली चाहियो । त्यसैले शिक्षण सामग्री चाहियो ।

हामीले शिक्षाको उदाहरण दिनु पर्दा फिनल्याण्ड सम्झन्छौँ । त्यहाँको शिक्षा संसारमा उदाहरणीय मानिन्छ । एउटा घटना स्मरण भयो–फिनल्याण्डको एउटा विज्ञानको शिक्षकले रिप्रोडक्टिभ हेल्थको कक्षा लिई रहेको थियो । बिभिन्न सामग्रीका माध्यमबाट कक्षा लिईरहेको थियो । तर दुर्भाग्य त्यो कक्षाका विद्यार्थीलाई उसले जागरुक बनाउन सकिरहेको थिएन । विद्यार्थीले ध्यान दिई रहेका थिएनन् । जती गर्दा पनि विद्यार्थीको ध्यान तान्न नसके पछि त्यो शिक्षकले आफ्नो शरिरलाई नै शैक्षिक सामग्रीको रुपमा प्रयोग गर्ने विचार मात्र गरेन । सवै अङ्गलाइ विद्यार्थी सामु पेश गर्यो । सविस्तार । शिक्षक त्यो तह सम्म जानु पर्ने कारण हो विद्यार्थीमा सिकाइ प्रति दिनानुदिन रुची कम हुँदै जानु । सामाजिक सञ्जालको प्रभाव बढ्नु । सुचनालाई नै ठुलो ज्ञान हो भन्ने भाष्य विद्यार्थीमा बढ्दै जानु । सुचनाले थिचिएर विद्यार्थीमा सिकाइ प्रति कुनै रुची नहुनु । विद्यार्थी सतही ज्ञानमा रमाउनु । अभिभावकले पनि काम र सिकाइ सँगै नलैजानु । विद्यार्थीले सक्ने काम पनि नगराउनु । बालअधिकारको दुहाई दिएर सक्ने पनि काम नगरानु कति उचित हो ? (यो छुट्टै शास्त्रार्थको बिषय हो ।) 

त्यसैले सामग्री नभै विद्यार्थी नसम्हालिने भयो । त्यसैले सामग्री चाहियो । यो एउटा प्रतिनिधि घटना हो । यस्ता उदाहरण संसारमा धेरै होलान्।

पहिले विद्यार्थीसँग सुचनाको स्रोत थिएन । माध्यम थिएन । तर आज विद्यार्थी सुचनाले थिचिई सकेको छ । कतिपय कुरा त शिक्षकले भन्दा धेरै विद्यार्थीले थाहा पाई सकेको हुन्छ । त्यसैले शिक्षकले पुर्व तयारी धेरै गर्नु पर्ने भयो । विधि परिवर्तन गर्नु पर्ने भयो । विद्यार्थीका पनि नजान्ने, जान्ने, धेरै जान्ने छुट्टाउनु पर्यो । सोहिनुरुप सिकाइ सामग्री चाहियो । विधि चाहियो । यस मामलामा  हामी कहाँ छौँ ? यो खोजी हुनुपर्यो । अनुगमन हुनु पर्यो । सो अनुरुप योजना बन्नु पर्यो । बजेटले त्यो योजनालाई सम्बोधन गर्नु पर्यो ।

त्यसो भए व्यवस्थापनलाई थाहा छ ? स्कुलमा कति शैक्षिक सामग्री छन् ? यहाँ व्यवस्थापन भन्ने वित्तिकै विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार सबै हुन् । कसलाई थाहा छ ? शिक्षकले फालेको सामग्रीलाई राखेको भने जस्तै व्यस्थापनले पनि आफुलाई सबै कुरा थाहा भएको भन्न त सक्छ । तर खासमा कुनै सरकारलाई आजको दिन सम्म कति विद्यालयमा शैक्षिक समाग्री छन् र कति नपुग छ ? थाहा छ ? छैन । थाहै नभई हिँडेर कहाँ पुगिन्छ ?

बस्याल शिक्षा मन्त्रालयका पूर्व उपसचिव हुन् । 

प्रतिक्रिया