Edukhabar
शुक्रबार, २१ बैशाख २०८१
गतिविधि

सामुदायिक विद्यालयमा भर्ना गर्न भनसुन

१ देखि ९ सम्म ७७ जना भर्ना कोटा भए पनि २ सय ३५ जनाले प्रवेश परीक्षा दिए

मंगलबार, ११ बैशाख २०८१

भक्तपुर–सूर्यविनायक नगरपालिकाको दधिकोट गाम्चामा रहेको अरनिको माध्यमिक विद्यालयमा भर्ना गर्न सीमित कोटा भए पनि विद्यार्थी चाप बढेपछि प्रवेश परीक्षा लिएर विद्यार्थी छनोट थालेको छ । 

आधारभूत र माध्यमिक तहको परीक्षामा उत्कृष्ट नतिजा आएपछि निजी विद्यालय छाडेर अरनिको माध्यमिक विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या बढेको प्रधानाध्यापक महेन्द्र श्रेष्ठले बताए । १ देखि ९ सम्म ७७ जना विद्यार्थी भर्ना कोटा भए पनि २ सय ३५ जनाले प्रवेश परीक्षा दिएको उनले बताए । निजी विद्यालयले आवश्यक प्रमाण उपलब्ध नगराएको कारण प्रवेश परीक्षामा सहभागी हुनेको संख्या अझ कम भएको उनले बताए । ‘प्रवेश परीक्षामा जन्म दर्ता, उनीहरूको ग्रेड सिटलाई अनिवार्य गरेका थियौ,’श्रेष्ठले भने,‘कतिपयले ल्याउन नसकेको कारणले फारम लगे पनि परीक्षा दिने कम भए ।’

arniko

सबैभन्दा बढी विद्यार्थी चाप कक्षा आठ र नौ मा रहेको उनले बताए । कक्षा आठमा १४ जनाको कोटा भए पनि प्रवेश परीक्षा ४५ जनाले दिएका छन् । कक्षा ९ मा आठ जना मात्रै भर्ना गर्न सकिने भए पनि ३६ जनाले प्रवेश परीक्षा दिएको उनले बताए । कक्षा चारमा भर्ना लिनै नसक्ने रहेको उनले बताए ।  परीक्षा दिनेमा सबैजसो निजी विद्यालय छाडेर आउने रहेको उनले बताए । 

araniko 2

प्रवेश परीक्षा दिने धेरै विद्यार्थी भएपछि भर्ना गरिदिन भन्दै भनसुन पनि उत्तिकै भइरहेको शिक्षकहरु बताउँछन् । पछिल्लो वर्ष निजी विद्यालयबाट सामुदायिकमा आउनेको संख्या बढेको शिक्षकहरू बताउँछन् । सामुदायिक विद्यालय समुदायको हेलामा परेपछि शिक्षकहरूले मिहेनत गर्न थालेका छन् । विद्यार्थी तान्न अङ्ग्रेजी माध्यमबाट पढाई, निःशुल्क अध्ययन गर्न पाउने भएपछि निजी विद्यालय छाडेर सामुदायिक तर्फ अभिभावक आकर्षित हुन थालेका हुन् । 

 

प्रतिक्रिया