Edukhabar
बुधबार, १९ मंसिर २०८१
विचार / विमर्श

मन्त्री ज्यु, राजनीति गर्ने म शिक्षकलाई कारवाही गरियोस् !

आफ्नो दलमा शिक्षकको सांगठानिक उपस्थिति नहुँदाको तुष मेटाउन खोजिएको हो भने त्यो शिक्षकलाई कदापी सह्य नहुने व्यहोरा सार्वजनिक सुझाव दिन चाहन्छु ।

सोमबार, ३१ बैशाख २०८१

माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री ज्यु,

सादर नमस्कार, अभिवादन, लालसलाम, जय नेपाल, जय देश जय मधेश....

महोदय,

म एक राजनीति गर्ने भनिएको शिक्षक हुँ । आजभोलि तपाईं राजनीति गर्ने शिक्षकलाई कारवाही गर्न साह्रै लालायित भएको व्यहोरा सामाजिक सञ्जाल तथा आम मिडियामा आई रहेको पाईन्छ । तपाईंले शिक्षक राजनीति गर्छन् कारवाही गर्छु भनी “नाङ्लो ठटाएर हात्ती तर्साउने काम” गरेको  होइन भने  शिक्षकले राजनीति गरेका निम्म विषय र प्रमाणहरु छन् कारवाहीको प्रक्रिया अगाडी बढाउनुहोस् व्यहोर्न तयार छौँ । 
१.    मेरा अग्रज शिक्षक नेताहरुले २०३६ सालमा निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्ध संघर्ष गर्दा जेलनेलको यातना सहे, जीवनको आहुती दिए र तत्कालिन निरंकुश राजालाई घुँडा टेकाएर नेपाल राष्ट्रिय शिक्षक संगठनको स्थापना गरे । जति बेला नेपाल राष्ट्रिय शिक्षक संगठनको स्थापना भयो त्यतिबेला तपाईंहरु जस्तै बहुदलीय प्रजातन्त्रको आवाज उठाउने र अहिले प्रजातन्त्रको उपभोग गर्न पाईरहेका राजनीतिक दलहरु प्रतिबन्धित थिए । म त्यही शिक्षक संगठनको सदस्य हुँ । तसर्थ मेरा अग्रज नेताहरुले निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गर्न, राजतन्त्रको विरुद्ध आवाज बुलन्द गर्न र आम शिक्षक तथा नागरिकलाई आफ्नो अधिकारको लागि संगठित हुन अभिप्रेरित गर्नु गलत हो भन्ने लाग्छ र मैले त्यही संगठनको सदस्य बन्नु राजनीतिक अपराध हो भने मलाई कारवाही गरियोस् ।

२.    २०३६ साल देखि २०४६ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठनको व्यानरमा निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको स्थापनाको लागि माहौल तयार गर्नु, विभिन्न राजनीतिक दलका विचारहरु आम जनसमुदायसम्म पुर्याउने वैधानिक मञ्च बनिदिनु, २०४६ सालको जन आन्दोलनमा सहभागि हुनु राजनीति हो भने म शिक्षकलाई कारवाही गरियोस् ।

३.    २०४७ सालमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको स्थापना भयो । देशमा राजपरिवार बाहेक सबैजसो नागरिक कुनै न कुनै राजनीतिक दलमा आवद्ध भए, गराइए । सोही माहौलमा विवेकशील शिक्षक पनि आफुलाई मनपर्ने राजनीतिक विचारको सामिप्य हुनु स्वाभाविकै बन्यो । राजनीतिक दलहरुले बहुदलीय प्रजातन्त्रलाई संस्थागत गर्ने गाँउ गाँउमा शिक्षकहरु भरमग्दूर उपयोग गरे । शिक्षकले चुप लागेर बस्न खोज्दा पनि कलिलो प्रजातन्त्रको रक्षा र विकास गर्न प्रजातन्त्रवादी शिक्षकको पनि कर्तव्य हो भनियो र शिक्षकलाई दलगत सदस्यता वितरण गरियो । तसर्थ शिक्षकले बहुदलीय प्रजातन्त्र रक्षा र विकासका खातिर परिचालित हुनु राजनीति गरेको ठहरियो भने मलाई कारवाही गरियोस् ।

४.    म शिक्षक एक सचेत नागरिक पनि हुँ । मलाई संविधान प्रदत्त अधिकार तथा अन्तराष्ट्रिय अभिसन्धिमा नेपाल सरकारले गरेको सहमति हस्ताक्षरको बारेमा राम्रो जानकारी छ । संविधानले राजनीतिक विचार अंगिकार गर्न पाउने र संघ–संस्था खोल्न एवम् सोको सदस्यता लिन पाउने अधिकारलाई मौलिक हकको रुपमा स्थापित गरेको छ । त्यस्तै आईएलओ अभिसन्धि अनुसार ट्रेड युनीयनकर्मीहरुको चुन्ने र चुनिन पाउने अधिकारलाई सुनिश्चित गरेको छ । नेपाली शिक्षाकर्मीहरु पनि यो देशका नागरिक नै भएकोले संविधान प्रदत्त अधिकारको उपभोग गर्न पाउनु र नेपालको श्रम ऐनमा दर्ता भएका संघ–संगठनका सदस्य शिक्षकहरुले आफ्नो हक अधिकारका लागि आवाज उठाउनु राजनीति हो भने म शिक्षकलाई कारवाही गरियोस्।

५.    बहुदलीय प्रजातन्त्र सञ्चालन प्रक्रियामा पक्कै पनि कमि कमजोरी भए गरेका छन् । जनस्तरमा राजनीतिक दल र सरकारले गरेका कमि कमजोरी प्रति व्यापक असन्तुष्टी फैलिएकोले देशमा दश वर्षे द्वन्द्व भयो । सो द्वन्द्वको समयमा कुनै शिक्षक द्वन्द्व पक्षधर बन्न र कुनै शिक्षकहरु त्यसको विरोधी बन्न बाध्य पारियो । केही शिक्षकले ज्यानको बाजी लगाएर भए पनि दूरदराज गाँउ बस्तिमा विद्यालय सञ्चालन गरेर सरकारको उपस्थिति जनाई रह्यौँ । यसरी शिक्षकले देशमा राज्यको उपस्थित जनाएर नेपाललाई असफल राष्ट्र घोषित हुनबाट जोगाई रहँदा सयौँ शिक्षकले सुराकीको नाममा विद्रोही पक्षबाट हत्या आतंकको शिकार बन्नु पर्यो । त्यसै गरी सयौ शिक्षकलाई राज्यपक्षले जवरदस्त राजद्रोही मुकरर गर्यो । जसका कारण सयाँै शिक्षकको जागिर खोसिनुका साथै दर्जनौ शिक्षकले ज्यानको आहुती दिनु पर्यो । कयौँ शिक्षकको परिवारको समेत हत्या गरियो । त्यो दश वर्षे द्वन्द्वमा होमिन सबैजसो शिक्षकलाई वाध्य पारियो । दशवर्षे द्वन्द्वको जगमा नेपालमा संविधान सभाको निर्वाचन भई जनताद्वारा नेपालको संविधान जारी भयो ।

यसरी एकातर्फ देशका सबैजसो भूभागमा राज्यको उपस्थिति  जनाउन शिक्षकले महत्वपूर्ण भुमिका निर्वाह गरे भने अर्को तर्फ जनताको संविधान जनताले लेख्ने सुअवसरका लागि पनि शिक्षकले अहम् भूमिका निर्वाह गर्यो । यदि जस्तो सुकै कठिन परिस्थितमा पनि देशभर सरकारको उपस्थिति जनाउन र जनताका लागि जनताले संविधान लेख्ने अवसर निर्माणमा  बलिदानी पूर्ण संघर्ष गर्नु राजनीति हो भने म शिक्षकलाई कारवाही गरियोस् ।

६.    २०६२ / ०६३ को जन आन्दोलनलाई विभिन्न पेशागत संघ संगठनको ब्यानरमा देशभर फैलाउँदै आगाडि बढाउन र देशबाट सदाका लागि राजतन्त्र समाप्त पार्नमा देशभरका शिक्षक परिचालित भए । शिक्षकको सहभागिता सहितको आन्दोलनबाट अहिले सारा नेपालीले भोगेको खुला समाज, विधिको शासन र समावेशी संघीय गणतन्त्रात्मक व्यवस्था स्थापनामा योगदान पुर्याउनु राजनीति हो भने म शिक्षकलाई कारवाही गरियोस् ।

७.    अन्तमा,

माननीय मन्त्रीज्यु, तपाई सामाजिक सञ्जालबाट सुझाव मागि रहनु भएकोले यी माथि उल्लेखित विषयहरु राजनीति गरिएको ठहरिन्छ भने जाबो शिक्षकको जागिर खान किन लालायीत हुनुहुन्छ ? सक्नु हुन्छ भने शिक्षकलाई राजनिति गर्न लगाउने, सदस्यता विरतण गर्ने र विभिन्न जिम्मेवारी दिने राजनीतिक दललाई शिक्षकको दलगत सदस्यता खारेज गर्न लगाउनुहोस् “नरहे बाँस  नबजे बासुरी” । हैन भने आफ्नो दलमा शिक्षकको सांगठानिक उपस्थिति नहुँदाको तुष मेटाउन खोजिएको हो भने त्यो शिक्षकलाई कदापी सह्य नहुने व्यहोरा सार्वजनिक सुझाव दिन चाहन्छु । 

धन्यवाद !

नेपाल राष्ट्रिय शिक्षक संगठनका नेता कुँवर नेपाल शिक्षक महासंघका पूर्व महासचिव पनि हुन् । 

प्रतिक्रिया