Edukhabar
शनिबार, १२ साउन २०८१
विदेशमा शिक्षा

कन्सल्टेन्सिको नविकरण खुला गर्ने शिक्षा मन्त्रालयको निर्णय

नविकरण भएका संस्थालाई मात्रै शैक्षिक मेला सञ्चालनको अनुमति दिईने छ ।

आइतबार, २७ जेठ २०८१

काठमाडौं - विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिदैं आएका शैक्षिक परामर्शदातृ सँस्था (कन्सल्टेन्सि) को नविकरण खुला भएको छ । स्थलगत अनुगमनका आधारमा नविकरण खुला गर्ने निर्णय भएको शिक्षा मन्त्री सुमना श्रेष्ठको सचिवालय श्रोतले जनाएको छ ।

'शिक्षा मन्त्रालयले स्वीकृति प्राप्त गरी लामो समय नविकरण नभएका शैक्षिक परामर्श दातृ सँस्थाहरुको नविकरण गर्ने निर्णय गरेको हो' सचिवालयले श्रोतले भन्यो । 

नविकरण गर्नु पूर्व मन्त्रालयको उच्च शिक्षा महाशाखाको नेतृत्वमा अनिवार्य स्थलगत अनुगमन गरिने जनाईएको छ । 

हालसम्म शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ अनुसार एक हजार चार सय ७३ वटा शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षा सञ्चालन गर्ने गरी दर्ता भएका छन् । तर,  २०७५ साल साउन १६ गतेबाट संस्था दर्ता तथा सोका लागि आवेदन, नविकरण लगायतका कार्यहरु रोकिएको थियो । 

शैक्षिक मेला सञ्चालन अनुमति समेत दिइएको थिएन । अब नविकरण भएका संस्थालाई मात्रै शैक्षिक मेला सञ्चालनको अनुमति दिईनेछ । विना अनुमति आफूखुशी सञ्चालन भएका शैक्षिक मेलालाई कारवाही  गरिनेछ ।

मन्त्रालयमा सूचीकृत भई सकेका सँस्थाको विवरण, नामसारी तथा ठाउँ सारीको अवस्था, सेवा प्रदान गरेका विद्यार्थीको विवरण मन्त्रालयले प्राप्त गरिरहेको थिएन । सञ्चालनमै रहेका यी सेवाहरुबाट प्राप्त हुने राजस्वसमेत अद्यावधिक हुन सकेको थिएन। अनुगमन तथा नियमन समेत भएको थिएन । सेवाग्राही मर्कामा परेपछि कारवाहीका लागि उजुरी गर्दा समेत समस्या परेको गुनासो आउने गरेको थियो । त्यसैले मन्त्रालयले सूचीकृत भएका संस्थाहरुको नविकरणका लागि आवेदन लिने निर्णय गरेको बताईएको छ । अनुगमनको मासिक प्रतिवेदन मन्त्री समक्ष पेश गर्नुपर्ने निर्णय भएको छ ।

प्रतिक्रिया