Edukhabar
विहीबार, ०१ जेठ २०८२
गतिविधि

जहाँ शिक्षक ९ बजेअघि नै आउँछन् ५ बजेपछि जान्छन्

विद्यालयको योजनामा शिक्षकको साथले बदलेको नतिजा र बढाएको अभिभावकको विश्वास

विहीबार, ०१ जेठ २०८२

भक्तपुर - बिहानको साढे ८ को हाराहारीमा विद्यालयको चौरमा विद्यार्थी देखिन थाल्छन्, क्रमशः विद्यार्थी बढ्दै जान्छन् । अनि शिक्षकहरू पनि आउन थाल्छन् । 

९ बजेअघि नै शिक्षकहरू विद्यालयको अफिस छिरिसक्छन् ।  हाजिरी गरिसक्छन् ।  उनीहरू थप कक्षाका लागि आएका हैनन्, उनीहरू नियमित ड्युटी (कक्षा) का लागि आएका हुन् । 

९ बजे स्कुलको घण्टी बजेसँगै विद्यार्थी बिहानी प्रार्थनाका लागि पंक्तिवद्द भए, शिक्षकहरूले पिटी खेलाए, राष्ट्रिय गान, नगरगान र स्कुल गानमा सहयोग गरे । प्रार्थना सकिएपछि विद्यार्थी आआफ्नो कक्षाम छिरे । ९ बजेर १० मिनेट नहुँदै कक्षा सुरू भयो ।

यो दृष्य कुनै निजीको नभई सामुदायिक विद्यालयको दृष्य हो ।

aajad_bhaktapurभक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २, झौखेलस्थित श्री आजाद माध्यमिक विद्यालयमा बिहानैदेखि विद्यार्थी र शिक्षक आउँछन्, पढ्छन्, पढाउँछन् । 

विद्यालयले विद्यार्थीको पढाइका लागि नियमित कक्षा बिहानै सुरू गरेको हो । यतिमात्र होइन, विद्यालयमा दिउँसोको ४ बजेपछि पनि कक्षा हुन्छ । विद्यालयले बिहान १ घण्टा, बेलुका १ घण्टा थप कक्षा सञ्चालन थालेको छ । त्यस बापत शिक्षकले थप सुविधा पाएका छैनन्, विद्यार्थीले थप आर्थिक भार पनि व्यहोर्नुपरेको छैन ।

'हामीले यस शैक्षिक सत्रदेखि एक घण्टा विद्यालयका लागि भन्ने योजना बनाएका छौं, सोही अनुसार शिक्षकहरू विहान १ घण्टाअघि आउने र साँझ एक घण्टापछि जानु हुन्छ' विद्यालयका प्रधानाध्यापक इन्द्रमणि गिरिले भने, 'एक घण्टा विद्यालयका लागि कन्ट्रिब्युसन भन्ने थिम बनायौं, सोही अनुसार योजना लागू गरेपछि अभिभावक र विद्यार्थी दुबै खुसी छन् ।'

विद्यालयको उक्त योजनामा शिक्षकले पनि साथ दिएका छन् । यसैले खुसीसाथ उनीहरू समयमै आउँछन्, समयसम्म बस्छन् । बालबालिकाको सिकाइमा संलग्न हुन्छन् । यसलाई शिक्षकले झण्झटका रूपमा नलिएको प्रधानाध्यापक गिरिको भनाइ छ । उनले विद्यालय सुधारका लागि उक्त प्रयास गरिएको जानकारी दिँदै भने, 'सरकारी विद्यालयका शिक्षक पढाउँदैनन्, अल्छी छन् भन्ने जुन धारणा अभिभावकमा छ, हामी त्यस्तो छैनौं भन्ने बुझ्न, बुझाउन पनि यो अभ्यास गरेका हौं ।'

शिक्षकको मेहनतको सकारात्मक प्रभाव अहिले देखिन थालेको छ । विद्यालयले उक्त अभ्यासको सुरूवात गरेसँगै गत वर्ष करिब एक सय ८० विद्यार्थी संख्या रहेकोमा चालू शैक्षिक सत्रको बैशाख मसान्तसम्म दुई दुई सय ५० बढी विद्यार्थी भर्ना भइसकेका छन् । विद्यालयको उक्त अभ्यासले प्रत्यक्ष रूपमा दैनिक काम गरि गुजारा गर्ने अभिभावकहरू लाभान्वित भएका छन् । 

'हामी बिहानै काममा जानुपर्छ, बेलुका ढिला हुन्छ, त्यो बीचमा स्कुल पठाएका सन्तान लिन जान सकिँदैन, स्कूलले बिहान चाँडो र बेलुका ढिलो गरि पढाउँदा हामीलाई सजिलो भएको छ' सोही विद्यालयको कक्षा ६ मा सन्तान पढाइरेहकी मुगुकी एक अभिभावकले भनिन् । 

उनी झौखेलमै टनेलमा खेती गर्छिन् । बिहानै काम, बेलुका काम हुँदा बच्चाको पढाइबारे हेर्न नपाउने समस्या स्कूलले समाधान गरेको उनको भनाइ छ । 

प्रधानाध्यापक गिरिले पढाइलाई गुणस्तरीय बनाउने प्रयासस्वरूप प्रवेश परीक्षा लिएर मात्र विद्यार्थी भर्ना गर्ने गरिएको बताउँदै विद्यालयमा अभिभावकको अपनत्व बढाउने प्रयास गरिरहेको पनि बताए ।

विद्यालयमा हाल निजी स्रोतका आठ जना, दरबन्दीका इसीडी दुई, प्रावि छ, निमावि दुई र माविमा चार शिक्षक कार्यरत छन् । स्कुलमा कक्षा ६ सम्म अंग्रेजी माध्यम र ७ देखि १० सम्म नेपाली र अंग्रेजी माध्यममा पठनपाठन भइरहेको छ ।
कक्षा प्ले ग्रुपदेखि कक्षा २ सम्म मण्टेसरी विधिबाट पठनपाठन भइरहेको छ । त्यहाँ एक घण्टा र ५५ मिनेटको कक्षा पिरीयड निर्धारण गरिएको विद्यालयका एकेडेमीक कोअर्डिनेटर एवम् सूचना अधिकारी दामोदर न्यौपानेले बताए ।

विद्यालयले गत शैक्षिकसत्र २०८१ मा नगरस्तरीय परीक्षा ( कक्षा ८) मा नगर भरमै उत्कृष्ट नतिजा हासिल गरेको थियो । त्यो नतिजालाई कायम राख्नका लागि पनि विद्यालयले उक्त अभ्यास थालेको विद्यालयले जनाएको छ । 

विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् वडा सदस्य राधा माकजुले विद्यालयमा टीमवर्क रहेको जनाउँदै आजाद माविमा अभिभावक आकर्षण बढिरहेको बताइन् । 

वडा अध्यक्ष सोम प्रधानले विद्यालयको कुशल नेतृत्वले विद्यालयले शैक्षिक उन्नयन गरिरहेको बताए ।

उनले भने, 'विद्यालयको खस्केको शैक्षिक नतिजामा सुधार भएको छ, विद्यालयले राम्रो शैक्षिक अभ्यास सुरू गरेको छ । हामीले यसका लागि आवश्यक बजेट वन्दोबस्त गरेका छौं ।'

यो विद्यालय २०१८ सालमा स्थापना भएको हो । 

प्रतिक्रिया