Edukhabar
शनिबार, १२ साउन २०८१
गतिविधि

एसएलसीमा डी र ई ग्रेड ल्याउनेलाई छुट्टै ब्यवस्था

बुधबार, २९ बैशाख २०७३

काठमाडौं - प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सीटिईभीटीले एसएलसीमा डी र ई ग्रेड ल्याउने विद्यार्थीका लागि छुट्टै कोर्ष बनाउने भएको छ । यस बर्ष देखि ग्रेडिङ्मा आउने एसएलसीको नतिजालाई मध्यनजर गर्दै नयाँ विषयहरु तय गरिएको हो । अब, डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई लक्षित गरी चारवटा प्रोफेसनल कोर्ष तयार गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

जसमा कार्पेन्टर, वेल्डर, पल्म्वर र कुकको पढाई हुने छ । यस अघि एसएलसी अनुत्तीर्णलाई २९ महिने र उत्तीर्णलाई १५ महिने कोर्ष पढाईन्थ्यो । अब यी दुवै कोर्षलाई एकै ठाउमा मर्ज गरिएको हो ।

यसैगरी स्वास्थ्य सम्बन्धि विषय अध्ययनका लागि अंग्रेजी, गणित र विज्ञानमा सी ग्रेड र औषत अंक अर्थात् जीपीए २ आएकै हुनु पर्ने छ । यस्तै डिप्लोमा ईन ईञ्जिनीयरिङ्का लागि अंग्रेजी, गणित र विज्ञानमा सी ग्रेड हुनै पर्ने छ । तर, अन्य विषयमा डी ई जुन ग्रेड ल्याए पनि पढ्न पाउने छ ।

भूकम्प पछि भूकम्प प्रतिरोधि घर निर्माणका लागि ४ हजार ५ सय विद्यार्थीलाई डकर्मी तालिम दिईएको सीटिईभीटीले जनाएको छ ।

गत विहीबार बसेको परिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव डा. रामहरी लामिछानेले ६५ करोड रुपैंया बराबरको छाबृत्ति वितरण गरेको जानकारी दिए ।

भूकम्प पीडितका लागि मात्रै २५ करोड रकम खर्च गरिएको उनको भनाई छ । यस्तै विशेष छात्रबृत्ति अन्र्तगत कर्णलीका विद्यार्थी, लोपोन्मुख जाति, अल्प संख्यक, शारिरिक अपाङ्गता भएका, वहिरा विद्यार्थीका लागि ४० करोड रुपैंयाको छात्रबृत्ति वितरण गरिएको बताए । भूकम्प पीडित मध्ये क बर्गको परिचयपत्र पाएका परिवारका विद्यार्थी मध्येबाट ५ सय जनालाई शुरु गर्न लागिएको कक्षा आगामी जेठ २ गतेबाट शुरु हुने उनले बताए ।

त्यसैगरी विशेष छात्रबृत्ति अन्र्तगत छनौट भएका ८ सय विद्यार्थीको लागि पनि जेठ २ गतेबाटै कक्षा शुरु हुने छ । यस्तो छात्रबृत्ति अन्र्तगत निर्वाह भत्ता वापत प्रति महिना ३ हजार ५ सय रुपैंया, यातायात खर्च वापत प्रति बर्ष १ हजार ५ सय रुपैंया, पोशाक खर्च वापत प्रतिबर्ष २ हजार ५ सय रुपैंया सहित निशुल्क अध्ययन र छात्राबासको सुविधा उपलब्ध गराईएको लामिछानेले बताए ।

१ बर्षमा ८ हजार ८ सय विद्यार्थीलाई १ अर्ब २ करोड रुपैंया रुपैंयाको छात्रबृत्ति वितरण गरेको उनले बताए । धवलागिरी वहिरा आवासीय मावि बाग्लुङलाई परिषद्को आँगिक शिक्षालयको रुपमा डिप्लोमा तहको कम्प्युटर ईञ्जिनीयरिङ् कक्षा सञ्चालनको अनुमति दिएको पनि उक्त अवसरमा जानकारी गराईयो ।

राजनीतिक दवाव बढ्न थालेपछि परिषद्ले सम्बन्धनमा कडाई पनि गरेको छ । राजनीतिक दवावलाई घुमाउरो पारामा ब्यख्या गर्दै उनले परिषद्बाट सम्बन्धन लिनका लागि जुनसुकै बेला प्रस्ताव पेश गर्न सक्ने निर्णय खारेज गरिएको बताए ।  नर्सिङ् कलेजहरुको सम्बन्धनमा कडाई र अनुगमनका ध्यान दिने उनको भनाई छ । नर्सिङ् कार्यक्रमको हकमा मन्त्रीपरिषद्को सामाजिक समितिको मिति २०७२ भदौ १५ गतेको निर्णय अनुसार शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नीति तर्जुमा भए पश्चात स्विकृत नीति अनुरुप मात्रै कार्य अघि बढाईने परिषद्ले जनाएको छ ।

'डा. गोविन्द केसीको अनसन, माथेमा आयोगको प्रतिवेदन र डा भगवान कोइराला नेतृत्वको आयोगले ऐन निर्माण गरेको सन्दर्भलाई ख्याल गर्दै हामीले परिषद् बैठकबाटै नीतिगत निर्णय गरेका छौं' लामिछानेले भने ।

कार्यक्रम अनुसार आवश्यक दरबन्दी नहुँदा केही समस्या भएपनि ९८ प्रतिशत अनुगमन प्रभावकारी भएको लामिछानेको दावी छ । उजुरी आयो भने हामी तत्काल कारवाही प्रकृया अघि बढाउँछौं, उनले भने तर के गर्नु २०५३ सालमा ९ सय ३२ दरबन्दी रहेको सटिईभिटीमा ४ सय गुणा कार्यक्रम बढे पनि अहिले सम्म त्यही दरबन्दी छ, तै पनि हामी अनुगमनलाई म्यानेज गरेकै छौं ।

उनले ७ सय दरबन्दी माग गरेको पनि बताए । संघीय संरचना अनुसरा सिटिईभिटीको ढाँचा परिवर्तन गर्ने गृहकार्य शुरु भएको उनको भनाई छ । कार्यक्रममा सिटिईभिटीका उपाध्यक्ष कुल बहादुर बस्नेत सहित विभिन्न विभागका निर्देशकहरुको समेत सहभागिता थियो ।

प्रकाशित मिति २०७३ बैशाख २९ गते

प्रतिक्रिया