Edukhabar
शनिबार, १५ बैशाख २०८१
विदेशमा शिक्षा

ईक्यान स्थापना दिवस : विदेशिएका विद्यार्थी फर्काउने चिन्तन देखि छात्रवृत्ति वितरण सम्म

सोमबार, १३ भदौ २०७३

काठमाडौं - विदेशिने विद्यार्थीको संख्या बढिरहेको छ । त्यसो हो भने, नेपाली विद्यार्थी विदेश किन जान्छन् त ? म्यागासेसे पुरस्कार विजेता सामाजिक अभियन्ता तथा राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाविर पुन भन्छन् – 'नेपालमा केहि गर्ने वातावरण नभएको हुदाँ नेपाली विद्यार्थी विदेशिन बाध्य भए ।'

सबै विदेशिएका विद्यार्थी अध्ययनकै लागि जान्छन् भन्ने ग्यारेण्टि नभएको कुरा उनको यो निष्कर्षले पुष्टि गर्छ । पढ्ने भन्दै विदेशीने विद्यार्थी मध्ये अधिकाँशको ध्यान कमाउनमै केन्द्रित हुने यस क्षेत्रका जानकार स्वयं बताउँछन् ।

चाहे जे भएपनि देशको जनशक्ति पलायनको चित्र बर्षै पिच्छे डरलाग्दो हुँदै छ ।

यहि डरलाग्दो चित्रका विच सरकारकै एक जना मन्त्री भन्छन् – 'विदेशमा अध्ययन पश्चात नेपालमा फर्कने बातावरण बनाउन उस्तै चुनौतीपूर्ण छ ।'

विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिदैं आएका संस्थाहरु आवद्ध नेपाल शैक्षिक परामर्श संघ ईक्यानले सोमबार मनाएको आफ्नो स्थापना दिवसको २० औं बर्ष गाँठ कार्यक्रमका प्रमुख अतिथी परराष्ट्र मन्त्री प्रकाश शरण महतले यस्तो बताएका हुन् ।

छात्रवृत्ति प्रदान

ईक्यानले स्थापना दिवसको अवसरमा विभिन्न जिल्लाका तीन जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । रामेछापको खनियापानी गाविस वडा नं. ८ का कक्षा ४ मा अध्ययनरत सुर्य वहादुर दर्लामी र कक्षा ५ मा अध्ययनरत कल्याण यस्माली लाई छात्रबृत्ति रकम प्रदान गरिएको हो । यस्तै मुगुको रारा गाविस वडा नंं. ६ कि अमिन दोश्रो वर्षमा अध्ययनरत सरिता बुढा लाई पनि ईक्यानले छात्रबृत्ति प्रदान गरेको छ । दर्लामीलाई १२ हजार, यस्मालीलाई १३ हजार र बुढालाई ५० हजार रुपैंया प्रदान गरिएको हो ।

सामाजिक उत्तरदायित्व अन्र्तगत ईक्यानका सचिव देवीदास भट्टराईको संयोजकत्वमा गठित समितिले विद्यार्थीको छनौट गरेको हो । गरीब, जेहेन्दार, दुर्गम क्षेत्रका विद्यार्थीलाई सम्बन्धित विद्यालयको छनौट तथा जिल्ला शिक्षा कार्यालयको सिफारिसका आधारमा छात्रबृत्ति प्रदान गरिएको ईक्यानका पूर्व अध्यक्ष राजेन्द्र बरालले बताए ।

कार्यक्रममा ईक्यान शिक्षा सेवा सम्मान २०७३ द्धारा त्रिभुवन विश्वविद्यालय ब्यवस्थापन संकायका डिन प्रा. डा. देवराज अधिकारीलाई सम्मानित गरियो । पुनलाई ईक्यानले मानार्थ सल्लाहकार समेत बनाएको छ ।

ईक्यानको बार्षिक उत्सवको उपलक्ष्यमा आयोजित फुटसल प्रतियोगिताको विजयी टिमले प्राप्त गरेको पुरस्कार वापतको ३५ हजार रुपैंया कप्तान एन्ड्रयु पौडेल तथा टिमका सदस्यहरुले पुनको अविस्कार केन्द्रलाई सहयोग स्वरुप हस्तान्तरण गरे ।

कार्यक्रममा नेकपा एमालेका सचिव योगेस भट्टराइ, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल च्याम्बर अफ कमर्शका सचिव सन्तोष पाण्डे, अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी, प्रा. डा. विद्यानाथ कोईराला, सम्मानित प्रा. डा. अधिकारी, नेपाल विद्यार्थी संघका महामंत्री सरोज कुमार थापा लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

अध्यक्ष विनै स्थापना दिवस

आफ्नै संगठनको २० औ स्थापना दिवसमा अध्यक्ष प्रकाश पाण्डे भने अनुपस्थित थिए । उनको अनुपस्थितीमा पूर्व अध्यक्ष राजेन्द्र बरालले समारोहको अध्यक्षता गरेका थिए । ब्यवसायको विस्तारका लागि भन्दै पाण्डे भारत गएका कारण समारोहका अनुपस्थित भएका हुन् ।

समारोहमा बोल्दै बरालले पेशालाई मर्यादित बनाउन कन्सल्टेन्सीका लागि छुट्टै नियमावली बनाउन आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गरे । शिक्षा ऐन जारी भएसँगै मन्त्रालयले विभिन्न नियमावली निर्माणको कार्य अघि बढाएको छ । 'अहिले मन्त्रालय नियमावली बनाउने काममा जुटेको छ' उनले भने, 'शिक्षक, निजी स्कुल कलेज र  कन्सल्टेन्सीका लागि छुट्टा छुट्टै नियमावली बनाउनु पर्छ ।'

ईक्यानकै सकृयतामा ब्यवसायलाई मर्यादित बनाउन भन्दै निर्देशिका निर्माण र कार्यान्वयन भएको थियो । त्यसो त कन्सल्टेन्सी आवद्ध संस्थाहरु एकतामा विश्वास गर्दैनन् भन्ने कुरा उनीहरु विभक्त भएका तीन चिराले पुष्टि गर्छ । 

२०५४ सालमा श्रीकृष्ण श्रेष्ठले स्थापना गरेको ईक्यान २०६३ साल यता बल्ल सकृय रुपमा कृयाशिल भएको हो । ब्यवसाय ब्यवस्थित नहुनु, ब्यवसायीको पलायनको दर उच्च तथा भएका ब्यवसायीहरु पनि ईक्यान र अबोर्ड एजुकेशन कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल एक्यानमा विभक्त हुँदा संघ निस्कृय थियो ।

उत्तम पन्तको अध्यक्षतको ईक्यान र बराल नेतृत्वको एक्यानको एकिकरण संगै ईक्यान सकृय भएको थियो । त्यस यता पन्तको तीन कार्यकाल, कार्यवहाक अध्यक्षका रुपमा उत्तम केसी, दिपक गुरुङ् र बरालको दुई कार्यकाल हुँदै ईक्यानको नेतृत्वमा पाण्डे पुगेका हुन् । उनै पन्तको अग्रसरतामा छुट्टै संगठन खोलिएको थियो । 

ईक्यानले सरसफाई, रक्तदान सहित ३ दिने कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको हो ।

प्रकशित मिति २०७३ भदौ १३ गते

प्रतिक्रिया