Edukhabar
बुधबार, १२ बैशाख २०८१
विदेशमा शिक्षा

नेपाली विद्यार्थीलाई अष्ट्रेलियन सरकारको पुरस्कार : सम्झनामा 'जमल टु गंगवु'

बुधबार, २९ भदौ २०७३

काठमाडौं - एकातिर माओवादी विद्रोह अर्कातिर राजाको सकृय शासन ! कलेज पढाउन विहान डेराबाट निस्क्यो जमल पुगे पछि नेपाल बन्द भन्ने थाह हुन्छ, हत्त पत्त मोटरसाईकल गंगवु तिरै हुँईक्यायो न कलेज न डेरा ! विचमै अलपत्र !

देशमा जारी राजनीतिक अस्थिरताले धेरै नेपाली युवालाई जस्तै, रसुवाको कालिकास्थानबाट राजधानी छिरेका रत्न पौडेललाई पनि हैरान बनाएको थियो । अस्थिर राजनीतिको डरलाग्दो चेपमा परेका नेपालीको सपना भताभुङ्ग भएको यही छेकमा हो, पौडेलले देश छाड्ने निधो गरेका ।

देशका विभिन्न विश्वविद्यालयमा अध्यापन गराउने प्राध्यापकहरुलाई अष्ट्रेलियन सरकारले दिने ‘अष्ट्रेलियन अवार्ड फर युनिभर्सिटी टिचिङ’ पुरस्कार प्राप्त गरे पछि भाईवर मार्फत् कुराकानी गर्दै पौडेलले देश छाड्दा ताकाका ति दिन सम्झे ।

'सामान्य गाउँले परिवारको केटो के सपना बोकेर शहर छिर्छ ? मेरो पनि त्यो भन्दा धेरै ठूलो सपना थिएन' गाउँबाट शहर छिर्दाको सम्झना सुनाउँदै पौडेलले भने, 'दिनहुँ जस्तो हुने बन्द र हड्तालले आजित भएपछि एक खाले 'फ्रष्टेशन'ले हैरान बनाएको थियो ।'

पञ्चायतकालका प्रधानपञ्च भएर रसुवामै कहलिएका दुर्गाप्रसाद पौडेलका दुई श्रीमतीबाट १३ सन्तान थिए । जेठी श्रीमती दुर्गाकुमारी पौडेलका आठ सन्तान मध्येका एक पौडेल गाउँकै कालिका माविबाट २०५२ सालमा एसएलसी उत्तीर्ण हुन् ।

आमा निरक्षर भए पनि सन्तान पढाउने मामलामा कडा स्वभावकी हुँदा आफ्नो पढाईमा केटाकेटी बेलै देखि टक बसेको ठान्छन् उनी । कक्षा सात सम्म अब्बल भए पनि किशोर अवस्थाको प्रभाव होला त्यो भन्दा माथिको अध्ययनमा उनी औसत विद्यार्थी बने ।

दोश्रो श्रेणीमा एसएलसी उत्तीर्ण भएर काठमाडौं छिरे सँगै उनको पढाईले फेरी कोल्टे फेर्यो । 'शायद आमा वुवाको दुःख, सम्झेँ होला, शिक्षकहरुले म संग गरेको अपेक्षा सम्झे होलाँ त्यस माथि भने मेरो पढाईमा सुधार भयो' उनी सम्झन्छन्, 'म जुन तहमा पढ्थेँ त्यही तहका साथीहरुलाई ट्युसन पढाउँथे, उनीहरु पनि सरले भन्दा तिमीले पढाएको बुझ्छौं भन्थे, मलाई झन् पढाईमा हौसला बढ्दै गयो ।'

एसएलसी पछि थप अध्ययनका लागि उनी काठमाडौं छिरेका थिए । गंगवुको मनोहर बहुमुखि क्याम्पसबाट ब्यवस्थापनमा प्रविणता प्रमाणपत्र तह, शंकरदेवबाट स्नताक हुँदै २०६१ सालमा त्रिभुवन विश्वविद्यालयबाट ब्यवस्थापनमा स्नातकोत्तर सके पछि, अष्ट्रेलिया जानु अघि सम्म पौडेलको दैनिकी पढाउने काममै ब्यस्त थियो ।

आफूले स्नातक पढेको त्यही शंकरदेव र केही निजी कलेजहरुमा पढाउन ब्यस्त हुँदाको यो समय त्यही थियो जतिखेर डेराबाट पढाउन निस्केको एक जना शिक्षक कक्षा कोठामा नपुग्दै जमल तिरैबाट पटक पटक गंगवु फर्कन बाध्य हुन्थ्यो ।

बाध्यताको यो भोगाईले आजित बनेपछि १० बर्ष अघि देशै छाड्ने टुङ्गोमा पुगेका थिए पौडेल ।  सन् २००७ को अक्टोबरमा उनको यात्रा तय भयो अष्ट्रेलियाका लागि ।

'आम नेपाली विद्यार्थीको भोगाई जस्तै शुरुका दिन संकट पूर्ण नै भए । नेपालको डिग्रीको मान्यता थिएन' अष्ट्रेलिया छिरे पछिका दिन सम्झदैं उनी भन्छन्, 'यहाँको स्तरको पढाईका लागि थप मेहनत नगरी सुख्खै थिएन म त्यसकै लागि जुटेँ ।'

अन्ततः सक्दो मेहनेतले तय गरेको बाटो र प्राप्त ज्ञानले ६ बर्ष देखि उनी अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयमा अध्यापनमा ब्यस्त छन् ।

युनिभर्सिटी अफ साउदर्न क्विन्सल्याण्ड र युनिभर्सिटी अफ वेष्र्टन सिड्नीमा अध्यापन गराइसकेका उनी अहिले युनिभर्सिटी अफ द सनसाईनकोष्टमा एकाउन्टिङ बिषयका प्राध्यापक हुन् ।

विभिन्न विश्वविद्यालयमा प्राध्यापन गर्नेहरुको क्षमता अभिवृद्धिका लागि अष्ट्रेलियन सरकारले दिने पुरस्कारका लागि ४ महिना अघि उनले आवेदन हालेका थिए । देशरभका ३ दर्जन धेरै विश्वविद्यालय मध्ये उनको विश्वविद्यालयबाट मात्रै १५ जना प्राध्यापक प्रतिस्पर्धामा थिए । शिक्षाको माध्यमबाट विद्यार्थीलाई आत्मनिर्भर बनाउन मद्दत पुर्‍याएको, रोजगारका लागि सहयोग पुरयाएको, विद्यार्थी केन्द्रित शिक्षा प्रदान गरेको भन्दै उनलाई पुरस्कार दिइएको अष्ट्रेलियाको शिक्षा विभागले जनाएको छ । उनले गर्दै गरेको विद्यावारिधिको विषय पनि गरीबी निवारणमै केन्द्रित छ ।

'मेरो क्षमता र सीपमा थप अविवृद्धि गर्न यो पुरस्कार दिईएको हो' उनले भने, 'शिक्षक योग्य भए पो उसले आफ्ना विद्यार्थीलाई सक्षम बनाउन सक्छ ।'

१० हजार अष्ट्रेलियन डलर अर्थात् झण्डै ९ लाख रुपैंया पुरस्कार पाए पछि दंग परेका उनले यो खुसी रसुवामै रहेका आफ्ना आमा वावु, शिक्षक, देश विदेशमा रहेका साथी भाई र साथमै रहैकी श्रीमती यशोदा महत तथा ५ वर्ष र ४ महिनाका छोरासंग बाँड्न चाहेको बताए ।

यस अघि अष्ट्रेलियाकै विभिन्न विश्वविद्यालय र निकायबाट आधा दर्जन पुरस्कार र सम्मान पाईसकेका पौडेल आफ्नै गाउँको शिक्षाको गुणस्तर सुधार र शिक्षकहरुको क्षमता अभिवृद्धिमा साथ दिन ईच्छुक भएको बताउँछन् ।

त्यसो त २०७२ सालको भूकम्पका कारण दुख पाएका रसुवावासीलाई उनले केही सहयोग समेत जुटाएका थिए । रोटरी क्लव मार्फत् शिक्षाको गुणस्तर सुधारमा समेत सकृय उनी पछिल्लो समय जिल्लाका विद्यार्थी र शिक्षकलाई अष्ट्रेलिया र अष्ट्रेलियाका विज्ञलाई जिल्लाका विद्यालयसम्म लैजाने अभियानका पनि सकृय छन् ।

'यो पुरस्कार त मेरो क्षमता अभिवृद्धि गर्न दिईएको हो, तर म कुनै न कुनै रुपमा नेपालको शिक्षाको गुणस्तर सुधारका लागि काम गर्ने योजनामा छु' उनले भने, 'स्थानीय श्रोत साधानबाटै कक्षा कोठामा पढाउन सकिन्छ भन्ने सिप र ज्ञान शिक्षकलाई दिन सकियो भने शिक्षामा सुधार हुन्छ, यो सुधार मार्फत् निरास रहेका नेपालीलाई आशा जगाउनु मेरो सपना छ ।'

प्रतिक्रिया