Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विदेशमा शिक्षा

अष्ट्रेलियन एडु फेयर शुरु

शनिबार, ०८ असोज २०७३

काठमाडौं - अध्ययनका लागि नेपालबाट अष्ट्रेलिया जाने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक मेला शुरु भएको छ । अष्ट्रेलिया अध्ययनमा जाने विद्यार्थीलाई परामर्श दिँदै आएका परामर्शदाताहरुको संगठन नेपलिज एसोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रिजेन्टेटिभ्स् (नायर) को आयोजनामा शनिबार देखि अष्ट्रेलियन एडु फेयर शुरु भएको हो ।

होटल अन्नपूर्णमा शुरु भएको दुई दिने मेलाको पहिलो दिन विद्यार्थी तथा अभिभावकले मेला अवलोकन गर्नुका साथै आवश्यक परामर्श लिएको मेला ब्यवस्थापक वान अप इभेन्ट्स एण्ड मिडिया सोलुसनका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाले जानकारी दिए ।

अष्ट्रेलियाका विभिन्न ५ विश्वविद्यालयका प्रतिनिधिहरुको समेत सहभागिता रहेको मेलाको नेपाल अष्ट्रेलिया चेम्बर अफ कमर्शका अध्यक्ष अखिल कुमार चाँपागाईं र एसोसियसन अफ नेपलिज एलोम्नी ग्रुप अष्ट्रेलियाका अध्यक्ष डा. दामोदर प्रसाद पोखरेलले उद्घाटन गरेका थिए । मेलामा तीस वटा स्टल रहेका छन् ।

मेलाबाट विद्यार्थीले अष्ट्रेलियाका विश्वविद्यालय र त्यहाँको शैक्षिक कार्यक्रमबारे पर्याप्त जानकारी पाउने आयोजक नायरका अध्यक्ष तथा प्रोफेशनल एजुकेशन कन्सल्टेन्सिका कार्यकारी निर्देशक एस के श्रेष्ठले बताए ।

मेलामा अष्ट्रेलिया अध्ययनसँग सम्बन्धित विषयवस्तुहरुको बारेमा विद्यार्थीलाई सम्पूर्ण जानकारी दिने उद्देश्य लिइएको छ । अष्ट्रेलियन शिक्षा नीति, भिसा प्रक्रिया, छात्रवृत्ति, विद्यार्थीको स्वास्थ्य बिमा लगायतका विषयमा विद्यार्थीलाई निःशुल्क परामर्श दिइएको मेला आयोजक नायरका कोषाध्यक्ष समेत रहेका मेला संयोजक तथा यूनिक्याम्पसका प्रवन्ध निर्देशक विज्ञान श्रेष्ठले बताए । मेलामा सहभागि विद्यार्थीलाई विशेष सेवाको रुपमा “फ्रि प्रोसेसिङ” को सेवा समेत प्रदान गरिएको उनको भनाई छ ।

नायर, अष्ट्रेलियाका शिक्षण संस्था र अष्ट्रेलियन अध्यागमन विभागसँग नजिक रहेर काम गर्दै आएको संस्था भएकाले यसमा आवद्ध कन्सल्टेन्सी वा परामर्शदाताहरुले दिने सेवा विश्वसनीय र यथार्थपरक हुने गरेको आयोजकको दावी छ ।

प्रतिक्रिया