Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विदेशमा शिक्षा

कन्सल्टेन्सी सञ्चालकको ठगी धन्दा, एक जना पक्राउ

शुक्रबार, ०५ कार्तिक २०७३

काठमाडौं - विभिन्न मुलुक पठाईदिने लोभ देखाएर विभिन्न ब्यक्तिहरुबाट झण्डै साढे २ करोड ठगी गरेको आरोपमा प्रहरीले कन्सल्टेन्सी सञ्चालकलाई पक्रेको छ । रसिया, क्यानडा, युरोप र मकाउ लगायतका देशमा पठाईदिन्छु भन्दै रकम असुल्ने हाईलिंक एजुकेशन कन्सल्टेन्सीका सञ्चालक सोलुखुम्बु तिलङघाट ६ स्थाई घर भई हाल पेप्सिकोला ८ बस्ने ३८ बर्षको नारायण कुमार खड्कालाई प्रहरीले पक्रेको हो ।

ताप्लेजुङ खुम्बु गा.वि.स. ५ का ख्याम बहादुर श्रेष्ठ समेतका व्यक्तिहरुको जाहेरीका आधारमा प्रहरीले श्रेष्ठलाई काभ्रेको बनेपाबाट पक्रेको प्रहरीले जनाएको छ ।

दिल्ली रसियाहुँदै पोर्चुगल पठाउँछु भनि प्रलोभनमा पारी ५ जना व्यक्तिसंग प्रतिव्यक्ति १० लाख ५० हजार उठाएर दिल्ली र रसियामा अलपत्र पारेको प्रहरीले जनाएको छ । यस्तै विभिन्न १४ जना व्यक्तिहरुसंग प्रती व्यक्ति १४ लाख सम्म असुलेर हाल पिडितहरु वैंककमा रहेको, मकाउ पठाउछु भनि प्रति व्यक्ति ४ लाख ५० हजारका दरले ३ जना व्यक्तिहरुलाई  मकाउ पुर्याई अलपत्र पारेको उजुरीको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा अन्य पिडितसंग समेत सम्पर्क गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

खड्काले विगतमा पनि क्यानडा  पठाउछु भन्दै ३२ जना भन्दा बढी मानिसहरुसंग ठुलो रकम असुली ठगी गरेको प्रहरीले जनाएको छ ।  खड्काको कम्प्युटर रेकर्डबाट हालसम्म २ करोड १५ लाख भन्दा बढी रकम ठगी गरेको समेत खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले खड्काबाट विभिन्न १४ जनाको नाममा जारी भएको राहदानी, कन्सल्टेन्सीको छाप, ल्यापटप र विभिन्न १ सय ५० भन्दा बढी व्यक्तिहरुको  फोटो फेला पारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया