Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विदेशमा शिक्षा

नेपाली विद्यार्थीका लागि भारतमा हेल्प डेस्क

आइतबार, ०२ माघ २०७३

गुजरात (भारत) – भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले उच्च शिक्षाकालागि भारत आउने नेपाली विद्यार्थीको बढ्दो संख्यालाई ध्यान दिदैं समस्या समाधानकालागि दुतावासले विद्यार्थी हेल्प चुस्त बनाउने तयारी गरेको बताएका छन् । समय र प्रविधिको उपलब्धतालाई उपयोग गर्दै दुतावासले आफ्नो कामलाइ चुस्त बनाउन लागेको उनले बताए ।  

नेपालबाट भारतमा अध्ययनकालागि आउने नेपाली विद्यार्थीको एकिन तथ्यांक नरहेपनि बार्षिक करिब २५ हजार भन्दा धेरै विद्यार्थी उच्च शिक्षाकालागि भारत आउने गरेको अनुमान छ ।

भारतमा अध्ययन पश्चात नेपाल फर्किएर विभिन्न तहमा समकक्षीताको प्रमाण पत्रको प्रमाणीकरण गर्ने संख्याका आधारमा उक्त संख्या अनुमान गरिएको हो । नेपालको राष्ट्रिय परीक्षा बोर्ड (साविकको उच्च माध्यमिक शिक्षा परिषद्) र त्रिभुवन विश्वविद्यालय शैक्षिक प्रमाण पत्र प्रमाणिकरण गर्ने आधिकारिक निकाय हुन । अन्य देशमा अध्ययन गर्न जान नेपाल सरकारको पूर्व स्वीकृति पत्र (नो–अब्जेक्सन लेटर ) पत्र  आवश्यक रहे पनि भारत अध्ययन गर्न आउने विद्यार्थीलाई त्यो पत्र आवश्यक नपर्ने हुँदा सिधै शैक्षिक संस्थाको सम्पर्कमा नेपाली विद्यार्थी अध्ययनका लागि भारत आउने गरेका छन् । तर कतिपय अवस्थामा नेपाल सरकारको आधिकारिक प्रमाण पत्रको आवश्यक पर्ने गरेकाले उनीहरु समस्यामा पर्ने गरेका छन् ।

अध्ययनकालागि भारत आउने विद्यार्थीकालागि प्रविधि मैत्री सेवा उपलब्ध गराउन लागेको बताए । समकक्षीता प्रमाणीकरण देखि बैंक खाता खोल्ने लगायतका विषयमा भारत आउने विद्यार्थीलाइ समस्या पर्ने गरेको छ । उनीहरुसँग पासपोर्ट वा अन्य आधिकारिक प्रमाणपत्र पनि नहुने गरेकोले पनि समस्या हुने गरेको छ । नेपालको नागरिकताको मान्यता रहेपनि आधिकारिक कार्यलयमा अंग्रेजीमा लेखिएको नेपाल सरकारको आधिकारिक प्रमाणविना नै कतिपय विद्यार्थी अध्ययनका लागि भारत आउने गरेका छन् ।

नेपाली विद्यार्थीका समस्यामा समाधान गर्ने जिम्मेवारी दुतावासको भएको स्वीकार गर्दै उपाध्यायले छुट्टै डेस्क स्थापना गरेर काम गर्ने तयारी गरेको जानकारी गराए । विद्यार्थीले आफुलाइ परेको समस्याका बारेमा ईमेल मात्र गरे पनि पुग्ने बताउँदै उनले दुतावासले समाधानकालागि पहल गर्ने बताए । यहां अध्ययनमा आउँदा कतिपय विद्यार्थीलाई सरकारको आधिकारिक सिफारिश पत्र आवश्यक पर्ने गरेको अनुभव सुनाउँदै त्यसलाई समेत ध्यान दिएर काम गरिरहेको उनको भनाइ छ ।

त्यसकालागि दुतावासले विद्यार्थीको समस्यालाई समाधानका लागि अहिले सम्म गर्दैं आएको शैलीमा परिवर्तन गर्दैं अझै चुस्ताल्याउने मनशायले हेल्प डेस्क खडा गर्न लागेको हो । नेपाली विद्यार्थीलाई आइपर्ने समस्याकाबारेमा दुतावास सचेत रहेको उपाध्ययले जानकारी गराए ।

कक्षा १२ पछिको उच्चशिक्षा अध्ययनका लागि आउने बार्षिक संख्या त्यत्तिकै बृद्धि भैरहेको छ । भारतका निजी विश्वविद्यालय तथा कलेजहरुले नेपालमा शाखा कार्यलय खोलेर पर्याप्त संख्यामा नेपाली विद्यार्थी भित्राउँदै आएका छन् बेलाबखत त्यसरी भित्राएका विद्यार्थीलाई समेत समस्या आउने गरेको छ । ती सबै विषयलाई मध्यनजर राख्दै दुतावासले विद्यार्थी हेल्प डेस्कलाई प्राथमिकतामा राखेर काम गरिरहेको उपाध्यायको भनाई छ ।

विद्यार्थीलाई पर्ने समस्याका बारेमा नेपालमा अध्ययन गरेको आधिकारिक प्रमाण पत्र सहित दुतावासमा सम्पर्क गरेमा समस्या समाधान गर्न दुतावासले सहयोग गर्ने उनले बताए । नेपालको एसएलसी बोर्ड र उच्च माध्यमिक शिक्षा परिषद् एउटै भएको जानकारी गराउँदै राजदूत उपाध्यायले भारतका सबै विश्वविद्यालयमा त्यसको मान्यता रेहेको दाबीसमेत गरे । उनले भने – नेपालमा अध्ययन गरेका विद्यार्थीलाई पर्ने समस्याका बारेमा दुतावास समाधान गर्न सँधै तयार छ । तर बैधानिक संस्थामा अध्ययन गरेको विद्यार्थी हुनु पर्यो । त्यसकालागि आवश्यक प्रमाण सहित आएर आफुलाई परेको समस्याको अवगत दुतावासमा गराउन आवश्यक छ ।

नेपालमा सरकारी मान्यता पाएका संस्थामा अध्ययन गरेका विद्यार्थीलाई शैक्षिक समस्या आएका जिम्मेवारी लिन दूतावास सधै तयारी रहेको उनले बताए । साथै अध्ययनकालागि भारत आउँदा शैक्षिक संस्थाको बैधानिकता बुझेर मात्र आउन उनले आग्रह पनि गरे । खुला सीमाका कारण नेपालबाट भारत अध्ययनकालागि आउने संख्या पर्याप्त रहेपनि नेपाल सरकारको कुनै पनि निकायमा आधिकारिक तथ्यांक छैन । खास पछिल्ला वर्षहरुमा उच्च प्राविधिक शिक्षा अध्ययन गर्न नेपाली विद्यार्थी भारतका निजी शैक्षिक संस्थामा आउने क्रम बढेको छ । भारतका २९ राज्यमा नै नेपाली विद्यार्थी अधययनका लागि आउने गरेको राजदुत उपाध्यायले बताए ।

प्रतिक्रिया