Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विदेशमा शिक्षा

विद्यार्थीलाई आफैप्रति विश्वास जगाउन हेडमाष्टरहरुसँग आग्रह

बुधबार, ०२ चैत्र २०७३

काठमाडौं - मलाला युसुफजईले विद्यार्थीलाई आफैप्रति विश्वास जगाउन लागि सहयोग गर्न हेडमाष्टरहरुसँग आग्रह गरेकी छन् । एसोसिएसन अफ स्कुल एण्ड कलेज लिडर्स (एएससीएल) को सम्मेलनलाई सम्बोधन गर्ने क्रममा युसुफजईले उक्त आग्रह गरेकी हुन् ।

सम्बोधनका क्रममा मलालाले हेड माष्टरहरुलाई भनिन्, 'विद्यार्थीलाई आफैप्रति विश्वास गर्न सहयोग गर्नुपर्छ ।'

१९ वर्षीया युजुफजाइले आफ्नो सफलताको पछाडि सानो बेलामा बाबुबाट पाएको सहयोग उल्लेखनीय भएको उल्लेख गर्दै साना बाबुनानीहरुको पढाइमा सहयोग गर्नुपर्ने जनाइन् ।

‘मैले जुन आवाज बुलन्द गरेँ, जुन आवाजमा विश्वास गरेँ, र त्यसलाई निक्कै गम्भीरतापूर्वक लिएँ, त्यसको पछाडि मलाई मिलेको सहयोग हो,’ उनले भनिन्, ‘अभिभावक र शिक्षकले बालबालिकालाई प्रशंसा गर्नु र उनीहरुले गरिरहेका काममा हौसला दिनु ज्यादै महत्वपूर्ण कुरा हो ।’

विश्वकै सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार विजेताका रुपमा परिचित महिला शिक्षा तथा बालअधिकार अभियन्ता युसुफजईले महिला शिक्षाका विषयमा निरन्तर आवाज उठाएकी छन् । उनी स्वात उपत्यकामा तालिबानहरूले केटीहरूलाई विद्यालय जान प्रतिबन्ध लगाएको समयमा महिला तथा शिक्षाको लागि वकालत गरेका कारण चर्चामा आएकी थिईन् । छद्म नाम प्रयोग गरी बिबिसीको लागि ब्लगिङ्द्वारा तालिबान शासनको अत्याचारको विरोध गर्ने मलाला १३ वर्षको उमेरमा नै स्वातमा रहेका महिलाहरूको नायिका बनिन् ।

उनीमाथि सन् २०१२ को अक्टोबरमा एक तालिवान बन्दुधारीले गोली प्रहार गरेको थियो । त्यसबेला उनको बर्मिङ्घम अस्पतालमा उपचार गराइएको थियो । उनले एड्बास्टन हाई स्कुलमा आफ्नो पढाइलाई निरन्तरता दिएकी थिइन् । उनलाई सन् २०१४ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो । आफूले पढेको विद्यालयका प्रअ, रुथ विक्सले एएससीएल सम्मेलनमा सहभागी हुन दिएको आग्रहलाई नकार्न नसकेको बताउँदै उनले आफ्नो प्रअको आग्रह नकार्न नसकेको जनाइन् ।

सम्मेलनमा सम्बोधन गर्ने क्रममा उनले विद्यालय नजाने बालबालिकाको पक्षमा आफूले आवाज उठाइनै रहने प्रतिवद्धता व्यक्त गरेकी छन् । मलालाको जन्म १९९७ मा पाकिस्तानको खैबर पख्तूनख्वाह प्रान्तको स्वात जिल्लामा भएको हो ।

एजेन्सीको सहयोगमा । फोटो गुगल

प्रतिक्रिया