Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

चिट चोराउन भाडामा शिक्षक, रकम लिएर परीक्षामा पास गराउने जिम्मा

शुक्रबार, ०९ असार २०७४

रौतहट - शिक्षकले कक्षा कोठामा पढाउने मात्रै काम गर्दैनन्, परीक्षाका बेला विद्यार्थीलाई चिट चोराउने जिम्मा पनि लिन्छन् । उनीहरुले यो जिम्मेवारी लिएसँगै यस वर्ष लिइएको कक्षा १२ र जारी कक्षा ११ को परीक्षामा अधिकांश परीक्षार्थीले मोबाइल प्रयोग गरी चोरी गर्दै आएका छन् ।

केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र अनुगमनमा खटिएका कर्मचारीहरुले यो कृयाकलाप देखेर पनि नदेखेको जस्तो गर्दै आएका छन् ।

परीक्षार्थीसंग मोटो रकम लिएर परीक्षामा पास गराउने जिम्मा लिएका शिक्षा माफियाले भाडामा ल्याएका विषय शिक्षकलाई परीक्षा केन्द्र बाहिर गोप्य स्थानमा नेट चल्ने मोबाइल र गाइड तथा गेस पेपरका साथ राख्छन् ।    केन्द्राध्यक्ष तथा सहायक केन्द्राध्यक्षसंगको तालमेलमा परीक्षार्थीको गाइड, गेसपेपर तथा मोबाइल केन्द्र भित्रै छिराउने गरेका छन् ।  

प्रश्न पत्र पाउनासाथ परीक्षार्थीले त्यसको फोटो खिचेर म्यासेन्जर मार्फत बाहिर बसेका भाडाका शिक्षकलाई पठाउँछन् ।

'ती शिक्षकले प्रश्नको उत्तर गाइड तथा गेस पेपरमा खोजी पेज नम्बर म्यासेज गर्छन् वा उत्तर लेखि फोटो खिचेर म्यासेन्जरमा पठाउँछन्' श्रोतले भन्यो, 'यसरी परीक्षार्थीले मोबाइलबाटै सबै प्रश्नको उत्तर पाउँछन् र लेख्छन् ।'

मोबाइल प्रयोग गरी व्यापकरुपमा चोरी हुँदा समेत अनुगनम गर्ने निकायले चोरी नियन्त्रण गर्न सक्रियता देखाएको छैन । परीक्षा अबधीभर आकल झुकल मात्रै परीक्षा केन्द्र पुग्ने अनुगमनकारीले एउटा केन्द्रमा बढीमा १० मिनेट मात्रै समय दिने गरेको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्ड तथा जिल्ला शिक्षा कार्यालयले समेत कक्षा १२ र ११ को परीक्षामा खासै चोसो देखाएका छैनन् । जिल्लाको भित्री भागमा सञ्चालित परीक्षा केन्द्रमा त एक पटक पनि अनुगमन नभएको अभिभावक बताउँछन् ।

केन्द्राध्यक्ष उत्तर पुस्तिकामा हस्ताक्षर गर्न बाहेक दोह¥याएर परीक्षा कक्षमा जाँदैनन् । कसै कसैले त परीक्षा पछि मात्रै उत्तरपुस्तिकामा हस्ताक्षर गर्ने गरेको पनि पाइएको छ ।

'केन्द्राध्यक्षको यस्तो कृयाकलाप परीक्षार्थीलाई चोर्न सघाउनु हो' चपुरका सूर्य थापा भन्छन्, 'यो सबै कृयाकलापमा मिलेमतो छ, कस्लाई पो गुनासो गर्नु र ?'

शिक्षक तथा केन्द्र सञ्चालक नै चोरी गराउन संलग्न हुनु विडम्बना भएको गौरका शिक्षा प्रेमी गौतम श्रेष्ठ बताउँछन् ।

'जिल्लाको शैक्षिक स्तर खस्केको भन्दै चिन्ता त गर्छौ तर, यस्ता कृयाकलापले कसरी स्तर बढाउला ?' उनको प्रश्न छ ।

प्रतिक्रिया