Edukhabar
शनिबार, २२ बैशाख २०८१
गतिविधि

शिक्षक महासंघको महाधिवेशन शुरु नहुँदै बिवादमा, स्थगनको माग

२०७४ सालमै महाधिवेशन गर्नु पर्ने भए पनि आन्तरिक किचलो व्यवस्थापन गर्न महासंघ नेतृत्व र आवद्ध घटकका नेतृत्व अक्षम हुँदा नयाँ नेतृत्व चयन प्रकृया अवरुद्ध हुँदै आएको छ ।

आइतबार, ०९ बैशाख २०८१

काठमाडौं - तोकिएको समय बितेको छ बर्ष पछि महाधिवेशन मार्फत् नयाँ नेतृत्व चयनको प्रकृया अन्तिम चरणमा पुग्दा नेपाल शिक्षक महासंघमा बिवाद शुरु भएको छ । २०७४ सालमै महाधिवेशन गर्नु पर्ने भए पनि आन्तरिक किचलो व्यवस्थापन गर्न महासंघ नेतृत्व र आवद्ध घटकका नेतृत्व अक्षम हुँदा नयाँ नेतृत्व चयन प्रकृया अवरुद्ध हुँदै आएको छ । 

यस पटक सोमबार महाधिवेशन गर्ने तय भए पनि महासंघको एक घटक नेपाल राष्ट्रिय शिक्षक संगठनले महाधिवेशन स्थगन गर्नु पर्ने माग अघि सारेको छ । सहमती, सहकार्य र एकताको मर्म विपरित वैधानिक व्यवस्था प्रतिकुल हुने गरी महाधिवेशन गर्न लागिएको उसको तर्क छ । त्यसैले महाधिवेशन स्थगन गर्न महासंघलाई औपचारिक पत्राचार गरेको संगठनले जनाएको छ । विभिन्न जिल्लामा अधिवेशन बाँकी नै रहेकाले समस्या समाधान गरेर एक दुई साता पछि गर्न आफूहरुले सुझाव दिए पनि महासंघ नेतृत्वले सुनुवाई नगरेको संगठनका नेताहरुको आरोप छ । सहमती गरेर अघि बढौं भन्दा पनि सुनुवाई नभए पछि महाधिवेशन नै वहिष्कार गर्ने ठाउँमा पुगेको महासंघका उपाध्यक्ष समेत रहेका संगठनका नेता तिलक कुवँरले बताए । 

'विवाद समाधनका लागि सहमती गरेर अघि बढ्न संगठनको राष्ट्रिय समितिको आपतकालिन बैठकले निर्णय गरेको विषय संगठनका अध्यक्षले महासंघको बैठकमा जानकारी गराउँदा पनि सुनुवाई नभए पछि हामी महाधिवेशन नै वहिष्कार गर्ने निष्कर्शमा पुगेका छौं' उनले भने, 'विधि प्रकृयाको कुरा नसुन्ने शैलीले महासंघको नेतृत्व प्रति समग्र शिक्षकहरुको विश्वास बाँकी रहेन ।' 

महासंघको बैठकमा संगठनका अध्यक्ष विष्णु भण्डारीले उठेका विवाद समाधान गरी महाधिवेशन केही पछि सार्न आफ्नो संगठनले गरेको निर्णय सुनाएका थिए । तर, महासंघका महासचिव लक्ष्मिकिशोर सुवेदीले तोकिएको समयमा महाधिवेन गर्ने गरी प्रकृया अघि बढेको बताए । 

'हामी महाधिवेशन उद्घाटन समारोहको अन्तिम तयारीमा छौं, के कस्ता असहमती छन् महाधिवेशनको हलबाटै समाधान गर्छौं' उनले भने । 

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले  महाधिवेशनको उद्घाटन गर्ने तय भएको छ ।  

शिक्षकको दलीय संलग्नताका कारण सामुदायिक विद्यालयको गुणस्तर खस्केको निष्कर्श सहित शिक्षा ऐनमा महासंघको अवधारणा समेटिएको थियो । शिक्षकको पेशागत वृत्ति विकास र राज्यसँग गर्नु पर्ने लविगंका लागि महासंघ मार्फत् कार्य गर्ने गरी ऐनमा व्यवस्था गरिएको थियो । सोही व्यवस्था अनुसार विभिन्न राजनीतिक दल आवद्ध शिक्षकका १४ वटा संगठनहरु मिलेर महासंघ बनाईएको थियो । 

नेपाली काँग्रेस निकट शिक्षक संघका नेता केशव निरौलाको अध्यक्षतामा २०७१ सालमा महासंघको तदर्थ समिति गठन भएको थियो । २०७४ सालमा महाधिवेशन गर्नु पर्ने भए पनि विभिन्न घटकहरुको असहमतीका कारण अझै सम्म महाधिवेशन हुन सकेको छैन । आफ्नो कार्यकाल लम्ब्याउन नेतृत्वको स्वार्थका कारण अधिवेशन हुन नसकेको आरोप लाग्दै आएको छ । 

विभिन्न संगठनका तर्फबाट अध्यक्ष हुने परिपाटिका कारण निरौला पछि संगठनबाट बाबुराम थापा अध्यक्ष भएका थिए । अध्यक्ष हुँदा नै उनी उमेर हदका कारण शिक्षणबाट सेवा निवृत्त भएका थिए । उनी सेवा निवृत्त भए पनि अध्यक्ष नछाडे पछि विवाद भएको थियो । उक्त विवाद समाधान भए पछि अहिले महासंघको अध्यक्ष कमला तुलाधर छन् ।  

प्रतिक्रिया