Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

सामाजिक परिचालकको दुखेसो, ‘तलबै दिएन’

आइतबार, ११ असार २०७४

भक्तपुर– ‘बिहान घरायसी काम गर्ने, साढे नौ बजे स्कुल पुग्ने, १ बजेसम्म स्कुलमा पढाउने र त्यसपछि अर्थात् साढे १ बजेदेखि ५ बजेसम्म सामुदायिक अध्ययन केन्द्रमा बस्ने, पत्रपत्रिका मिलाउने, पढ्ने, केन्द्रकै केही काम गर्ने, सूचना दिने, अध्ययन केन्द्रमा आएकालाई स्वागत गर्ने, सरसफाइ गर्ने र त्यसपछि टोलमा गएर सो टोलका निरक्षरलाई पढाउने’ अम्बिका परियारको दैनिकी हो ।
थालकमठकी परियार भक्तपुरको चाँगुनारायण नपा वडा नं. ८ सुडालमा रहेको मिर्मिरे सामुदायिक अध्ययन केन्द्र(सिएलसी)की सामाजिक परिचालक हुन् । सामाजिक परिचलक भएको नाताले उनले केन्द्रको रेखदेखदेखि नियमित काम त गर्नैपर्छ, त्यो बाहेक उनले जिल्ला शिक्षा कार्यालयले सञ्चालन गर्न दिएको निरन्तर कक्षा पनि लिनुपर्छ । सोही अनुसार उनले आफूलाई व्यस्त बनाइरहेकी छन् एक वर्षबाट ।
उनको एक वर्ष माथिकै दैनिकीजस्तै बितिरहेको छ । त्यसरी दैनिकी बिते पनि उनी भने निराश छिन् । ‘सिएलसीको कामबाट म दिक्क भएँ ।’ उनले भनिन् । यसको कारणबारे उनी थप्छिन्, ‘काम मात्र भो, तलब अहिलेसम्म पाएको छैन, घरमा सबै कराउन थालिसके ।’
दिउँसो साढे १ बजेभन्दा अघि उनी सुडालकै बाल्मिकेश्वर आधारभूत विद्यालयमा पढाउँछिन्, निजी स्रोतमा । त्यहाँबाट आएको केही रुपैंया नहुँदो हो त उनलाई परिवार चलाउन निक्कै गा¥हो हुने उनी बताउँछिन् । ‘सुरुमा महिना–महिनामा तलब दिन्छु भनेर मलाई राखे, अहिले एक वर्ष बितिसक्दा पनि तलब दिएको छैन ।’ उनले गुनासो गरिन् ।
उनले गत वर्षदेखि सामाजिक परिचालिकालाई सरकारले मासिक रुपमा ६ हजार दिने निर्णयसँगै आफूले तलब नपाएको पनि बताइन् । ‘बरु, महिनाको दुई हजार हुँदा महिना–महिनामा पाउँथे, तलब बढेदेखि अहिलेसम्म पाएको छैन,’ उनले भनिन्, ‘तलब चाहियो भनेर अध्यक्षलाई भन्दा अध्यक्षले जिल्ला शिक्षा कार्यालयले नै दिएको छैन भनेर पन्छिएका छन् ।’
सो सिएलसीका अध्यक्ष सुवास तिमिल्सिना हुन् । सामाजिक परिचालक परियारले अध्यक्षले तलब खुवाउन वास्ता नगर्दा आफू तलबबाट बञ्चित भएको बताए । यता जिल्ला शिक्षा कार्यालयका योजना प्रमुख यमुना पोखरेलले भने सिएलसीका परिचालिकाको मासिक तलब छोडिसेकेको जानकारी दिइन् । योजना प्रमुख पोखरेल र सो क्षेत्रमा स्रोतव्यक्ति मञ्जु झाले तलब नपाएको बारेमा गुनासो नआएको बताउँदै जिशिकाबाट गएको तलब कहाँ पुग्यो ? भन्ने विषयमा खोजी गर्ने बताइन् ।
‘जिशिकाबाट तलब गइसकेको छ, सामाजिक परिचालकले नपाएको सन्दर्भमा अध्यक्षसँग सोधखोज गर्छौं ।’ स्रोतव्यक्ति झाले भनिन् । सिएलसीका कोषाध्यक्ष हरिराम दंगालले सिएलसीको बैठक नबसेकै ६/७ महिना भैसकेको जानकारी दिँदै कर्मचारीले तलब नपाएको विषय आफूलाई थाहा नभएको बताए । उनले अध्यक्षकै वेवास्ताको कारण बैठक नबसेको र कर्मचारीेले तलब नपाएको हुनसक्ने बताए ।

 

प्रतिक्रिया