Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

शैक्षिक विकासमा योगदान पुर्याएको कदर स्वरुप एडुखबर पुरस्कृत

शुक्रबार, ०२ भदौ २०७४

काठमाडौं - यस बर्षको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार एडुखबर डटकमलाई प्रदान गरिएको छ । शिक्षा मन्त्री गोपालमान श्रेष्ठले एडुखबर डटकमका सम्पादक श्रीघर पौडेललाई उक्त पुरस्कार प्रदान गरे ।

'नेपालको शैक्षिक विकासका लागि अनलाईन माध्यमका तर्फबाट एडुखबर डटकमले पुर्याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको' प्रमाणपत्रमा उल्लेख छ ।  

शिक्षा विभाग र नेपाल पत्रकार महासंघको सहकार्यमा विगत १३ बर्ष देखि सञ्चालित उक्त पुरस्कारमा यसै वर्षदेखि अनलाईन तर्फको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार प्रदान गर्न शुरु गरिएको हो ।  पुरस्कारको राशी ४० हजार रुपैंया छ । राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने उक्त पुरस्कार पत्रपत्रिकातर्फ सुनसरीबाट प्रकाशित हुँदै आएको ब्लाष्ट दैनिक  टेलिभिजनतर्फ कान्तिपुर टेलिभिजनलाई प्रदान गरिएको छ ।

यसैविच रु. ७५ हजार राशीको ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ कान्तिपुर दैनिकका पाल्पा सम्बाददाता माधव अर्याल र अन्नपूर्ण पोष्ट दैनिकका बाँके सम्बाददाता सुरेन्द्र काफ्लेलाई संयुक्तरुपमा प्रदान गरिएको छ ।

पुरस्कार प्रदान गर्दै शिक्षा मन्त्री श्रेष्ठले शिक्षा विकामा शिक्षा पत्रकार र सञ्चार क्षेत्रको भूमिकाको चर्चा गरेका थिए । कार्यक्रममा मन्त्री श्रेष्ठले पत्रकार तथा सञ्चार प्रतिष्ठानलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरेका थिए ।

महासंघ र विभागद्वारा गठित मूल्याङ्कन तथा छनौट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठकले पुरस्कृत पत्रकार तथा सञ्चार प्रतिष्ठानको चयन गरेको थियो ।
सो अनुसार ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशलाई प्रदान गरिने रु ३० हजार राशीको प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७३’  प्रदेश नम्बर १ बाट सरिता राई (रासस–भोजपुर) र भीम चापागाई (नागरिक दैनिक–इलाम), प्रदेश नम्बर २ बाट उपेन्द्र ठाकुर (कान्तिपुर टिभी–पर्सा) र महेशकुमार दास (नागरिक दैनिक–महोत्तरी), प्रदेश नम्बर ३ बाट गिरिजा अधिकारी (तुखवर डटकम–मकवानपुर) र विमल खतिवडा (कान्तिपुर दैनिक–चितवन) र प्रदेश नम्बर ४ बाट लालप्रसाद शर्मा (कान्तिपुर दैनिक–पर्वत) र अमरराज नहर्की (गोरखापत्र–तनहुँ) लाई संयुक्तरूपमा प्रदान गरिएको छ । प्रदेश नम्बर ५ बाट चुरामणि पोखरेल (अन्नपूर्ण पोष्ट–रुपन्देही) र प्रदेश नम्बर ६ वाट संयुक्तरूपमा प्रकाश अधिकारी (कान्तिपुर दैनिक–सुर्खेत) र  ललितबहादुर बुढा (अन्नपूर्ण पोष्ट दैनिक–सुर्खेत), प्रदेश नम्बर ७ बाट डिलबहादुर सिंह (गोरखापत्र–डोटी) र तेजराज भट्ट (नयाँपत्रिका–कैलाली) र काठमाडौं उपत्यकाबाट गोपाल संग्रौला (कारोबार दैनिक–भक्तपुर), शरदकुमार शर्मा (रासस–काठमाडौं) र विनोद घिमिरे (द काठमाडौं पोष्ट–काठमाडौं) लाई प्रदान गरिएको छ ।

७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशअन्तर्गत प्रत्येक प्रदेशबाट २ जना पत्रकारलाई प्रदान गरिने रु. २० हजार राशीको ‘शिक्षा लेखनवृत्ति–२०७३’ क्रमशः प्रदेश नम्बर १ बाट विद्या राई (कान्तिपुर दैनिक–भोजपुर), अवतार राई (चोमोलुङमा रेडियो–भोजपुर) र दमन राई (नागरिक दैनिक–खोटाङ) लाई संयुक्तरूपमा प्रदान गरिएको छ ।

प्रदेश नम्बर २ बाट भोला पासवान (कन्चनरुपमा सा–सप्तरी) र राकेशप्रसाद चौधरी (भूमि सा.–महोत्तरी), प्रदेश नम्बर ३– तिलक अधिकारी  (थाहदर्शन सा.–मकवानपुर) र शर्मिला बुढाथोकी (रेडियो सैलुङ–दोलखा), प्रदेश नम्बर ४– पवन पौडेल (दमौली एफएम–तनुहँ), प्रतिक्षा काफ्ले –कान्तिपुर दैनिक–स्याङ्जा), प्रदेश नम्बर ५ बाट कृष्ण दर्नाल (रासस–पाल्पा), खगप्रसाद चापागाई (बुटवल टुडे–कपिलवस्तु),  प्रदेश नम्बर ६ बाट संयुक्तरूपमा दीपेन्द्र शर्मा (नेपाल समाचारपत्र दैनिक–जाजरकोट), मेघराज खड्का (रेडियो नेपाल–रुकुम) र प्रवीर ददेल (रुकुम) लाई प्रदान गरिने भएको छ । बैठकले प्रदेश नम्बर ७ बाट नरी बडू (बैतडी) र दुर्गा देवकोटा (सामुदायिक रेडियो–कैलाली) र काठमाडौंबाट प्रज्ञा तिम्सिना (इमेज च्यानल टिभी–काठमाडौं) र सञ्जिप घिमिरे (ननस्टप खवर डटकम–काठमाडौं) लाई प्रदान गरिएको छ ।

त्यस्तै उपत्यकासहित ८ प्रदेशका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ तर्फ प्रदेश नम्बर १ बाट रेडियो इलाम (इलाम), प्रदेश नम्बर २ बाट  रेडियो सलहेस एफएम (सिरहा), प्रदेश नम्बर ३ रेडियो नवबुद्ध एफएम (काभ्रे), प्रदेश ४ बाट संयुक्तरूपमा सामुदायिक रेडियो परिवर्तन (बाग्लुङ) र रेडियो चौतारी (लमजुङ) लाई प्रदान गरिएको छ । प्रदेश ५ बाट रेडियो प्रतिबोध (बाँके), प्रदेश ६ बाट रेडियो ध्रुवतार (दैलेख), प्रदेश ७ बाट संयुक्तरूपमा रेडियो बाजुरा (बाजुरा)र रेडियो महाकाली (कन्चनपुर) र काठमाडौं उपत्यकाबाट रेडियो थाहा सञ्चार (काठमाडौं) लाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी रु. २५ हजार छ ।

समारोहमा महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट र विभागका महानिर्देशक बाबुराम पौडेलले पुरस्कृत पत्रकार तथा सञ्चार प्रतिष्ठानलाई शुभकामना ब्यक्त गर्दै शैक्षिक विकासमा थप योगदान गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया