Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

३९ औं मनाएको ३६ दिनमा १६६ औं शिक्षा दिवस !

आइतबार, २८ असोज २०७५

काठमाडौं - ३९ औं शिक्षा दिवस मनाएको ३६ दिनमा एक समूहले शनिवार १६६ औं शिक्षा दिवस मनाएको छ !

गत भदौ २३ गते अर्थात् सेप्टेम्बर ८ तारिखका दिन परेको ५२ औं अन्तराष्ट्रिय साक्षरता दिवसका दिन मनाईएको ३९ औं राष्ट्रिय शिक्षा दिवस  'नेपालको इतिहासको उपेक्षा र उपहास' भएको भन्दै शनिबार मनाईएको हो । नेपालमा पहिलो औपचारिक विद्यालय दरबार हाइस्कूल स्थापना भएको ऐतिहासिक दिनको अवसरलाई शिक्षा दिवसका रुपमा मनाउन माग गर्दै आएको पुनरुत्थानवादी समूहले १६६ औँ शिक्षा दिवस मनाएको हो । 

भुकम्पका कारण भत्केपछि चीन सरकारको सहयोगमा नयाँ भवन निर्माणको काम चलिरहेको विद्यालय हाता भित्र एक समारोह गरी उक्त समूहले शिक्षा दिवस मनाएको हो । जंगबहादुर राणाले वि.सं. १९१० असोज २७ गते नेपालमा पहिलो औपचारिक विद्यालय दरबार हाइस्कूल स्थापना गरेका थिए । सोही ऐतिहासिक दिनलाई दिवसका रुपमा मनाएर नेपालको आफ्नै अस्तित्व तथा स्वामित्व भएको शिक्षा दिवसलाई स्थापित गर्ने अभियान जारी राखेको उक्त समूहकी सदस्य तथा दिवस आयोजनाका लागि गठित समितिकी संयोजक तारा बरालले बताईन् । 

दिवसलाई अन्तराष्ट्रिय साक्षरता दिवसमा गाभ्नुले नेपाली शिक्षा दिवसलाई छायाँमा पारेकोले पनि औपचारिक शिक्षा सुरु गर्ने नेपालकै पहिलो औपचारिक विद्यालय दरबार हाइ स्कूल स्थापना भएकै दिन दिवस मनाउन समारोह आयोजना गरिएको उनले बताईन् । 

कार्यक्रममा शिक्षकहरुका विभिन्न मुद्धामा बहस गर्दै आएका सोही समूहका अधिवक्ता कोष राज काफ्लेले यो दिनलाई शिक्षा दिवसका रुपमा मनाउन बौद्धिक, ऐतिहासिक तथा कानुनी हिसाबले समेत उपयुक्त भएको तर्क गरेका थिए । 

'नेपालमा अँग्रेजी शिक्षा प्रदान गर्न औपचारिक विद्यालयको स्थापना गर्ने दिन मात्रै हैन, छरिएर रहेका कानुन लाई एकिकृत र संहितावद्ध गरी इतिहासमा पहिलो पटक मुलुकी ऐन १९१० जारी गरेर जंगबहादुर राणाले गरेको योगदान स्मरण गर्नु आवश्यक रहेकोले पनि यहि दिन शिक्षा दिवस बनाउन उपयुक्त छ' उनले भने । 

समूहका अर्का नेता शरद कुमार मिश्रले नेपाल भारत बीचको असमान सुगौली सन्धीको कारण गुमेका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर लाई जँगबहादुर राणाकै पहलमा फिर्ता गरिएको स्मरण गर्दै अन्य सामुदायिक विद्यालयहरुका हिनामिना भएको जग्गाको संरक्षणमा समुह कृयाशिल रहने प्रतिवद्धता जनाए । 

 

प्रतिक्रिया