Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

अस्थायी शिक्षकको अन्तर्वार्ता रोकी कापी परिक्षण गर्न सर्वोच्चको आदेश

मंगलबार, ०८ माघ २०७५

काठमाडौं - तल्लो तहमा स्थायी भईसकेका अस्थायी शिक्षकले माथिल्लो तहमा दिएको परीक्षा  अमान्य भन्दै शिक्षक सेवा आयोगले गरेको निर्णय स्थगित गरी उनीहरुको कापी परीक्षण गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । माध्यमिक तहको अन्तर्वार्ता शुरु हुनु दुई दिन अघि अदालतको उक्त फैसला आएको हो । आयोगले माविको अन्तर्वार्ता आउँदो बिहीबारबाट शुरु गर्दै छ । 

मंगलबार सर्वोच्चका न्यायाधिस केदार प्रसाद चालिसे र अनिल कुमार सिन्हाको ईजलासले उक्त आदेश दिएको हो । 

आयोगले विज्ञापन खोल्दा र परीक्षा लिदाँ अस्थायी रहेका मध्ये केही शिक्षक त्यहि बीचमा खुलेको खुल्ला विज्ञापनमा सहभागी भएर निमावि तहमा स्थायी भएका थिए । उनीहरुले माध्यमिक तहको अस्थायी शिक्षकको परीक्षामा जनाएको सहभागितालाई आयोगले अमान्य भन्दै कापी परीक्षण रोकेको थियो । एक तहमा स्थायी भएको शिक्षकले परीक्षा दिन नपाउने भन्दै गत साउन १६ गते आयोगले सूचना जारी गरेको थियो ।

'नि.मा.वि. स्थायी भएका शिक्षकहरु २०७५/०३/२९ मा सम्पन्न कार्यरत शिक्षकहरुको परीक्षामा सम्मलित भएका भनी आयोग समक्ष पर्न आएको उजुरी अनुसार निवेदकहरुको परीक्षा रद्द गरिएको’ आयोगले सूचना जारी गरेपछि सोलुखुम्बुका शिक्षक मदन राई सहित ८ जनाले साउन २५ गते मुद्दा दायर गरेका थिए । 

मंगलबार भएको सुनुवाईमा बरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेल, बरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का र अधिवक्ता अपूर्व खतिवडाले बहस गरेका थिए । मंगलबार कार्यालय समय सकिएकाले अदालतले गरेको उक्त अन्तिम फैसलाको आदेश बुधबार मात्रै लिखित रुपमा प्राप्त गर्न सकिने अधिवक्ता खतिवडाले जानकारी दिए । 

अदालतको आदेश पछि एडुखबरसँग कुरा गर्दै शिक्षक राईले आफूहरुलाई न्याय मिलेको प्रतिकृया दिए । 

उक्त विषयका बारेमा विस्तृत जानकारीका लागि यो आलेख पढ्नुहोस् : शिक्षक सेवा आयोगको विभेदपुर्ण कार्य

प्रतिक्रिया