Edukhabar
विहीबार, २७ बैशाख २०८१
गतिविधि

मन्त्रीको आरोप : शिक्षकका स्वार्थका कारण नियमावलीमा ढिलाइ

विहीबार, १६ मंसिर २०७३

काठमाडौं - शिक्षामन्त्री धनिराम पौडेलले शिक्षकहरुकै स्वार्थका कारण शिक्षा नियमावलीमा ढिलाइ भएको आरोप लगाएका छन् । उनले अस्थायी शिक्षकको समस्या समाधानका लागि सरकारले पहल गरे पनि विभिन्न समयमा अस्थायी भएका र विभिन्न दलनिकट संगठनमा आवद्ध शिक्षकहरुको आआफ्नै स्वार्थका कारण अस्थायी शिक्षकका समस्या समाधानमा ढिलाइ भएको बताएका हुन् ।

नेपाल शिक्षक महासंघको विधान अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले विभिन्न तहगत रुपमा रहेका शिक्षकहरुको फरक फरक स्वार्थको चेपुवामा पर्दा मन्त्रालयले निर्धारण गरेको समयसीमामा नियमावली आउन नसकेको दावी गरे । शिक्षकहरुले आफ्ना हक, अधिकारका विषयमा मात्र कुरा गर्ने तर समग्र शिक्षालाई बिर्सेकोमा महासंघप्रति नै उनले गुनासो गरे ।

शिक्षामन्त्री पौडेलले नियमावलीलाई अन्तिम रुप दिने प्रक्रिया अन्तर्गत अहिले अर्थ मन्त्रालयमा पुगेको बताए । उक्त नियमावलीको मस्यौदा सुधारका लागि विभिन्न पक्षबाट आएका सकारात्मक सुझावलाई समेटिएको जानकारी दिँदै उनले अस्थायी शिक्षक समस्या समाधानका लागि ऐनले विकल्प खुलाएको दोहो¥याए ।

उनले आठ वर्ष अघि नै आउनुपर्ने ऐन ढिला हुँदा र आफूले शिक्षामन्त्रीको पद सम्हाले लगत्तै आफूमाथि शिक्षक तथा विभिन्न तह र तप्काबाट नकारात्मक सोच राख्न थालेको विषयलाई इंगित गर्दै आफूले मात्र नभएर संसदमा प्रतिनीधित्व गर्ने सबै दलका प्रतिनीधिहरुको सहभागिता र सहमतिमा शिक्षा ऐन आएको उल्लेख गरे ।

उनले शिक्षा ऐनले नै सर्वसहमतिमा अस्थायी शिक्षक समस्या समाधानका लागि विकल्प दिएकोले नियमावली आएपछि भने अस्थायी शिक्षकको समस्या समाधानको बाटो खुल्ने पनि बताए । ‘अस्थायी शिक्षक समस्या समाधानका लागि २० वर्षअघि नै एउटा प्रणालीमा गएको भए समस्या समाधान भइसक्थ्यो’ ऐनले अस्थायी शिक्षकलाई परीक्षा कि गोल्डेन ह्याण्डसेक भन्ने विकल्पलाई प्रणालीको संज्ञा दिँदै उनले भने, ‘सोही प्रणाली मार्फत अस्थायी शिक्षकका समस्या समाधानका लागि ऐनले कानूनी व्यवस्था गरेको छ, उक्त ऐन सबै राजनीतिक दलको सहमतिमा आएको हो ।’

उनले राज्यको मूलधारको रुपमा रहेको शिक्षक महासंघलाई शिक्षकहरुलाई हक र अधिकारबारे मात्र जानकारी नदिई उनीहरुका कर्तव्य  र जिम्मेवारीलाई पनि बोध गराउनका लागि पहल गर्नुपर्ने आवश्यकता औंल्याउँदै बढिरहेको शैक्षिक समस्या समाधानको चुनौती पनि शिक्षकहरुको काँधमा आएको उनले जनाए ।

उनले शिक्षकहरुको हक सुनिश्चित गर्नका लागि आफू प्रतिवद्ध रहेको पनि बताए ।

सो अवसरमा नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले नेपालको शिक्षा बिग्रनुको कारणमा राजनीति नै मुख्य कारण भएको बताए । उनले अस्थायी शिक्षकहरुका समस्यालाई एकैपटक समाधान गर्ने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपा माआवादी केन्द्रका नेता मोहन कार्की, नेपाली काँग्रेसका नेता प्रदिप पौडेललगायतले शिक्षाका समस्या भाषणमा नभएर व्यवहारमै समाधान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा महासंघका महासचिव तिलक कुँवर, सहअध्यक्ष रत्न ओली, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापा लगायतले शिक्षा र शिक्षकका समस्या, चुनौतीका बारेमा बोलेका थिए । महासंघका अध्यक्ष केशब निरौलाले शिक्षा ऐन शिक्षकहरुको अपेक्षाविपरीत आएकोप्रति गुनासो गरेका थिए ।

अधिवेशनमा २९ जिल्लाबाट १ सय ४५ जना तथा महासंघका ४६ जना केन्द्रीय पदाधिकारीहरुको सहभागिता रहेको महासचिव कुँवरले जानकारी दिए । अधिवेशन शुक्रबार सम्म चल्नेछ ।

प्रतिक्रिया