Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

उधारो सहमतिपछि खुल्यो परीक्षा बोर्डको ताला

मंगलबार, ०४ माघ २०७३

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डमा विगत ३१ दिनदेखि लागेको ताला आज खुलेको छ । परीक्षा बोर्ड गठन भएको ७ महिना बितिसक्दा पनि बोर्डको अध्यक्ष नियुक्त हुन नसेको बेला लोकतान्त्रिक प्राध्यापक संघले गत पुस ३ गतेबाट लगाएको अनिश्चितकालीन तालाबन्दी आज खोलेको हो ।

तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) निकटको प्राध्यापक संघले विभिन्न पाँचवुंदे मागसम्बन्धमा बोर्ड सकारात्मक भएकोले ताला खोलिएको अध्यक्ष डा. उदय तिवारीले जानकारी दिए ।

उनले केही दिन अघि बोर्डका सदस्य सचिवमा डिल्ली रिमाल आएपछि आफूहरुले राख्दै आएको मागका सन्दर्भमा सकारात्मक भएको बताउँदै माग कसरी सम्बोधन गर्ने भन्ने विषयमा भने शुक्रबार बस्ने बोर्ड बैठकले निर्णय गर्ने बताए ।

बोर्ड बैठकबाट मागहरुसम्बन्धमा निर्णय गराउने र माग पूरा गराउने विषयमा सहमति भएपछि ताला खोलिएको हो । यसले सदस्य सचिव रिमालललाई काम गर्न मार्ग प्रशस्त पनि गरेको छ ।’ वार्तामा सहभागी एकजनाले भने । उनले संघ, र बोर्डका पदाधिकारीहरुबीच त्यसरी सहमति भए पनि उधारो सहमति भएको उल्लेख गरे ।

बोर्डले पुस १ गतेदेखि लागू हुने गरी बोर्डमा कार्यरत कर्मचारीहरुमध्ये नीति तथा कार्यक्रमका उदयकुमार कर्ण र ब्रजेशकुमार झा तथा जिआइएस शाखाका नारायण पोख्रेललाई हटाउने निर्णय गरेपछि प्राध्यापक संघ आन्दोलित भएको अध्यक्ष तिवारीको भनाइ छ । संघले सदस्य सचिव, प्रशासन महाशाखाका सहसचिव दुर्गाप्रसाद अर्याल र सामान्य प्रशासनका रमाकान्त तिवारीको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।
आन्दोलनरत संघसँग सदस्यसचिव रिमाल, प्रशासन महाशाखाका प्रमुख अर्याल एमाले निकट राष्ट्रिय कर्मचारी संघ उमावि शाखाका नरेन्द्र ढकाल, राष्ट्रिय कर्मचारी संगठनका प्रमुख प्रकाश अर्यालबीच माघ ३ गते तीन पटक र माघ ४ गतेको बैठकबाट आफूहरुको मागप्रति सकारात्मक भएपछि ताला खोलिएको स्रोतको भनाइ छ ।

संघले संंसोधित शिक्षा ऐन २०७३ अनुसार कर्मचारी व्यवस्थापनको सन्दर्भमा उच्च माध्यमिक शिक्षा परिषद्मा कम्तीमा १ वर्षदेखि निरन्तर अस्थायी सेवा गरिरहेको सम्पूर्ण कर्मचारीहरुलाई एकपल्टको लागि आन्तरिक प्रतिस्पर्धामा सामेल गराइने तथा सो प्रतियोगितामा भाग लिन नचाहने कर्मचारीहरुको हकमा उचित रकम प्रदान गर्ने भन्ने व्यवस्था भएको हुँदा सो प्रावधानविपरीत विभेदपूर्ण तथा बद्नियतपूर्ण तरिकाले परीक्षा बोर्डका ३ जना कर्मचारीलाई विस्थापित गरिएको भन्दै तालाबन्दी गरेको थियो ।

संघले लामो समयदेखि बोर्डमा कार्यरत कर्मचारीहरुको म्याद सकिएको मितिदेखि लागू हुने गरी म्याद नवीकरण गरी पुनर्बबहाली गर्नुपर्ने, लोकतान्त्रिक प्राध्यापक संघसँग विगतमा भएका सम्झौला पालना गर्नुपर्ने, बोर्डमा कार्यरत अस्थायी अन्तर्गतका अस्थायी, करार, मासिक ज्यालादारीका कर्मचारीहरुलाई तुरुन्त स्थायीको प्रक्रियामा लग्नुपर्ने, करारमा कार्यरत कर्मचारीहरुको विगत ४ महिनाको बाँकी रहेको पारिश्रमिक यथासिघ्र उपलब्ध गराउनुपर्ने र परीक्षामा पर्यवेक्षकको रुपमा खतिएका प्राध्यापक तथा कर्मचारीहरुको यथासिघ्र उपलब्ध गराउनुपर्न माग गरेको थियो ।

प्रतिक्रिया