Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

कतिपय पद निर्विरोध, ६३ जना चुनावी मैदानमा

मंगलबार, १० फागुन २०७३

काठमाडौं - निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनको नयाँ कार्यसमितिका लागि ६३ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । कतिपय पद निर्विरोध भईसकेकाले चुनावका लागि उक्त संख्याका उम्मेद्वार मात्र मैदानमा रहेका हुन् ।

प्रदेश उपाध्यक्ष मध्ये प्रदेश नम्बर १ मा शंकर थापा, २ मा गोपाल कार्की र ६ मा नवराज गुरुङ् निर्विरोध भएका छन् । यसैगरी कतिपय सदस्यहरु पनि निर्विरोध भएकाले चुनावी मैदानमा कम उम्मेद्वार बाँकी रहेका हुन् ।

'निर्वाचन समितिले तोकेको समय भित्र पुरा भएको प्रकृया पछि चुनावका लागि ६३ जनाको नामावली भएको मतपत्र तयार भएको छ' उप महासचिव राजेन्द्र बानियाँले भने, 'अब चुनावी प्रकृया शुरु हुन्छ, सदस्यहरुले प्रजातान्त्रिक प्रकृया अनुसार मतदान गर्ने छन् ।'  

प्याब्सनको जारी १३ औ महाधिबेशनमा अध्यक्षका दुई प्रत्यासी विजय सम्बाहाम्फे र टीकाराम पुरी प्यानलबाटै मुख्य पदका लागि उम्मे्दवारी परेको छ । जस अनुसार बरिष्ठ उपाध्यक्षमा डीके डुङ्गाना र सुमन गोपाल आचार्य र महासचिवमा बानियाँ र गोपाल आचार्यको उम्मेद्वारी परेको छ । उपाध्यक्षमा ४ पदका लागि ९ जना, उपमहासचिव १ पदका लागि २ जना, १ कोषाध्यक्षका लागि २, २ सह कोषाध्यक्षका लागि ४ र ३ सचिवका लागि ८ जनाको उम्मेद्वारी परेको छ ।  

मदतान सकिए लगत्तै निर्वाचन समितिले मतगणना शुरु गर्ने र राती नै मत परिणाम सार्वजनिक गर्ने तयारी रहेको महासचिव डीके डुङ्गानाले बताए ।

सोमबार शुरु भएको प्याब्सनको महाधिबेशनको बन्द सत्रले निजी शिक्षा क्षेत्रलाई राज्यले विभेद गरेको निश्कर्ष निकाल्दै त्यसका विरुद्ध कृयाशिल हुने निर्णय गरेको उनले बताए ।  

'हामीले यस अघिनै शिक्षा मन्त्रालयसँग चरणबद्ध रुपमा गरेका छलफल र औपचारिक रुपमा बुझाएका हाम्रा धारणाकै केन्द्रमा रहेर केही निर्णय गरेका छौं' उनले भने, 'बन्द सत्रले तय गरेका कार्यक्रम र निर्णय नयाँ कार्यसमिति चयन भएसँगै सार्वजनिक गर्ने छौं ।'

बन्द सत्रले संस्थाको सांगठनिक र आर्थिक प्रतिवेदन पनि पारित गर्ने औपचारिक प्रकृया पनि पुरा गरेको छ ।

प्रतिक्रिया