Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

फुर्सद छैन भन्दै शिक्षा मन्त्री हिँडे, आधा दिनमै सुनसान वार्षिकोत्सव

विहीबार, १२ फागुन २०७३

भक्तपुर– कार्यक्रमको प्रमुख अतिथी मात्रै हैन संस्थाकै अध्यक्ष समेत रहेका शिक्षामन्त्रीका अघिल्तिर गरिएको चिन्ताको सुनुवाई होला भन्ने आशा गर्नु नौलो कुरै हैन !

त्यसैले त प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) को २९ औं वार्षिकोत्सव कार्यक्रममा सरोकारवालाले सिटीइभिटी सिध्दिँदै गएको प्रति मन खोलेर चिन्ता प्रकट गरे । शायद उनीहरुको आशा थियो होला यत्ति भनेपछि त सुधारका लागि मन्त्री चिन्तित हुन्छन् र आफ्नो संस्था थप मजवुत हुन्छ । त्यसैले उनीहरुले मन्त्री धनिराम पौडेललाई सम्बोधन गर्दै सुधारका लागि काम गर्न आग्रह गरे ।

तर ती सरोकारवाला त्यतिखेर जिल्ल परे जतिखेर मन्त्री पौडेल फुर्सद छैन भन्दै कार्यक्रमको सुरुमै बोलेर बाहिरिए । 'कार्यव्यस्तता'को कारण देखाएर मन्त्री बाहिरिए पनि कार्यक्रमका वक्ताहरुले भने सहसचिव सूर्यप्रसाद गौतम तथा अन्य सहभागीहरु सामु शिक्षामन्त्री, शिक्षा मन्त्रालयकै कारण सिटीइभिटी संकटमा पर्दै गएको आरोप लगाए ।

कार्यक्रममा सहभागी थुप्रै सहभागीहरुमध्ये सिटीइभिटीका संस्थापक तथा पूर्व कार्यकारी निर्देशक प्रा.डा, सुरेशराज शर्मा, पूर्व सदस्य सचिव जयबहादुर टण्डन, फोरम फर हेल्थ साइन्सका अध्यक्ष कश्यप पौडेल, कर्मचारी संगठनका देवदत्त बडुलगायतले सरकारले शिक्षा ऐन मार्फत् सिटीइभिटी सिध्याउने खेलमा लागेको आरोप लगाउँदै ऐनप्रति असन्तुष्टि पोखे ।

उनीहरुले शिक्षा ऐनकै कारण एउटै मन्त्रालय अन्तर्गतका दुई निकायबाट दुई स्तरका जनशक्ति उत्पादन हुने अवस्था सिर्जना भएको भन्दै शिक्षामन्त्री, शिक्षा मन्त्रालयका कर्मचारीहरुको स्वार्थको सिकारमा सिटीइभिटी परेको आरोप लगाए ।

प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्न छुट्टै ऐन रहेको र परिषद्ले शिक्षा मन्त्रालय अन्तर्गत रही देशभरि प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गरिरहेको बताउँदै वक्ताहरुले सामुदायिक विद्यालयको कक्षा ९ देखि प्राविधिक शिक्षा लागू गरिएको प्रति असहमति जनाए । साथै, उनीहरुले सिटीइभिटीमा लामो समयदेखि सदस्य सचिव रिक्त रहँदा अझ अन्योलको अवस्था आएकोले तत्कालै नियुक्ति गर्न पनि माग गरेका थिए ।

सदस्य सचिव नियुक्तिका धेरै खाले चलखेल जारी रहेको श्रोत बताउँछ । पढ्नुहोस् : नियुक्तिका लागि राजनीतिक लविङ् तिव्र, बिचौलियाहरु फाइदा उठाउन सकृय

शिक्षामन्त्री पौडेलले शुरुमै ब्यक्त गरेको आफ्नो भाषणमा भने प्राविधिक शिक्षाको अपरिहार्यता भएकोले सिटीइभिटीको कार्यक्रमलाई प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक रहेको बताएका थिए ।

औपचारिक कार्यक्रममा भाषण गरेर विभिन्न माग गरे पनि कार्यक्रम सकिएको आधाघण्टामै सिटीइभिटी भने 'सुनसान' भएको थियो । दिउँसो साढे एकबजेतिर कार्यक्रम सकिएपछि कार्यालयका कर्मचारीहरु 'कोही के, कोही के' भन्दै विभिन्न वहाना बनाउँदै कार्यालयबाट बाहिरिएका थिए ।

औपचारिक कार्यक्रममा प्रशासकीय अधिकृत शारदाप्रसाद कर्माचार्यलाई सर्वोत्कृष्ट र कृष्णवीर नेपाली, जीवनध्वज बस्नेत, रामसुन्दर यादब र शिवबहादुर जिरेललाई उत्कृष्ठ कर्मचारी घोषणा गरियो । सर्वोत्कृष्ट कर्मचारीलाई नगद रु. ५० हजार र कदर पत्र तथा उत्कृष्टलाई रु. २५ हजार र कदर प्रत्रका साथ सम्मान गरिएको थियो ।

कार्यक्रममा डिप्लोमा इन इञ्जिनियरिङ सकंकायतर्फ डिप्लोमा इन सर्भे इञ्जिनियरिङमा उच्चतम अंक (८१.९३ प्रतिशत) अंक ल्याएका पूजा घिमिरे, डिप्लोमा इन सिभिल इञ्जियिरिङका उत्कृष्ट विद्यार्थी ज्ञानमान श्रेष्ठ, स्वास्थ्य संकायतर्फ प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजीका सृष्टि प्रजापति र दिपेन्द्र खड्का, कृषि, वन, फुड संकायतर्फ फुड एण्ड टेक्नोलोजीमा उत्कृष्ट अंक ल्याएका रजनी सापकोटा र महेन्द्र बुढाथोकीलाई पनि सम्मान गरिएको थियो ।

परिषद्का उपाध्यक्ष डा. कूलबहादुर बस्नेतका अनुसार परिषद् अन्तर्गत हाल डिप्लोमा तहका ३६, प्राविधिक एसएलसी तहका २५ र छोटो अवधिका १६२ पाठ्यक्रम, सीप प्रमाणिका २८५, आंगिक संस्था ४१, साझेदारी ६, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम(७५ वटा अनुदान प्राप्त र आफ्नै स्रोतबाट ३३ ) तथा निजी स्तरमा  सम्बन्धन प्राप्त संस्थाहरु डिप्लोमा २३०, प्राविधिक एसएलसी २९७, छोटो अवधिका ५६७ वटा रहेका छन् ।

परिषद्ले आंगिक संस्थाहरुमार्फत् वार्षिक सरदर १५ हजार जना, परिषद्अन्तर्गत एशियाली विकास बैंकको सहयोगमा सञ्चालित सीप विकास परियोजना (२०१४–२०१९) कूल ४५ हजारमध्ये हालसम्म २४ हजार जनाका लागि तालिम कार्यक्रमहरु समेत सञ्चालन गर्दै आइरहेको छ । आर्थिक वर्ष २०७३/७४ का लागि परिषद्को बजेट रु २ अर्व ३ करोड रहेको छ ।

प्रतिक्रिया