Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

आधारभूत तहमै ४ लाख ३९ हजार बालबालिका विद्यालय बाहिर

बुधबार, १३ बैशाख २०७४

काठमाडौं - सरकारले विद्यार्थी भर्ना कार्यक्रम गरे पनि सो कार्यक्रमले देशभरका साढे चारलाख बालबालिकालाई छुन सकेको छैन । नयाँ शैक्षिक सत्रको सुरूवातसँगै ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ नारा तय गरेर ‘भर्ना अभियान’ चलाए पनि आधारभूत तहमै चार लाख ३९ हजार बालबालिका विद्यालय बाहिर रहेको शिक्षा विभागले जनाएको छ ।

चार वर्ष उमेर पुगेका बालबालिकहरूलाई नजिकको  पूर्वप्राथमिक शिक्षा वा बालविकास केन्द्रमा र पाँच वर्ष उमेर पुगेकालाई कक्षा एकमा भर्ना गरी उनीहरूको औपचारिक शिक्षाको शुरूवात गर्ने अभियानको लक्ष्य छ । हरेक बर्ष अभियान चले पनि विद्यालय बाहिर हुने विद्यार्थीको संख्या घटेको छैन ।

‘जनचेतनाको कमी गरिबी, अपांगता, अशिक्षित अभिभावक, मौसमी काम, डरत्रास, आर्थिक दायित्व आदिका कारण धेरै विद्यार्थी विद्यालयमा भर्ना हुन सकेका छैनन्,’ विभागको अनिवार्य शिक्षा तथा बालअधिकार शाखाका प्रमुख नरहरि अर्यालले भने, भौगोलिक विकटता कारण स्कुल आउनका लागि आधा दिन पैदल हिँडनुपर्ने बाध्यता, घरका सबै काम सकेर मात्र स्कुल आउनुपर्ने अवस्थाले प्रभाव पारेको छ ।’

अर्यालका अनुुसार सबैभन्दा बढी तराई क्षेत्रमा विद्यालय बाहिर रहेका बालबालिकाको संख्या धेरै छ । विभागका अनुसार सबैभन्दा बढी धनुषाका बालबालिका विद्यालय बाहिर छन् । त्यहाँ अहिले पनि २५ हजार ३ सय ७३, सर्लाहीमा २३ हजार ५ सय १०, मोरङमा २२ हजार ५ सय ६२, रौतहटमा २२ हजार ८ सय ३, पर्सामा २१ हजार ९ सय ४९, बारामा २१ हजार २ सय ७१, सिराहामा २१ हजार २ सय २, कपिलवस्तुमा २० हजार ९ सय २, काठमाडौंमा २० हजार ४ सय १५ र रुपन्देहीमा १९ हजार ६५ जना बालबालिका आधारभूत तहको शिक्षाबाट बाहिर रहेका छन् ।

तिनीहरुमध्ये बारा, पर्सा, रौतहट, महोत्तरी र सर्लाहीको तथ्यांक जोड्ने हो भने १ लाख ४ हजार २ सय ८५ जना विद्यार्थी विद्यालय बाहिर छन् । सोही कारण ती पाँच जिल्लामा विशेष कार्यक्रम ल्याउने तयारी रहेको अर्याललको भनाइ छ ।

प्रतिक्रिया