Edukhabar
सोमबार, २४ बैशाख २०८१
अन्तैवाट

निजी विद्यालयको मनपरीले अभिभावकलाई सास्ती

शुक्रबार, १५ बैशाख २०७४

काठमाडौ १५ बैशाख/ नयाँ शैक्षिक सत्र सुरु भएसँगै नवलपरासीका निजी विद्यालयले मनपरी रूपमा पाठ्यपुस्तक लिन लगाउँदा अभिभावकलाई सास्ती भएको छ । एउटै विद्यालयले फरकफरक प्रकाशन गृहका पाठ्यपुस्तक लिन लगाउँदा अभिभावकले सहज रूपमा किताब पाउन सकेका छैनन् । कमिसनको प्रलोभनका कारण एउटा कक्षामा ५ देखि ९ वटासम्म प्रकाशन गृहका पाठ्यपुस्तक विद्यालयले लिन लगाउने गरेका छन् ।

छोराका लागि परासीको एक पसलमा पुगेका रामग्राम नगरपालिकाका रतनलाल दासले कक्षा ३ को किताब किन्न चारवटा पुस्तक पसल चाहार्नु परेको गुनासो गर्नुभयो । 'एउटा पसलमा गयो अर्को विषयको पुस्तक छैन भन्छन्, अर्कोमा गयो एउटाको छैन भन्छन्', दासले भन्नुभयो, 'सबै किताब किन्न चारवटा पसलमा पुगें ।'

कमिसनको प्रलोभनमा परेर विद्यालयले फरकफरक प्रकाशन गृहका पुस्तक लिन लगाउँदा सास्ती व्यहोर्नु परेको अभिभावकको गुनासो छ । केही विद्यालयका सञ्चालकले प्रकाशन गृहमा लगानी गरेका कारण पनि आफ्नै प्रकाशन गृहका पाठ्यपुस्तक कक्षामा समावेश गर्न लगाएका छन् । पुस्तक परिवर्तन गर्न आवश्यक परे हरेक दुई वर्षमा नयाँ लगाउन पाइने शिक्षा विभागको नियम छ तर कमिसनको प्रलोभनमा विद्यालयहरूले बर्सैपिच्छे पुस्तक फेरिरहँदा पनि जिल्ला शिक्षा कार्यालय मौन रहेको अभिभावकको गुनासो छ ।

कक्षा ९ को पाठ्यपुस्तक खरिद गर्दा अभिभावकले ७ वटा प्रकाशन गृहका पुस्तक खरिद गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ । फरकफरक प्रकाशन गृहका पुस्तक लगाउँदा खरिद गर्न र विद्यार्थीलाई पूरा पुस्तक दिन नसकिएको संगम शिक्षा सदनका सञ्चालक रामचन्द्र भण्डारीले बताउनुभयो । जिल्लामा ३५ भन्दा बढी प्रकाशन गृहका पाठ्यपुस्तक निजी विद्यालयले लगाएका छन् ।

विगतमा निजी विद्यालयको छाता संगठन प्याब्सनले विद्यालयहरूको समन्वयमा पुस्तक लगाउने गरे पनि अहिले भने विद्यालयहरूले आआफ्नै तरिकाले पुस्तक लगाएका छन् । निजी विद्यालयले आफू अनुकुलको छुट्टै संगठन बनाएर पुस्तक लगाएका हुन् । एउटा संगठनसँग आवद्ध विद्यालयले पाँचदेखि सातवटा प्रकाशन गृहका पाठ्यपुस्तक लगाएका छन् भने अर्कोले अन्य प्रकाशन गृहका पाठ्यपुस्तक लगाएका छन्।

त्यसरी खोलिएका संगठनलाई प्रकाशन गृहले कमिसनको प्रलोभन देखाएर पुस्तक लगाउन बाध्य पारेको एक शिक्षकले दाबी गरे । विगतका वर्षमा पुस्तक खरिद गर्दा १० देखि १५ प्रतिशत पुस्तक पसलले अभिभावकलाई छुट दिने गरेका थिए तर अहिले भने अभिभावकले त्यो सुविधा पाएका छैनन् ।
विगतमा दिइँदै आएको छुट अहिले दिन नसकिएको शान्ति स्टेसनरीका सञ्चालक गिरिराज पाण्डेयले बताउनुभयो । यो वर्ष व्यवसायीलाई नै कम प्रतिशत दिइएकाले अभिभावकलाई छुट दिन नसकिएको उहाँले बताउनुभयो । व्यवसायीले १५ देखि २० प्रतिशत बिक्रीबापत कमिसन पाउने गरेको पाण्डेले बताउनुभयो।

जिल्लामा सिन, जिसन, जेस्पियन, इकोन, मिसनलगायतका छुट्टाछुट्टै विद्यालयका संगठन छन् । तीमध्ये सिनले ९ भन्दा बढी प्रकाशन गृहका पुस्तक लगाएको छ । जिसनले ६, जेस्पियनले ६, इकोनले ६ र मिसनले ५ भन्दा बढी प्रकाशन गृहका पुस्तक विद्यालयमा लगाएको पाइएको छ ।

अहिले खरिद गरेर लगेका पुस्तकमा फेरि दुई तीन महिनापछि पुनः विषय थप गर्नुपर्ने भन्दै विद्यालयहरूले अर्को पुस्तक थप्ने गरेको विगतका वर्षहरूमा देखिएकाले यस वर्ष पनि प्रकाशन गृहको मिलमतोमा पुस्तक थप्ने निश्चित रहेको एक व्यवसायीले बताए ।
हरि शर्माले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।

प्रतिक्रिया