Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

शिक्षकलाई मासिक तलब : महिना मर्यो, खै त तलब !

मंगलबार, ०२ जेठ २०७४

काठमाडौं - शिक्षकलाई चौमासिक रुपमा तलब भुक्तानी गर्दै आएको शिक्षा विभागले यही बैशाखदेखि मासिक रुपमै तलब उपलब्ध गराउने भने पनि शिक्षकले मासिक तलब पाएका छैनन् । शिक्षा विभागले बैशाखदेखि शिक्षकलाई मासिक रुपमै तलब भुक्तानी गर्ने निर्णय गरे पनि बैशाख महिना मरेको दुई दिन भइसक्दा समेत शिक्षकले तलब पाएका छैनन् ।

किन त ? शिक्षा विभागको बनीबनाउ उत्तर छ – मासिक तलब बुझ्न शिक्षकै तयार छैनन् ! आवश्यक ब्यवस्थापन गर्न जिशिकानै तदारुकता देखाउँदैनन् !

विभागका आर्थिक प्रशासन शाखाका उपनिर्देशक भगवान उप्रेतीले बैशाखदेखि शिक्षकलाई मासिक रुपमै तलब भुक्तानी गरिने भनिए पनि सो सन्दर्भमा सम्बन्धित जिशिकाहरुले तदारुकता नदेखाउँदा तलब खुवाउने काम थालनी गर्न नसकिएको बताए ।

‘शिक्षकको चौमासिक तलव एकैपटक जिशिकामा र जिशिका मार्फत् विद्यालयमा पठाएर शिक्षकलाई तलब खुवाउन तयारी गरेका थियौं, तर त्यो काम सुरु हुन सकेको छैन ।’ उपनिर्देशक उप्रेतीले भने । बैशाख ३१ गते सम्पन्न स्थानीय तहको चुनावमा जिशिका र विद्यालयका शिक्षक पनि व्यस्त भएका कारण विद्यालयबाट माग फारम नआएको हुन सक्ने विभागको अड्कल छ ।

तर, शिक्षकलाई मासिक तलब खुवाउन आवश्यक माग फारम बुझाउन फागुनको १५ मै विभागले जिशिकालाई निर्देशन दिएको थियो । बैशाख १५ भित्रै शिक्षकलाई माग फारम भराउने, त्यसको एकहप्ताभित्र जिशिकामा चौमासिक बजेट पठाउने र त्यसको एकहप्ता भित्र जिशिकाले चौमासिक रुपमै विद्यालयमा बजेट पठाउने गरी विभागले कार्यतालिका बनाएको थियो । तर, काम भएन, अनी विभागलाई यतिखेर चुनावको सजिलो बहाना बनेको छ !

शिक्षकलाई मासिक रुपमा तलब खुवाउनका लागि अधिकांश जिल्ला शिक्षा कार्यालय सकारात्मक भए पनि शिक्षक नै तयार नहुँदा समस्या भएको विभागका महानिर्देशक बाबुराम पौडेलको तर्क छ । उनले भने, ‘हिजो म धादिङमा पुगेँ, त्यहाँका जिशिअलाई भेटेँ, सो सन्दर्भमा कुरा गरेँ तर अहिलेसम्म पनि शिक्षकबाटै माग फारम आएको छैन ।’ शिक्षकबाट गम्भीरता नदेखाउँदा समस्या भएको उनले बताए ।

विगतमा शिक्षकलाई तलब खुवाउन चौमासिकको अन्तिममा दिइने निकासालाई सुरुमै निकासा गर्ने गरी तयार गर्दा पनि शिक्षकबाट मागफारम नआएको बताउँदै माग फाराम नै नआइकन तलब खुवाउन नमिल्ने भएकाले बैशाखबाट पनि मासिक रुपमा तलब खुवाउन नसकिएको पौडेलले बताए ।

प्रतिक्रिया