Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

फेरी ४ दिन शैक्षिक संस्था विदा, निर्वाचनका दिन सार्वजनिक विदा

सोमबार, ०५ असार २०७४

काठमाडौं - दोश्रो चरणको स्थानीय तह निर्वाचनका बेला ४ दिन शैक्षिक संस्थाहरु बन्द हुने भएका छन् । यही असार १४ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै असार ११ गते देखि १४ गते सम्म शैक्षिक संस्थामा सार्वजनिक विदा दिन आयोगले शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको हो ।

'अधिकाँश मतदान केन्द्र सार्वजनिक एवं संस्थागत विद्यालय वा क्याम्पस जस्ता शैक्षिक संस्थामा तोकिएको हुँदा दोश्रो चरणको स्थानीय तहको निर्वाचन हुने जिल्लाका सार्वजनिक एवं संस्थागत विद्यालय र क्याम्पसमा २०७४ असार ११ गते देखि २०७४ असार १४ गते सम्म ४ दिन सार्वजनिक विदा दिने ब्यवस्था मिलाउन निर्वाचन आयोगको आजको बैठकबाट नेपाल सरकार शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने निर्णय भएको छ' आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ, 'त्यस्तै कुनै सार्वजनिक वा संस्थागत विद्यालय वा क्याम्पसमा मतगणना हुने अवस्थामा मतगणना कार्य सम्पन्न नभएसम्म उक्त विद्यालय वा क्याम्पस भवन र परसर उपलब्ध गराई दिने ब्यवस्था मिलाउन पनि आयोगबाट शिक्षा मन्त्रालयलाई लेखि पठाउने निर्णय भएको छ ।'

विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित नगरी बैकल्पिक ब्यवस्था अपनाउन शिक्षा क्षेत्रका सरोकारवालाले आग्रह गर्दै आएपनि यस अघि पहिलो चरणको निर्वाचनमा पनि विदा दिईएकोले यस पटक पनि विदा हुने पक्का छ ।

गाउँपालिका, नगरपालिका, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्र लगायतका सार्वजनिक भवन र परिसर पलब्ध गराईदिन समेत पत्राचार गर्ने आयोगले निर्णय गरेको छ ।

आगामी १४ गते प्रदेश नम्बर १, ५, र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुँदै छ । निर्वाचनका बेला कर्मचारीहरु खटिनु पर्ने भएकोले निर्वाचन हुने क्षेत्रमा एक दिन सार्वजनिक विदा दिन गृह मन्त्रालयलाई लेखि पठाउने समेत आयोगले निर्णय गरेको छ ।

प्रतिक्रिया