Edukhabar
आइतबार, ३० असार २०८१
गुरुबा / गुरुआमा

शिक्षक हुनुको आनन्द नै बेग्लै !

बुधबार, २५ माघ २०७९

स्कुले विद्यार्थी छँदा कीर्तिपुरका लोकलाल महर्जन, स्कुलकै शिक्षकबाट प्रभावित थिए । विश्व राष्ट्रिय स्कुलमा पढ्दा होस् या परोपकार आदर्श स्कुल । ती दुबै स्कुलमा पढ्दाताका नै शिक्षकबाट ज्यादै प्रभावित महर्जन अन्तत :  शिक्षकै भए ।

४९ वर्षका महर्जन, २६ वर्षअघि अर्थात् वि.सं. २०५३ सालमा कीर्तिपुरको मंगल माध्यमिक विद्यालयमा निमावि विज्ञान शिक्षकको रुपमा प्रवेश गरेका थिए । अहिले भने उनी सोही विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी हाँकिरहेका छन् ।

२०५३ बाट औपचारिक अध्यापन यात्रा सुरु गरेका महर्जन सोही स्कुलमा २०६५ सालमा सहायक प्रधानाध्यापक, २०७३ सालमा निमित्त प्रधानाध्यापक र २०७४ सालदेखि प्रधानाध्यापकको जिम्मेवारीमा रमाइरहेका छन् ।

उनी सम्झन्, ‘बीएस्सीको फाइनल जाँच दिइरहेकै बेला यस स्कुलमा निमावि विज्ञान शिक्षक खाली छ भन्ने जानकारी आयो । नतिजा आउन बाँकी थियो । अनि किन त्यत्तिकै बस्ने ? मलाई चिन्नेहरुले एप्लिकेशन राख्न जानू भनेर सुझाव दिए । अनि म एप्लिकेशन बोकेर स्कुल पुगेँ । नभन्दै म छानिएँ । अनि शिक्षक भएँ ।’

खासमा लोकलाल शिक्षक बन्न चाहँदैनथे । आफू पढ्दाताका शिक्षकहरु नै ‘शिक्षक’ बन्ने प्रेरणाको स्रोतका आधारमा शिक्षक बनेका महर्जन वास्तवमा इञ्जिनियर बन्नु थियो तर भाग्यमै नभएपछि कसको के लाग्छ र ? उनले त्यसैमा चित्त बुझाए । सुरुमा त शिक्षक बनेर कमाइ नहुने उनलाई थाहा थियो, त्यही भएर उनले शिक्षकको सट्टा इञ्जिनियर बन्ने सपना पाले । साथी संगाती, आफन्तले पनि त्यसका लागि उक्साए । अनि इञ्जिनियर बन्छु भनेर पढे, विज्ञान संकाय ।

‘मेरो जीवनको उद्देश्य त इञ्जिनियर बन्नु थियो । मैले त्यसका लागि मेहनत पनि गरेँ । कहिलेकाहिँ भाग्यको खेल पनि हुँदो रहेछ क्यारे, मैले इञ्जिनियरिङ पढ्नका लागि नामै निकाल्न सकिनँ । जाँचमा नआएको केही थिएन, तर जाँचमा नाम निक्लेन ।’ एकपटकमा उनी हार मानेन महर्जनले । इञ्जिनियरिङ पढ्नका लागि तीन पटक प्रयास गरे । तर नाम निकाल्न असफलै भए । अनि सोचे उनले र भाग्यमा विश्वास गरी मोडे शिक्षणतिरको यात्रा । ‘मेरो भाग्यमै यो छैन, म यो क्षेत्र छोड्छु’ भनेर त्यता ध्यान दिइनँ ।’

त्यो क्रममा कति साथीहरुले उनलाई जग्गा बेचेर भए पनि इञ्जिनियर बन्नु पर्छ भनेर सुझाए तर उनले त्यता मन फर्काएनन् । अनि शिक्षकै बन्छु भनेर पियर साइन्स लिएर पढ्न थाले ।
त्यसरी शिक्षक भएसँगै उनी धेरै बालबालिकाबाट रुचाइए । औधी मन पराइए । ‘मैले पढाउने शैलीदेखि लिएर मेरो हरेक आनीबानीलाई बालबालिकाले रुचाए’, ६० को दशकको शिक्षण दैनिकी सम्झँदै उनले भने, ‘अनि शिक्षण पेशाबाट भाग्न मन लागेन ।’

त्यही बीचमा शिक्षक हुँदाहुँदै उनी अधिकृतको जाँच पनि दिन गए । धेरैले तिमीजस्तो मान्छेले अधिकृतको जाँच दिनुपर्छ भनेर फुक्र्याएपछि ‘अधिकृत बनेँ भने त... ’ भन्दै नानाथरी सपनाका साथ जाँच दिन गएका उनलाई भित्रैदेखि अधिकृतमा नाम निस्केला भन्ने डर लाग्यो, ‘त्यो बेला मलाई ‘कतै अधिकृतमा पो मेरो नाम निस्किन्छ कि ?’ भन्ने भित्रभित्रै डर लागिरहेको थियो ।

इञ्जिनियर बन्ने रहर छोडी शिक्षण पेशामा रमाएर छुट्टै संसारमा रमाउन पल्किसकेका उनलाई विद्यार्थीले साह्रै रुचाए । एक समय अर्थात् २०६२ पछिको समयमा उनी कीर्तिपुरको ‘डिमान्डेड टिचर’ थिए । उनको भिन्न पढाउने शैली, विज्ञान र गणित विषयमा विद्यार्थीलले रचाउने टेक्निक बनाएर पढाउने गरेका कारण उनी सबै स्कुलबाट माग गरिएका शिक्षक भएका थिए । त्यो बेला उनले दिनको १८ वटा पिरीयडसम्म पनि लिएको उनीसँग अनुभव छ । विहान ५ बजेबाट सुरु हुने शिक्षण त्यो बेला बेलुका ९/१० बजेसम्म कक्षा लिएका थिए उनले । त्यौ बीचमा उनले गणितका पाठका उदाहरणहरु सहितको अभ्यास पुस्तक पनि लेखे । त्यसले पनि उनको ख्यातिमा थप टेवा पुग्यो ।

म सन्तुष्ट छु । शिक्षण पेशा अँगालेर मैले जुन भविष्य बनाएँ, त्यसमा आनन्दै छ । अरु पेशामा गएको यस्तो हुन्थ्यो, उस्तो हुन्थ्यो भन्ने खाले अनुभूति पनि भएको छैन ।

प्रअ भइसकेपछिको ‘पीडा’

प्रधानाध्यापक भएपछि पढाउन समय निकाल्न मुश्किल भएको उनको तितो अनुभव छ । उनी पढाउन चाहना राख्ने शिक्षक । प्रशासनमा बसेपछि विभिन्न ठाउँमा जानुपर्ने, सबै कुराको नेतृत्व लिनुपर्ने कारण उनले चाहेर पनि पढाउन पाएका छैनन् । 

‘एउटा शिक्षक हुँदै प्रअसम्म हुँदा धेरै तीतामीठा अनुभव गरियो । शिक्षकले विद्यार्थीलाई अनुशासनमा राखी आफ्नो विषयमा पोख्त बनाएर विद्यार्थीको उद्देश्य पूरा गराउन भूमिका खेल्ने हो । प्रअ भइसकेपछि शिक्षक व्यवस्थापन, कर्मचारी व्यवस्थापन, विद्यालय सञ्चालनका लागि आर्थिक व्यवस्थापन लगायतका कामहरु छन् । सामुदायिक विद्यालयमा सहयोग भने सरकारबाट आउने तलबमात्र हो । सानोतिनो रकम मात्र आउँछ । त्यो भएकाले नेतृत्वमा बसेपछि धेरै खाले जिम्मेवारी निर्वाह गर्र्नुपर्छ । त्यसलाई चुनौति कम अवसर बढीका रुपमा लिनुपर्छ ।’

उनी पछिल्लो समयमा शिक्षक बन्ने मान्छेहरुको अभाव हुँदा दुःखी छन् । शिक्षामा प्रवेश गर्नेहरुको संख्या घटेको छ । त्यसमाथि पनि पुरुषहरुमा शिक्षक बन्ने चाहना अझ घटेको तथ्य छ । त्यसको कारण खोज्नुपर्ने उनको जोड छ । कता कता यो अवस्था आउनुमा कतै अहिलेका शिक्षक नै विद्यार्थी सामु रोलमोडल बन्न चुकेर पो हो कि ? 

उनले कहिलेकाहिँ आत्म समीक्षामा आफैले आफैलाई सोध्ने गरेका छन् ।

शिक्षक हुनुको आनन्द नै बेग्लै ! 

शिक्षक हुनुलाई उनी विद्यार्थीको भविष्य निर्माता हुनु भनेर परिभाषित गर्न रुचाउँछन् । उनी यही कुरा आफ्ना सहकर्मीहरुलाई पनि बारम्बार भन्ने गर्छन् र सोही अनुसार व्यवहार गर्न सुझाउँछन् पनि । उनी शिक्षकले आफ्नो धर्म इमान्दार भएर पूरा गरे सामुदायिक विद्यालयले ढिलो चाँडो प्रगति गर्छ भन्नेमा जोड दिन्छन् । 

भन्छन्, ‘हामी कुनै मन्दिरमा जाने बेलामा जुन प्रकारको आस्था र विश्वास बोकेर गई पूजाआजा गर्छौं, त्यो जस्तै विद्यालयमा त प्रत्येक दिन हामी मन्दिर आइरहेका छौं । यहाँ विद्यार्थीहरुको भविष्य सपार्न सक्यौं भने त्यो जस्तो धर्म अरु केही हुँदैन । हामी आफ्नो कर्तव्य पूरा गरौं । उसले गरेन, म पनि गर्दिनँ भन्ने भावना त्याग गर्नुपर्छ । त्यस हिसाबले लाग्ने हो भने स्कुल बन्छ ।’

३५० बाट १३ सय बढी विद्यार्थी 

एमएस्सी (२०५५) तथा शिक्षण पेशामा आउनका लागि शिक्षा अनिवार्य भन्ने नीति आएपछि बीएड(२०६२) गरेका महर्जन सुरुमा सो स्कूलमा पढाउँछु भनेर पुग्दा स्कुलमा जम्माजम्मी ३५० को हाराहारीमा विद्यार्थी थिए ।  तर अहिले सो विद्यालयमा अहिले १३ सय विद्यार्थी छन् । त्यो भन्दा पनि बढी हुन्थो, यदि विद्यालयले भर्नाका लागि प्रवेश परीक्षा नलिएको भए । 

‘गत सालमात्र यो स्कुलमा पढ्नका लागि प्रवेश परीक्षा दिने विद्यार्थी ६ सय बढी थिए । त्यसमध्येमा हामीले छानेर ३ सय मात्र लियौं,’ गत शैक्षिक सत्रको वैशाखको कुरा सम्झिँदै उनले भने, ‘अब आउने शैक्षिक सत्रमा १३ सय विद्यार्थीबाट १७ सय विद्यार्थी पुग्न सक्छ ।’

२०५८ साल र २०६२ सालमा विद्यालयले राष्ट्रिय पुरस्कार पाइसकेपछि विद्यालयमा त्यसको सकारात्मक प्रभाव प¥यो । अभिभावकमा मंगल माविले गुणस्तरीय शिक्षा दिन्छ भन्ने छाप परेसँगै बढेको चुनौतिलाई विद्यालयले अवसरका रुपमा ग्रहण गर्यो । र, २०६२ सालदेखि विद्यालयले अँग्रेजी माध्यमबाट पठनपाठनको थालनी गर्यो । अभिभावकको मनको भावना बुझेका कारण अभिभावक खुसी भए । हाल काठमाडौं जिल्लामा नमूना विद्यालय अन्तर्गतको दोस्रो विद्यालयमा दरिएको मंगल मावि एसईई २०७८ मा बागमती प्रदेशभर पनि दोस्रो भएको थियो ।

अन्य सामुदायिक विद्यालयले गर्न नसकेको कामको अगुवाइ गर्न पछि नहट्ने यो विद्यालयले कोरोनाको महामारीको समयमा समेत विद्यालयकै छुट्टै एप्स मार्फत पठनपाठन गराएको थियो । विद्यालयले मनोपरामर्शको कक्षालाई निरन्तर गरिरहेको छ । सूचना प्रविधिको उच्चतम प्रयोग, प्रत्येक कक्षामा सिसि क्यामेराका साथै डिजिटल सूचना प्रविधिको उययोग पनि विद्यालयका विशेषता हुन् । साथै विद्यार्थीलाई शिक्षकको प्रत्यक्ष निगरानीमा राखी अध्यापन गराउने विधि पनि अवलम्बन गरेको छ । त्यसले गर्दा अभिभावकहरुमा यहाँ पढाउने सिस्टम फरक छ भन्ने सकारात्मक सन्देश गएको छ । यसैले मंगलमा जो अभिभावक स्कुलभित्र छिर्छ, त्यो अभिभावक हतपत बाहिर निस्कन चाहँदैनन् । जसरी भए पनि आफ्नो सन्तान भर्ना गराउन लालायित छन् । जसकारण ४ ठूला भवन, प्रिस्कुलको छुट्टै भवनका कक्षाकोठामा अहिले १३ सयभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । 

प्रतिक्रिया