Edukhabar
शुक्रबार, ०६ भदौ २०८२
अन्तैवाट

उच्च शिक्षा नलिएका अर्बपतिहरू

शनिबार, ३० बैशाख २०७४

काठमाडौं ३० बैशाख/उच्च शिक्षा हासिल गरेपछि जागिर खाने र त्यसबाट धनाढ्य बन्ने सोच तपाईको छ भने आजैबाट त्याग्नुस् । किनभने जागिरबाटै कोही धनाढ्य बन्न सक्तैन । त्यसका लागि सीप, लगनशीलता, कडा परिश्रम र आफ्नै व्यापार आवश्यक पर्छ । चीनमा हालै गरिएको एक अध्ययनले उच्च शिक्षा हासिल गरेकाको तुलनामा कम पढेलेखाहरूमध्ये धेरैजना अर्बपति बनेका छन् । धनी व्यक्तिहरूबारे अनुसन्धान गर्ने संस्था ‘हुरुन रिसर्च इन्टिच्युट’ को प्रतिवेदनले त्यस्तै देखाएको छ ।
प्रतिवेदनअनुसार दुई हजार चिनियाँ अर्बपतिमध्ये आधाजतिले त कहिले कलेजको मुखसम्म हेर्न पाएनन् । तर, धनाढ्यको सूचीमा परेका छन् । तीमध्ये कम्तीमा ३ सय मिलियन अमेरिकी डलर (३० अर्ब ७९ करोड २८ लाख ८४ हजार रुपैयाँ) सम्पत्ति भएका चिनियाँ उद्यमीसँग त कुनै डिग्री नै छैन । यसबारे हुरुर संस्थाका प्रमुख रुपर्ट हुगेवल्र्फ भन्छन्, ‘चीनका कतिपय व्यक्ति वर्तमान सामाजिक परिवेश र मानकबाटै मात्र धनी बनेका हैनन्, आफ्नै श्रम र परिश्रमबाट धनाढ्य बनेका हुन् ।’ प्रतिवेदनमा सूचीकृत गरिएका १ सयजनामध्ये वाहाहा समूहका अध्यक्ष जोङ क्विहाउ पनि एक हुन् । उनले मिडिल स्कुल (नेपालमा निमावि तह) उत्तीर्ण गरेलगतै व्यापार थाले । जोङ आफ्नो व्यापारमा अगाडि बढेपछि कहिले पछाडि फर्केनन् । सन् १९८८ मा उनले वाहाहा बेभेरेज कम्पनी स्थापना गरे । हाल उनको कम्पनी चीनकै सबैभन्दा ठूलो बेभेरेज उत्पादन गर्ने कम्पनी हो, जुन मुलुककै पहिलो नम्बरमा छ । हुरुनका अनुसार ७२ वर्षीय जोङ अघिल्लो वर्ष हुरुन ग्लोबल धनाढ्य सूचीमा ४१ औं स्थानमा थिए । चिनियाँ धनाढ्य सूचीमा भने उनी पाँचांै स्थानमा थिए । सन् २०१२ मा भने उनी १२.६ अर्ब अमेरिकी डलरका साथ चिनियाँ धनाढ्य सूचीमा पहिलो स्थानमा थिए ।  
त्यस्तै अर्का चिनियाँ धनाढ्य हुन् टेक उद्यमी जिआ युएटिङ ।
सन् १९७३ मा उत्तरी चीनको सान्सी प्रान्तमा जन्मेका उनी लेइकोका अध्यक्ष हुन् । उनी एउटा व्यावसायिक विद्यालयको शिक्षापछि एकजना इन्टरनेट सहयोगीका रूपमा काम थालेका थिए । उनी पनि एक्लो हैनन् । चीनका ‘सोहो’ कम्पनीका अध्यक्ष पान सियी पनि व्यावसायिक स्कुलबाट शिक्षा ग्रहण गरी आफ्नो व्यापार थालेर धनाढ्य बनेका छन् । उनी हाल प्रोपर्टी टाइकुनका रूपमा चीनमा चर्चित छन् ।
सयजना चिनियाँ उद्यमी, जोसँग कुनै पनि उच्च शिक्षाको डिग्री छैन । तिनीहरू उच्च डिग्री हासिल गरी व्यापारमा आएकाको तुलनामा सूचीमा निकै माथि छन् । तुलनात्मक रूपमा कम पढेलेखेकाहरू नै अग्रस्थानमा छन् । हुरुनका अनुसार सूचीमा परेकाहरूमध्ये उच्च शिक्षा हासिल गरेकाहरूको सम्पत्ति २४.९ अर्ब युआनसम्म छ । डिग्री हासिल गरेकाहरूको कुल सम्पत्ति ९.६ अर्ब युआनभन्दा पनि कम छ । त्यस्तै सूचीमा परेकामध्ये एकजना उद्यमी मात्रै ७० वर्षभन्दा माथिका छन्, जो ‘उच्च शिक्षा’ हासिल गरेका छन् । बिनाशिक्षाकै उद्यमी बनेका अधिकांश धनाढ्यहरू म्यानुफ्याक्चरिङ उद्योग सञ्चालन गरी धनाढ्य बनेका हुन् । केही भने वित्तीय वा आईटी उद्योगहरूबाट पनि सूचीमा परेका छन् । विशेषत: २४ प्रतिशत जति रियल इस्टेट, १९ प्रतिशत म्यानुफ्याक्चरिङ क्षेत्रबाट परेका छन । रिपोर्टअनुसार सूचीमा परेका शिक्षित २४ प्रतिशत उद्यमी वित्तीय र लगानी तथा १५ प्रतिशतचाहिँ आईटी क्षेत्रमा सक्रिय रहेर सम्पत्ति कमाउनेमा दरिएका छन् ।
जहाँसम्म जिआ युएटिङ एकको कुरो छ, उनी एकजना सेल्फ–मेड चिनियाँ उद्यमी हुन् । अनलाइन भिडियो उद्योगमा जिआको नाम चीनमा पर्यावाची बनेको छ । उनको एलईटीभी डट कम ठूलो भिडियो वेबसाइट हो । फोब्र्सका अनुसार उनको कुल सम्पत्ति ४.१ अर्ब अमेरिकी डलर छ । चीनमा वायु प्रदूषण घटाउनका लागि विद्युतीय कार बनाउने जिआको सपना छ ।
उनले सान्सी प्रान्तस्थित कर कार्यालयमा प्राविधिक सहयोगीका रूपमा २२ वर्ष उमेरमै काम थालेका थिए । त्यहाँ उनले कर कार्यालयको आन्तरिक सञ्जालको रेखदेखको जिम्मेवारी पाएका थिए । तर, उनी लामो समय त्यहाँ टिकेनन् ।
आफ्नै कम्पनी सञ्चालन गर्ने निधो गरे । वर्षभित्रै जागिर छाडी उनी आफ्नै टेक्निकल कन्सल्टेन्सी फर्म खोल्न पुगे । सन् २००२ मा जिआले वायरलेस टेलिकम कम्पनी सिनोटेल टेक्नोलजिज स्थापना गरे ।
सन् २००८ मा उक्त कम्पनी सिंगापुर स्टक एक्सचेन्जमा सूचीकृत भयो । त्यसअघि सन् २००३ मा उनले बेइजिङमा एक्सबेल युनियन कम्युनिकेसन टेक्नोलजी खोलेका थिए । सन् २००४ मा उनले लेस इन्टनेट इन्फोरमेसन एन्ड टेक्नोलजी खोलेका थिए । उक्त कम्पनीले पछि एलईटीभी डट कम खोलेर चिनियाँ चलचित्र देखाउने कपिराइट प्राप्त गर्‍यो । यसैगरी पान सियी, चीनको प्रोपर्टी वृत्तमा लेजेन्डरी व्यक्तित्व हुन् । हेर्दा लजालु र अपत्यारिला देखिए पनि उनको व्यापार गर्ने शैली धेरैलाई मात गर्ने खालको छ । उनी विदेशी आर्किटेक्टहरूलाई काममा राखेर बेइजिङमा अपार्टमेन्टहरूको निर्माण गर्दै बेच्ने गर्छन् । ‘सोहो चाइन’ कम्पनीका सह–प्रमुख कार्यकारी अधिकृत र अध्यक्ष हुन् । सडक बालक पनि लोकप्रिय र धनाढ्य बन्न सक्छन् भन्नेको साक्षात् प्रमाण बनेका छन् । उनले चिनियाँहरू कस्तो खालको घरमा बस्न रुचाउँछन् भन्ने कुरो राम्ररी बुझेर रियल इस्टेटसँगै निर्माण व्यवसायमा लागेका हुन् । गन्सु प्रान्तस्थित एउटा सानो गाउँमा जन्मेका उनको पारिवारिक पृष्ठभूमि त्यति राम्रो थिएन । उनी हेबेई टेकनिकल स्कुलबाट पेट्रोलियम प्रोफेसनबाट सन् १९८२ मा शिक्षापछि पेट्रोलियम मन्त्रालयमा काम थाले ।
पछि सन् १९८७ मा उनले सेन्झेन र हाइनामा संयुक्त लगानमा रियल इस्टेटको व्यापार थाले । सन् १९९२ मा उनले बेइजिङ भ्यान्टोन कम्पनी लिमिटेडको सह–संस्थापक बने । उक्त संस्था सांघाई स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो । उनले आफ्नो कम्पनीको प्रचार आफ्नै ब्लग खोलेर सुरु गरेका हुन् । त्यसपछि उनी ट्वीटरबाट आफ्नो कम्पनीको प्रचारमा जुटे । हाल उनको १७ मिलियनभन्दा बढी फलोअर्स ट्वीटरमा रहेका छन् । सेलिब्रेटी नेट वल्र्थका अनुसार ५३ वर्षीय पान सियीको कुल सम्पत्ति
६ सय मिलियन अमेरिकी डलर रहेको छ ।
(एजेन्सीहरू)

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया