Edukhabar
शनिबार, ०५ जेठ २०८१
विचार / विमर्श

म पिटाइ खाएरै हुर्केको हुँ, यीनलाई पनि पिट्नै पर्छ !

शुक्रबार, २३ असार २०७४

आफ्ना बालबालिकालाई असल र अनुशासित बनाउने चाहना सबैको हुन्छ । अभिभावक हुन् या शिक्षक, बालबालिकालाई उचित शिक्षा दीक्षा दिएर राम्रो वातावरणमा हुर्काउने चाहना नराख्ने कोही पनि हुँदैनन् । आफ्ना बालबालिका शिक्षित होउन्, सुसंस्कृत होउन्, उनीहरुको चौतर्फी विकास होस् भन्ने ईच्छाले अभिभावकहरु विद्यालय माथि भर परेका हुन्छन् । विद्यालयसँग सम्बन्धित व्यक्तिहरु पनि त्यसैका लागि सहयोग गरिरहेको बताउँछन् । तर जानेर या नजानेर हो हेल्चेक्र्याँई वा दायित्वबोधको अभावले हो, बालबालिकाप्रति विद्यालयले गर्ने व्यवहार वातावरण सुहाउँदो सजिलो र उपयोगी नभई रहेको प्रशस्त देख्न र सुन्न पाईन्छ । कयौ शिक्षकले विद्यार्थी पिट्दा उपचारका लागि अस्पताल पु¥याएको र केहीको अंग भंग भएको खबर सार्वजनिक हुने क्रम रोकिएको छैन ।

बालबालिकाहरु स्वभावैले चञ्चल हुन्छन् । नयाँ कुरा सिक्न, बुझ्न, नक्कल गर्न र प्रयोग गर्न चाहन्छन् । तर यिनै कारण उनीहरुबाट भएका कतिपय क्रियाकलापहरु वयस्कका नजरमा सही नहुन सक्छ । उनीहरुलाई सही बाटोमा ल्याउने भनेर शारीरिक एवं मानसिक रुपमा दण्ड दिने जस्ता गलत प्रक्रिया अपनाईएको हुन्छ । यो प्रकृया बालबालिकाले घरमा भन्दा विद्यालयमा बढी भोग्नु पर्ने हुन्छ ।  विद्यालयबाट शिक्षा मात्र नभई जीवनसम्बन्धी अन्य विविध ज्ञान र सीप समेत प्राप्त गर्ने हुँदा विद्यालय बालमैत्री भैदिएन भने जीवनमा नकारात्मक प्रभाव पर्दै तिनै गतिविधिहरुका कारण थप समस्याहरु उत्पन्न हुन्छ  । सजायँ पाउनु र दिनु दुबै सकारात्मक पक्ष होईनन् तर सजायँ दिनुमा निम्न प्रकृयाहरु समाहित हुने गरेका छन्ः

१. अनुशासन र सजायँ

विद्यालयमा बालबालिकाले धेरै कुराहरु सिक्ने गर्दछन् । तर तिनै आवश्यक कुरा सिकाउन “अनुशासन” सजायको डरले नभई जीवनको एक अभिन्न अङ्ग हो भन्ने रुपमा स्वभाविक ढङ्गले लिन, बुझ्न र ग्रहण गर्न सक्ने वातावरण श्रृजना गरिनु पर्दछ । अनुशासन भित्र राख्ने नराख्ने नाममा बालबालिकाको आधारभूत अधिकार, वयस्कहरुको दायित्व लगायतका विषयका आधारमा तय गरिनु हुँदैन । यस सन्दर्भमा बालबालिकाको सर्वोत्तम हितलाई ध्यान दिइनु, कुनै पनि आधारमा भेदभाव नगरिनु, दीर्घ जीवन र विकासलाई ध्यान दिइनु, विचार र भावनालाई उचित मान्यता दिइनु पर्ने कुरा कसैले बिर्सनु हुदैन ।

यसै गरी हाम्रा हरेक कार्यले बालबालिकाको बाँच्न पाउने, संरक्षण पाउने, विकास गर्न पाउने र सहभागी हुन पाउने बालअधिकारका चार पक्षहरुमा आघात पु¥याईनु हुदैन । कोही पनि बालबालिका अनुशासन विहीन हुन हुँदैन र अत्यन्त कडा, कठोर अनुशासनले पनि बालबालिकाको स्वभाविक विकासमा वाधा नै पु¥याउँछ भन्ने कुरामा सबैको ध्यान जानु आवस्यक छ । अनुशासन कायम गर्ने नाममा बालबालिकालाई अमानवीय सजायँ, डर र दवाव होईन समझदारी र सहभागितालाई प्राथमिकता दिनुपर्दछ । सही अनुशासनले बालबालिकालाई सिक्न सिकाउँछ तर सजायँले पीडा र वदलाको भाव पैदा गराउँछ । जिम्मेवारी लिएको ठान्ने र अरु अनुशासनमा बसेको देख्न चाहनेले आफु पनि अनुशासनमा रहनु अत्यावश्यक हुन्छ भन्ने कुरालाई बिर्सन हुदैंन ।

२. अनुशासन कायमका लागि आत्मविश्वास

अनुशासनलाई सही ढङ्गले परिभाषित गरी कार्यान्वयन गर्न नसकेमा त्यो कुशासन हुन पुगि त्यसले विद्रोह जन्माउँछ । कतिपय अवस्थामा विद्रोह आवश्यक र सकारात्मक पनि हुन सक्छ तर सही ढङ्गले समायोजन भएन भने परिणाम नकारात्मक हुन पुक्दछ । विभिन्न अनपेक्षित व्यवहारबाट बालबालिकाले आफ्नो विद्रोह जनाईरहेका हुनसक्छन् र त्यसलाई नियन्त्रण गर्न कडा अनुशासन पालनाका लागि सजायँ तोकियो भने विद्यालयमा अनुशासन कायम गर्ने नाममा धेरै अप्रीय घटनाहरु हुन सक्छन् । तसर्थ अनुशासन, सजाय र आत्मविश्वास बीच उचित समन्वय हुनु पर्दछ । बालबालिकालाई स्वनियन्त्रित बनाउन तथा उनीहरुको आत्मविश्वास बढाउन सकारात्मक ढङ्गमा सिकाईने कुरा नै अनुशासन हो । अनुशासनविहीन बालबालिकाहरु, आत्मसम्मान वा आत्मविश्वासका साथ हुर्कन सक्दैनन् । त्यसैगरी आत्मसम्मान विनाको अनुशासन कोरा बन्धन भई यसले बालबालिकाको स्वभाविक विकासलाई बाधा पु¥याउँछ ।

हामी बालबालिकाको कतिपय स्वभावमा परिवर्तन चाहन्छौं र त्यसैले उनीहरुका लागि कडा अनुशासन बनाउने पनि गर्दछौं । तर हरेक कुरामा यसो गर्नु हँुदैन, उसो गर्नु हुँदैंन मात्रै भन्यौं भने बालबालिकाको आत्मविश्वास कमजोर हुन्छ उनीहरुको व्यवहारमा स्वभावमा परिवर्तन ल्याउनु छ भने पनि सबै कुरामा एकै चोटी परिवर्तन ल्याउँछु भनेर हरेक कुरामा बञ्देज गर्नुहुँदैंन । जुन स्वभाव परिवर्तन गर्न अति आवश्यक छ, त्यो काम पहिला गर्नु पर्छ । सबै बालबालिकाको बुझ्ने, ग्रहण गर्ने, बिचार गर्ने क्षमताको विकास स्तरमा समानता नभएकोे कुरामा पनि ध्यान दिनु सक्नुपर्छ ।

३. बालबालिकासँगको सञ्चार सम्बन्ध

वयस्कहरुले गर्ने व्यवहार, अपनाइएका तौर तरिका र सञ्चार प्रक्रियाले बालबालिकालाई प्रभाव पार्छ र त्यसैबाट उनीहरुले धेरै कुरा सिक्ने तथा आफ्नो धारणाको विकास गर्ने गर्दछन् । व्यक्तिले अभिव्यक्त गरिरहेको विचार वा भावनाहरुलाई बुझ्ने र सोको प्रतिउत्तर दिने वा सो सम्बन्धी आफ्नो धारणा व्यक्त गर्ने कुराहरु सञ्चारमा पर्दछन् । त्यसैले राम्रो सञ्चार गर्नको लागि अरुका कुरा सुन्ने, अवलोकन गर्ने र बुझ्ने साथै तत्सम्बन्धमा आफ्ना विचार, अवधारणा, भावना, अनुभवलाई व्यक्त गर्दै भनिएको कुरा वा संदेशलाई स्पष्टसँग बुझ्न सहयोग गर्दछ ।  तर बालबालिकासँग गरिने सञ्चारसँग अनुशासन र सजायँ पनि सम्बन्धित गनिाले सञ्चारका लागि समस्या बन्दछ र सजायँ गरिन्छ । विद्यार्थीसँग सहि सञ्चारका लागि ध्यान दिनु पर्ने विषयहरुः

क) आवाजको तालः बालबालिकासँग कुराकानी गर्दा चर्को, कडा आवाज गर्नु हुँदैन साथै नरम बोली र कम गतिमा कुराकानी गर्नुपर्दछ । प्रसङ्ग अनुसार आवाजको तालमा फेरबदल हुदा कुराकानी प्रभावकारी हुन सक्दछ ।

ख) अनुहारका आकृति र हाउभाउः आफैले दिक्क भएको, अल्छी वा हताश भएको अनुहार लगाउँदै कुराकानी गर्नु हुदैन । उनीहरुसँग कुराकानी गर्न ईच्छुक भएको हँसिलो अनुहार लगाउनु पर्दछ । त्यसैगरी उनीहरुले भनेको कुरा प्रसङ्ग अनुसार हँसिलो तथा दुःखका कुरामा गम्भीर पनि हुनुपर्दछ ।

ग) हाँसो ठट्टाः बालबालिकासँग कुराकानी गर्दा सुहाउँदो हाँसो, ठट्टा गर्नाले उनीहरुलाई तनाव मुक्त बनाई व्यक्तिसँग सम्बन्ध र विश्वास बढाउन मद्दत गर्दछ । तर कहिलेकाहीं हाँसो ठट्टामा गरिने केही विषय या प्रसङ्गहरुले बालबालिकालाई असजिलो पनि बनाउन सक्ने, खिल्ली उडाए जस्तो हुन सक्ने हुँदा त्यस तर्फ पनि ध्यान दिनु पर्दछ ।

घ) आँखाको हेराइः कुराकानीको गर्दा बालबालिकाको अनुहारमा हेर्नुपर्दछ, जसबाट उनीहरुका अनुभूति केलाउन सकिन्छ । उनीहरुलाई सजिलो भईरहेको छ छैन बुझ्न सकिन्छ । यसो गर्नाले उनीहरुलाई आफु प्रति ध्यान दिईरहेको छ भन्ने अनुभव पनि हुन्छ । तर एकोहोरो र कुनै अङ्ग विशेष प्रतिको हेराईले कहिलेकाहीं बालबालिकालाई र अझ किशोरावस्थामा पुगेका बालिकाहरुलाई असजिलो पार्न पनि सक्छ ।

ङ) बसाइः सामान्यतयाः कुनै व्यक्तिसँग विशेष कुराकानी गर्दा एउटै सतहमा र केही छड्के परेर बस्नुपर्दछ । ताकि दुबैले दुबैलाई सजिलै पुरै देखुन् र आवश्यक पर्दा आफ्नो दृष्टि अन्यत्रै लान पनि सकुन् । त्यस्तै समुहमा कुराकानी गर्दा सबैले आफुलाई देख्न सक्ने र आफुले पनि सबैलाई देख्न सक्ने हुनु पर्छ ।

४.बालबालिकासँगको सञ्चारमा बाधा पुग्ने कारणहरुः

वयस्कहरुबाट जानेर वा नजानेर आफु मात्र धेरै बोल्ने, निर्णायक र आलोचनात्मक हुने, बालबालिकालाई गिज्याउने पाराले हाँस्ने, आक्रोशित हुने, जिस्क्याउने वा उडाउने, धेरै भावुक हुने वा आफै दिक्क हुने, विरोधाभाषपूर्ण तर्क वितर्क गरिरहने, बालबालिकालाई असजिलो हुने कुराकानी वा हाउभाउ गर्ने, बालबालिकाको आस्था, विश्वास वा जीवनशैलीलाई सम्मान नगर्ने, विश्वासको वातावरण सृजना नगर्ने जस्ता कार्यले बालबालिकाहरुमा सहि संचार हुन सक्दैन हुन्छ । तसर्थ यस्ता कुराहरु प्रति सचेत रही आफ्नो व्यवहारमा सुधार ल्याउनु पर्छ ।

बोलीचालीमा वा लिखतहरुमा जतिसुकै राम्रा कुराहरु भए तापनि निकै ठूला, महँगा र राम्रा भनिएका विद्यालयहरुमा पनि बालबालिकालाई अमानवीय ढङ्गले कुटपीट गरिएका, यातना दिइएका प्रसस्त घटनाहरु प्रकाशमा आउने गरेका छन् । कडा सजायले तत्काल क्षणिक रुपमा सुधार आउला त्यसले पार्ने गहिरो असरले बालबालिकाको विकासको कुनै न कुनै पक्षमा आघात पु¥याइरहेको हुन्छ ।

शिक्षकमा पनि एउटा भ्रम के छ भने हामी पनि पिटाई खाएर नै हुर्केका हौं, बालबालिकालाई त नपिटीकन ठीक पार्न सकिदैन । बालबालिकालाई सही ढङ्गले हुर्काउन, बढाउन, ध्यान नदिने कुराहरुमा ध्यान बढाउन, सिक्न, ठूलालाई आदर गर्न, ठीक गलत के हो भन्ने छुट्याउन, नियमहरुको पालना गर्न, कडा परिश्रम आदि गर्न लगाउनका निम्ति पिट्नु पर्ने आवश्यकता हुन्छ भन्ने गलत भ्रम छ । तसर्थ यस्तो पिट्ने भ्रमबाट मुक्त भई वैकल्पिक र सिर्जनात्मक उपायहरु निकाल्नु पर्दछ । यसका लागि शिक्षकहरुलाई पर्याप्त तालिम र अन्य अवसरहरु प्रदान गर्दै जानेका वा थाहा भएका कुराहरु रचनात्मक ढङ्गले व्यवहारमा प्रयोग गर्ने बानी विकास गर्नु पर्दछ ।

बालबालिकालाई अनुशासन आवश्यक हुन्छ तर त्यसका लागि स्वयम् अनुशासित हुनु पर्छ । कसैको डरले नियम पालना गर्ने नभई आफ्नै भावनाले नै गर्नु पर्छ भन्ने स्थिति सिर्जना गरिनु पर्दछ अभिभावक र शिक्षकले पनि । पिट्ने सजायले भई सकेको वा बितेको कुरालाई मात्रै समेटेको हुन्छ साथै अब के हुनु पर्छ भन्ने कुरा तर्फ ध्यान दिन सक्दैन । तसर्थ बालबालिकालाई केही कुरा भन्दै वा सम्झाउदैं वा केही व्याख्या गर्दै पिट्ने गरिन्छ । तर त्यस बेला उसले त्यो कुरा सुनिरहेकै हुँदैन । आफूलाई पीडा भै रहेको बेलामा उ रोई रहेको हुन्छ र सुनोस् पनि कसरी ? कक्षामा वा घरमै कुनै एउटा बालबालिकाले प्रायः त्यही गलत कामका कारण सधैं जसो कुटाई खाइ रहेको छ भने, त्यसबाट स्पष्ट हुन्छ कि पीटाईले उसलाई सुधार गरिरहेको छैन, बरु उसलाई नकारात्मक उत्साह वा बल मिलिरहेको हुन्छ ।
अनुशासनका नाउँमा शिक्षक वा अभिभावकले आफ्ना बालबच्चालाई शारिरीक, मानसिक वा संवेगात्मक पक्षमा आघात पारिने गरी दण्ड सजायँ कदापि गरिनु हुँदैन । बालमनोविज्ञान बुझेर अनीहरुले के खोजिरहेका छन् त्यसलाई सहि संचारद्धारा सकारात्मक ढंगबाट व्यवस्थापन गर्न सकेको खण्डमा सजायँको वैकल्पिक उपायहरु स्वत निस्कने हुन्छ ।

मैले पिटाई खाएरै आज यहाँ आएको हो यसलाई पनि पिट्नु पर्छ भन्ने मानसिकता त्याग्न नसक्ने व्यक्ति स्वयम शिक्षक बन्न लायक हुनै सक्दैन । अनुसासित विद्यार्थीको खोजि गर्ने शिक्षकले आफैले अनुशासनको पालना गर्दै दण्ड रहित कक्षा शिक्षणको वातावरण मिलाउन सक्नु पर्दछ यसका लागि कक्षाकोठामा सहि ढंगको संचार गराउदै अगाडी बढ्दा अनुशासन कायम गराउन सजायँको आवस्यकता नै देखिदैन । विद्यार्थी स्वयम आफैमा अनुशासित भई उनका लागि ति शिक्षक आदर्श र लोकप्रिय हुन सक्दछन् । अतः अनुशासनका लागि दण्ड र सजाय होईन बरु सहि संचारको संप्रेशण गर्नसक्नु असल शिक्षक र अनुशासित विद्यार्थी खोजिका लागि उचित मार्ग बन्न सक्दछ ।

खनाल शैक्षिक सामाजिक विषयको अध्ययन अनुसन्धानमा सकृय छन् ।

[email protected]

प्रतिक्रिया