Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

कारागारमा रहेको समता शिक्षा निकेतनको बार्षिकोत्सव

शनिबार, ०५ बैशाख २०७२

पर्सा ५ वैशाख / बीरगंञ्ज स्थित कारागारमा रहेको समता शिक्षा निकेतनले आफ्नो पहिलो बार्षिकोत्सव मनाएको छ । कारागारमा रहेका बालबालिका शिक्षाबाट बञ्चित नहोउन् भन्ने उद्धेश्यले स्थापित उक्त विद्यालयमा कक्षा ५ सम्म पढाई हुन्छ । विद्यालयमा कारागारमा रहेका ३५ सहित आसपासका विपन्न परिवारका गरी ८५ विद्यार्थी अध्ययनरत छन् ।

बार्षिकोत्सव संगै बार्षिक परीक्षाको नतिजा पनि सार्वजनिक गरिएको छ । उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरियो । समारोहमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुती गरेका थिए । 

शिक्षाको अवसरबाट बन्चित कैदीबन्दीका छोराछोरीले विद्यालयमा पठनपाठनको अवसर पाएकाले विद्यालय निरन्तर र निर्वाध रुपमा संचालन हुनु पर्ने सरोकारवालाहरुले बताएका छन् । विद्यालय सञ्चालन र निरन्तरताको जिम्मेवारी वीरगंजका बासिन्दाको भएको समेत बताए ।
समारोहमा भंसार एजेण्ट महासंघका केन्द्रीय उपाध्यक्ष श्यामबाबु पटेलले विद्यालयलाई ५ हजार ५ सय रुपैया आर्थिक सहयोग हस्तान्तरण गरे । नेका नगर सभापति महम्मद साहबुद्दिन र काँग्रेस नेता शेरु अन्सारीले विद्यालयका कर्मचारीका लागि आवश्यक १/१ महिनाको तलब सहयोग गर्ने घोषणा गरे । कारागारस्थित आत्मज्ञान प्रचार संघले पनि ५ हजार रुपैया आर्थिक सहयोगको घोषणा गर्यो । 

कार्यक्रममा प्रमुख अतिथि स्त्री एवम् प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापा, ट्राफिक प्रहरी निरीक्षक गोबिन्द कुमार कार्की, बिसीसी कलेजका शिक्षक बलराम श्रेष्ठ, आशाराम अस्पतालकी निर्देशक निभा दास, भन्सार एजेन्ट महासंघका केन्द्रीय उपाध्यक्ष श्यामबाबु पटेल, डा. मनोज गुप्ता, प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष सरदार जसपाल सिंह, नेपाली काग्रेस वीरगंज नगर कार्यसमितिका सभापति महम्मद साहबुद्दिन, पत्रकार शंकर आचार्य, जीवन ज्योती स्कुलकी संचालिका मिनाक्षी गुप्ता, जेलर गोपाल प्रसाद बराल, प्रधानाध्यापक रविना खातुन लगायतकाले शुभकामना ब्यक्त गरे ।

प्रतिक्रिया