Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

बाल आश्रमलाई शैक्षिक सामग्री वितरण

सोमबार, १९ माघ २०७१

धरान १९ माघ / आफ्नो रजत महोत्सवको अवसर पारेर विष्णु मेमोरियल उच्च माविले यहाँका विभिन्न बाल आश्रमलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

माघ १४ गते देखि देखि शुरु भएको महोत्सवको पाचौ दिन आइतबार सरस्वती बाल आश्रम धरान १४, अपाङ्ग पुर्नस्थापना केन्द्र धरान ४ र सम्यक शिक्षा समुह धरान १२ लाई शैक्षिक सामग्री प्रदान गरिएको हो । उक्त शैक्षिक सामाग्री विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुबाट संकलन गरिएको हो ।

विद्यालयका संस्थापक तथा निर्देशक श्याम कटुवालले सरस्वती बाल आश्रमका अध्यक्ष विकाश बनेपालीलाई २३ दर्जन कापी, १६ बट्टा बलपेन, ४५ बट्टा पेन्सिल, ९ बट्टा ईरेजर, ८ बट्टा कलर पेन्सिल, ८ वटा ज्यामिति बाकस, स्केल ५ थान, ब्याडमिन्टन २ थान, कक २ दर्जन र टिसर्ट २ थान प्रदान गरे ।

यसै गरि धरान ४ मा रहेको अपाङ्ग पुनस्थापना केन्द्रलाई पनि ३ दर्जन कापी र पेन्सिल प्रदान गरेको छ । साथै सम्यक शिक्षा समुहले संचालन गरेको विद्यालयका विद्यार्थीहरुका लागि शैक्षिक सामग्री प्रदान गरिएको छ । विद्यालयका सहप्राध्यापक कृष्ण प्रसाद पौडेलले समुहका अध्यक्ष अमृत शाक्यलाई शैक्षिक सामग्री हस्तान्तरण गरे । 

शैक्षिक सामग्री लिदै आश्रमका अध्यक्ष बनेपालीले विद्यार्थीको शैक्षिक उन्नतीका लागि विद्यालयले आश्रमको बोझ हल्का गरिदिएको बताए । आश्रममा रहेका १ जना बालकलाई विद्यालयले निःशुल्क अध्ययनको व्यवस्था गरिदिएको छ ।

सम्यक शिक्षा समुहका अध्यक्ष अमृत शाक्यले सम्यक छात्रवृत्ति कोषका लागि सहयोग गर्न शिक्षकहरुलाई आग्रह गरे ।

यसै गरि विद्यालयले धरान ७ स्थित बुद्ध मार्गमा जेब्रा क्रसिङ निर्माण गरेको छ । सवारी दुर्घटना कम गर्न धरानका दुई स्थानका व्यस्त सडकमा जेब्रा क्रसिङ बनाएको सह संयोजक तथा उमाविका प्राचार्य निलम कुमार श्रेष्ठले बताए ।

महोत्सवको अवसरमा सामाजिक कार्य संगै अन्तर विद्यालय प्रतियोगिताहरु संचालन हुने छन् । महोत्सवको समापनका दिन माघ २६ गते विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिने विद्यालयका संस्थापक प्रिन्सिपल बेनिन्द्र कटुवालले बताए ।

प्रतिक्रिया