Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

एनसिईको नयाँ कार्यसमिति

आइतबार, २७ पुस २०७१

काठमाडौं २७ पुस / शिक्षामा कार्यरत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाको सञ्जाल ‘शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल’ को नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको संस्थाको पाँचौं वार्षिक साधारण सभाले भोलियन्टर सर्भिस ओभरसिज (भिएसओ) का राजकुमार गन्धर्वको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । 

कार्यसमितिको खुल्ला उपाध्यक्षमा एजुकेट द चिल्ड्रेनका लक्ष्मी भक्त वासुकला, महिला उपाध्यक्षमा सिविस नेपालका शारदा कुमाल र महासचिवमा शिक्षा पत्रकार समूहका प्रकाश सिलवाल निर्वाचित भएका छन् । यसैगरी सचिवमा गाजा युवा क्लव (वाग्लुङ) का डिल्लीराम सुवेदी र कोषाध्यक्षमा पिसविन (बाजुरा) का लालबहादुर वली निर्वाचित भएका छन् । 

सदस्यहरुमा सिविन नेपालका कुमार भट्टराई, दलित सेवा समाजका चक्रमान विश्वकर्मा, धूलो रहीत कक्षा (डीएफसी) नेपालका केशव पाठक, चाइल्ड नेपालका अञ्जना नेपाल, दिदीबहिनी संस्थाका सान्त्वना देवकोटा, सिड नेपाल (पर्वत) का राजेन्द्र पहाडी र युनेस्को क्लव (बाँके) का सिराजुद्दिन खान तथा सामुदायिक विकास केन्द्र (डोटी) का सावित्री अवस्थी निर्वाचित भएका छन् ।

कार्यसमितिले सेभ द चिल्ड्रेनका डा. नारायण काफ्ले र एक्सन एड नेपालका शुभेन्द्रमान श्रेष्ठलाई सदस्यमा मनोनित गरेको छ । समितिमा निवर्तमान अध्यक्ष ग्लोबल एक्सन नेपालका बीके श्रेष्ठ पदेन सदस्य रहने छन् । शिक्षक समुदायबाट एक सदस्य पछि थप हुनेछ ।
नवनिर्वाचित अध्यक्ष गन्धर्वलाई निवर्तमान अध्यक्ष बिके श्रेष्ठले पद हस्तान्तरण गरे । अध्यक्ष गन्धर्वले सञ्जालको दीर्घकाली लक्ष्य र उद्देश्य पूर्तिमा लागिपर्ने र यसमा सबैको सहयोगको अपेक्षा गरे ।

शिक्षाका लागि विश्वव्यापी अभियानको नेपाल शाखा रही एक दशक अघि स्थापित सञ्जालमा हाल ३८ जिल्लामा २ सय १२ संस्था आवद्ध छन् ।
यस अघि राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा एमाओवादीका सभासद् डीआर पौडेल, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य गौरी प्रधान, नेपाल सरकारका पूर्व सचिव महाश्रम शर्मा, शिक्षाविद् डा. मनप्रसाद वाग्ले, एसिया साउथ प्यासिफिक एसोसिएसन फर बेसिक एण्ड एडल्ट एजुकेशनका सञ्चालक समिति सदस्य सलोनि सिंह, शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डे, युनेस्को नेपालका प्रतिनिधि तपराज पन्त, राष्ट्रिय महिला आयोगका सदस्य भगवती घिमिरे, अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था, शिक्षा कार्य समूहका संयोजक केदार तामाङ, एनसिइ नेपालका पूर्व अध्यक्ष बाबुराम अधिकारी लगायतले शुभकामना ब्यक्त गर्दै गुणस्तरीय शिक्षाका लक्ष्य प्राप्तिको अभियानलाई बढाउन सुझाव दिए । 

सभाले निवर्तमान सचिव लवराज वली र निवर्तमान कोषाध्यक्ष सपना कँडेलद्धारा प्रस्तुत प्रतिवेदन पारित गरेको छ । यस्तै विधान मस्यौदा समितिका तर्फबाट लालबहादुर वलीद्धारा प्रस्तुत संशोधन प्रस्ताव पनि पारित भएको छ ।

तस्बिर : सिलवालको फेसबुकबाट 

प्रतिक्रिया