Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

परीक्षाको तयारी पुरा, मर्यादित बनाउन आवश्यक प्रवन्ध गरिएको दावि

विहीबार, १३ बैशाख २०७५

भक्तपुर - शुक्रबार देखि शुरु हुने कक्षा १२ को परीक्षाको तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । विहान ७ बजेदेखि १० बजेसम्म देशभरका १ हजार ५१ केन्द्रमा परीक्षा सञ्चालन हुने छ । परीक्षाका लागि २ लाख ८ हजार २ सय ७६ छात्र र २ लाख ६ हजार ९ सय ७५ छात्रा गरि कूल ४ लाख १५ हजार २ सय ५२ परीक्षार्थीले फारम भरेको बोर्डले जनाएको छ । कक्षा १२ मा सबै भन्दा धेरै काठमाडौंबाट ६१ हजार ९ सय २६ तथा सबैभन्दा कम मनाङ्गमा ८८ जना परीक्षार्थी सहभागि हुने भएका छन् ।

सबैभन्दा बढी काठमाडौंमा १ सय १४ र सबैभन्दा कम मनाङ्ग र मुस्ताङ्गमा एक–एक वटा परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा तयारीका बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

वैशाख ३० गतेबाट सुरु हुने कक्षा ११ को परीक्षाको पनि आवश्यक तयारी पुरा भएको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारीदिए ।

साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेट बृद्धि एवं आंशिक तर्फको परीक्षाका लागि देशभरका ३ हजार ९१२ विद्यालयका कक्षा १२ र ११ मा गरि कूल ९ लाख ६६ हजार २१० परीक्षार्थी परीक्षामा सहभागि हुने भएका छन् ।

कक्षा ११ तर्फ २ लाख ६३ हजार १ सय ६८ छात्र र २ लाख ८७ हजार ७ सय ९१ छात्रा गरि कूल ५ लाख ५० हजार ९ सय ५८ परीक्षार्थी सहभागि हुने भएका छन् । जस अन्तर्गत सबैभन्दा बढी परीक्षार्थी काठमाण्डौबाट कक्षा ११ मा ७४ हजार १२७ सहभागि हुने भएका छन् ।

परीक्षामा १ हजार ५१ केन्द्राध्यक्ष, १ हजार ८ सय ८८ सहायक केन्द्राध्यक्ष, २० हजार ८ सय ६३ निरीक्षक, १ हजार ६० परीक्षा केन्द्रमा खटिने कर्मचारी, २ हजार १ सय २० कार्यालय सहयोगी, १२ हजार ७ सय २० सुरक्षाकर्मी गरि कूल ३९ हजार ७ सय २ जनशक्ति परिचालन गरिने अर्यालले बताए । कक्षा १२ को परीक्षा आगामी २७ गते सम्म र वैशाख ३० गतेबाट शुरु हुने कक्षा ११ को परीक्षा जेठ २९ गते सम्म सञ्चालन हुनेछ ।

परीक्षा सकिएको ९० दिन भित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको नियन्त्रक डम्बर बतासले दावी गरे । परीक्षा मर्यादित बनाउन आवश्यक सबै प्रवन्ध गरिएको उनले बताए ।
परीक्षामा अमर्यादित काम गरेको पाईएका ६ महिना कैद र एक लाख रुपैंया सम्म जरीवाना हुने व्यबस्था गरिएको उनले बताए ।

प्रतिक्रिया