Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

महंगा विद्यालयमा सन्तान पढाउनेको कमाई छानविन गर्न माग

विहीबार, २० बैशाख २०७५

काठमाडौं - सत्ताधारी दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ्ले महंगा विद्यालयमा सन्तान पढाउनेको कमाई छानविन गर्न माग गरेका छन् । महंगा विद्यालयमा सन्तान पढाउनेहरु टेवुल मुनिबाट कमाउनेहरु भएको शंका गर्दै उनले त्यस्ता विद्यालयमा सन्तान पढाउनेहरुको आर्थिक अवस्था छानविन गर्न माग गरेका हुन् ।

'एक जना सरकारको सचिवको कमाई कति हुन्छ ? हामीलाई थाह छैन ? उनीहरु कसरी पढाउन सक्छन् रातो वंगलामा ? यो उनीहरुको टेवल मुनिबाट कमाएको पैसाले सम्भव भएको हो' बिहीबार रिपोर्टर्स क्लवले गरेको छलफलमा उनले भने, 'विद्यालय सञ्चालकहरुलाई सिंहदरवारका केही कर्मचारीहरुको संरक्षण भएकोले उनीहरुलाई नीयमन गर्न राज्य असफल हुँदै आएको हो ।'

तर, उनले त्यस्ता विद्यालयलाई गर्ने नियमनका बारेमा भने कुनै स्पष्ट पारेनन् । बरु बढाएको शुल्क फिर्ता गर्न निजी विद्यायल सञ्चालकहरु राजि हुने हो भने आफूहरुले उनका संगठनहरुमा गरेकोे तालाबन्दी तत्कालै खोल्ने दावी गरे ।

‘निजी विद्यालयले मनोमानी रुपमा शुल्कवृद्धि गरेका छन् शुल्कका बारेमा ब्यवस्था गर्न बनेको निर्देशिका कुनै विद्यालयले पालना गरेका छैनन्’ उनले भने, ‘सिंहदरबारका कर्मचारीहरु नै बिक्रि भएका छन्, नियमनमा रहेका कर्मचारीहरु माथि शंका छ, अबका केही समय भित्र शुल्कवृद्धि फिर्ता नभए कडा आन्दोलन हुन्छ ।’

शुल्क वृद्धि फिर्ताको माग गर्दै विद्यार्थी सँगठनहरुले निजी विद्यालय सञ्चालकहरुका संगठनको कार्यालयमा तालाबन्दी गरेका छन् । भर्नाका नाममा लाखौं उठाउने निजी विद्यालयलाई नियमन गर्न छाडेर साना तिना कुरालाई देखाएर विद्यार्थी सँगठनका नेताहरुले 'वार्गेनिङ्' गरेको आरोप लागिरहेका बेला तामाङ्ले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले आफूहरुको आन्दोलन वार्गेनिङ् भएको पुष्टि गर्न चुनौती दिदैं यदि त्यस्तो पुष्टि भएमा सार्वजनिक जीवनबाट राजिनामा गर्ने घोषणा गरे । निजी विद्यालयलाई अराजक बनाउने काम सरकारले नै गरेको आरोप लगाउँदै उनले प्रधानमन्त्री केपी ओलीको सरकार जल गैंडा जस्तो रहेको भन्दै ब्यङ्य गरे ।

‘न उठ्न सक्ने न सुत्न सक्ने, केही पनि नगर्ने, यो गर्छ, उ गर्छ भन्छ मात्रै केही गर्दैन' सरकार जल गैंडा जस्तो भन्दै उनले भने ‘निजी विद्यालयले बढाएको शुल्क र शिक्षाका बारेमा ज्ञापन पत्र बुझाउन हामीले डेढ महिनादेखि समय मागिरहेका छौं तर उहाँले भेटको लागि समय समेत दिनुभएको छैन, यसबाटै पुष्टि हुन्छ यो मुद्धामा सरकार गम्भिर छैन ।’

कार्यक्रममा अनेरास्ववियुका कोषाध्यक्ष झपिन्द्र खत्रीले निजी विद्यालयले बढाएको शुल्कवृद्धि यथाशक्य फिर्ता लिन आग्रह गर्दै मनपरि शुल्क वृद्धि गर्ने काम भएकोले त्यो फिर्ता नभए सम्म आन्दोलन जारी रहने बताए ।  
निजी विद्यालयको शुल्कको मुद्धा हरेक शैक्षिक सत्रको शुरुमा उठाउनु पर्ने अवस्था कर्मकाण्डि भएको बताउँदै विद्यार्थी नेताहरुले सार्वजनिक शिक्षा सुधार गर्ने हो भने निजीको मनोमानी स्वत घटेर जाने पनि बताए । यसका लागि सार्वजनिक शिक्षाको बजेट २० प्रतिशत छुट्याउन उनीहरुको माग थियो ।

कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनका अध्यक्ष विजय साम्वाहाम्फेले सरकारी नियम र शिक्षा सम्बन्धि सम्पूर्ण निर्देशिकाको पूर्ण पालना गरेको दावी गरे । आफूहरुले नीयम पालना नगरेको भए राज्यका नियमनकारी निकायले कारवाही गर्नु पर्ने उनको तर्क थियो ।

‘हामीले नियम र नीति मानेका छौं, हाम्रा स्कुलले सरकारी नीति तथा निर्देशिकाको पूर्ण पालना गरेका छन्' उनले भने 'विद्यार्थीहरुले आन्दोलन र ताला लगाएर समस्या समाधान हुँदैन ।’

कार्यक्रममा एन–प्याब्सनका महासचिव सुवास न्यौपानेले मुुलुकमा रहेका ८ हजार निजी विद्यालय मध्ये ८– १० वटाले शुल्क बढाएको हुन सक्ने बताउँदै विद्यार्थी संगठनहरुले कुरै नबुझी आफ्ना कार्यालयमा तालाबन्दी गरेको गरेको दावी गरे ।

‘समस्याको जरो पत्ता लगाउनुपर्छ, विद्यार्थी संगठनहरुको ताला लगाउने आन्दोलनको रुप अझैं जारी छ, मुलुक धेरै परिवर्तन र विकासको बाटोमा हिडिँसक्यो, हाम्रा विद्यार्थी संगठनहरुले ताला लगाउने आन्दोलन फेर्न सक्नुभएन' उनले भने, 'हाम्रो मुुलुकमा ८ हजार निजी विद्यालय दर्ता छन्, जसमध्ये निक्कै महँगा भनिएका विद्यालयको संख्या १० जति होला, विद्यार्थी संगठनहरुले कुरै नबुझी आन्दोलन गर्छौं मात्रै भनेर हुन्छ ?’

अभिभावकको किन महँगो विद्यालयमा भर्ना गरेको छ भन्ने तर्फ बुझ्न विद्यार्थी नेताहरुलाई उनले सुझाव दिए ।

कार्यक्रममा अभिभावक संघका अध्यक्ष केशव पुरीले निजी विद्यालयले गर्ने निरन्तरको शुल्कवृद्धिले अभिभावकलाई ठूलो मर्का परेको बताउँदै सरकारी निकाय गम्भिर हुनुपर्ने बताए ।

प्रतिक्रिया