Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

जग्गा दिएर योगदान गर्नेलाई सम्मान

शनिबार, ०५ साउन २०७५

काठमाडौं - जग्गा दिएर योगदान गरेको भन्दै त्रिभुवन विश्वविद्यालयले विभिन्न दातालाई सम्मान गरेको छ । विश्वविद्यालय  अन्र्तगतका क्याम्पसहरुलाई जग्गा दान गरेका दातालाई विश्वविद्यालयले सम्मान गरेको हो । विश्वविद्यालयको ५९ औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा उनीहरुलाई प्रधानमन्त्री एवं कुलपति केपी ओली, शिक्षामन्त्री एवं सहकुलपति गिरिराजमणि पोखरेल, उपकुलपति प्रा.डा. तीर्थ खनियाले उनीहरुलाई सम्मान गरेका हुन् ।  

मेची क्याम्पस, झापालाई १ सय २० विगाहा ३ कठ्ठा ५ धुर जग्गादाता  स्व. देवीप्रसाद उप्रेती, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराजलाई ९८ विगाहा १८ कठ्ठा ७ धुर जग्गादाता स्व. विन्देश्वरप्रसाद यादव र ठाकुरराम क्याम्पस वीरगञ्जलाई वि. सं. २००९ सालमा १४ विगाहा जग्गा दान गर्ने स्व. महावीरप्रसाद र स्व. रघुवीर रामलाई सम्मान गरिएको छ ।

यसैगरी सूर्यनारायण, सत्यनारायण मरवैता यादव क्याम्पस, सिराहालाई ५ विगाहा, १७ कठ्ठा ११ धुर जग्गा र ३४ कोठे मुल शैक्षिक भवन र ३४ कोठे छात्रावास भवन समेत दान गर्ने स्व. सूर्यनारायण मरवैता र स्व. सत्यनारायण मरवैता र जनकपुरस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसलाई ५७ विगाहा, १४ कठ्ठा, ५ धुर जग्गा प्रदान गर्ने स्व. रामस्वरुप शाह र स्व. रामसागर शाहलाई मरणोपरान्त सम्मान गरिएको हो ।
दाताहरुको परिवारका सदस्यहरुलाई त्रिवि केन्द्रिंय कार्यालयको मुल गेटबाट कार्यक्रम स्थलसम्म गाडिमा चढाएर घुमाईएको थियो ।

वार्षिकोत्सवको अवसरमा त्रिविले २५ वर्ष निरन्तर सेवा अवधि पुरा गरेका विभिन्न कार्यालय, क्याम्पसहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरु गरी २ सय ६६ जनालाई दीर्घ सेवा पदकबाट सम्मान गरेको छ ।
यस अघि शनिबारै बसेको त्रिवि वार्षिक सभाको बैठकले शैक्षिक सत्र २०७४–०७५ मा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि उत्तीर्ण विभिन्न संकाय तथा अध्ययन संस्थान अन्तरगत कुल ७३ हजार ९ सय १ जना विद्यार्थीको ५६ औं ग्रेस लिस्ट स्वीकृत गरेको छ । सभामा कुल ४३ सभासद्को सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको खबर पढ्नुहोस् : प्राज्ञलाई पढाउँदै प्रधानमन्त्री !

प्रतिक्रिया