Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

लोकतन्त्र र समृद्धिका लागि सार्वजनिक शिक्षा प्रति गम्भिर हुन आह्वान

आइतबार, ०६ साउन २०७५

काठमाडौं - सार्वजनिक शिक्षा सुदृढ नभईकन लोकतन्त्र र समृद्धि हासिल गर्न नसकिने भन्दै सरोकारवालाहरुले त्यस तर्फ गम्भिर हुन आह्वान गरेका छन् । कीर्तिपुर स्थित राराहिल मेमोरियल स्कुल र मूल्याँकन प्रकाशन गृहले शनिबार गरेको लोकतन्त्र, समृद्धि र सार्वजनिक शिक्षा प्रणाली विषयक कार्यक्रमका सहभागीहरुले संघीय सहित स्थानीय सरकार र सरोकारवालालाई निरन्तर झक्झक्याई रहनु पर्ने अहिलेको आवश्यकता भएको निष्कर्ष निकालेका हुन् । 

कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधि सहित शिक्षाविद्, शिक्षक, शिक्षाका क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधि लगायत शैक्षिक क्षेत्रका सरोकारवालाहरुको सहभागिता मूलक उपस्थिती थियो । 

अन्र्तकृयामा मुल प्रस्तुती दिदैं उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य समेत रहेका शिक्षाविद् विमल कुमार फुयालले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य पुरा गर्न सार्वजनिक शिक्षाको रुपान्तरण र सदृढिकरणको विकल्प नभएको उल्लेख गरे । 

लोकतन्त्र र समतामूलक समुन्नतीका लागि सार्वजनिक विद्यालयहरुको सुदृढिकरण शिर्षकमा केन्द्रित भएर उनले  सार्वजनिक शिक्षाको सुधारबाट शुरु गरेमा संविधानले गरेको समाजवाद उन्मुख राज्य निर्माणको लक्ष्यले मूर्त रुप लिने दावि गरे । 

'कस्तो मान्छे बन्ने र बनाउने भन्ने कुरा शिक्षाले तय गर्ने भएकोले सार्वजनिक शिक्षालाई स्थानीय तहमा जरा गाडेको र विश्व तहमा सम्बन्ध गाँसेको रुपमा ब्यवस्थापन गर्नु अहिलेको मुख्य आवश्यकता हो' उनले भने, 'कानून अन्र्तगत चल्ने र राज्यको हस्तक्षेपबाट मुक्त सामुदायिक विद्यालय निर्माणको बेला आएको छ ।' 

विद्यालयको प्राज्ञिक र ब्यवस्थापकीय नेतृत्व भिन्दा भिन्दै गराउनु पर्ने आवश्यकता औल्याउँदै फुयालले सार्वजनिक विद्यालयलाई एक स्वायत्त संस्थाका रुपमा विकास गर्न आवश्यक रहेको बताए । 

कार्यक्रममा एडुखबरका सम्पादक श्रीधर पौडेलले सार्वजनिक शिक्षाको आजको अवस्थाका बारेमा प्रस्तुती दिदैं नीति निर्माण तहमा बसेका देखि कक्षा कोठामा रहने शिक्षक मध्ये अधिकाँशमा जिम्मेवारी बोध नहुँदा सार्वजनिक शिक्षा खस्केको उल्लेख गरे । ८३ प्रतिशत नागरिकको पहुँचमा रहेको सार्वजनिक शिक्षा सुधारको विकल्प नभएको बताउँदै उनले विद्यालय तह सम्मको शिक्षा सञ्चालनको अधिकार स्थानीय सरकार मातहत भएको अवस्थामा अब स्थानीय तहले सुधार गर्ने अपेक्षा गरेको उल्लेख गरे । 

कार्यक्रममा जनसेवा मावि पाङ्गाकी प्रधानाध्यापक नन्दकुमारी महर्जनले सार्वजनिक शिक्षाका पक्षधरहरुमा सकारात्मक विचार र सोही अनुसारको कर्म हुने वित्तिकै सुधार हुने दावि गरिन् । सुधारका लागि शिक्षक नै महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै उनले यस क्षेत्रका विद्यालयका प्रधानाध्यापकहरु नियमित छलफलमा जुटेर सुधारको कार्य गरिरहेको उल्लेख गरिन् । 

कार्यक्रममा मूल्याँकन प्रकाशन गृहका प्रधान सम्पादक हरिगोविन्द लुईटेलले समाज र शिक्षालाई छुट्याएर हेर्न नमिल्ने भन्दै नेतृत्वको विचारमा स्पष्टता नहुँदा सार्वजनिक शिक्षाको अवस्था कमजोर भएको उल्लेख गरे । 

'हाम्रा नेताहरुको त्याग र संघर्षमा शंका भएन, त्याग र बलिदानको ईतिहास गज्जब राम्रो छ, तर विचारमा स्पष्टता नहुँदको अवस्थामा सार्वजनिक शिक्षा छ' उनले भने, 'के भयो भने शिक्षा जनपक्षीय र लोकतान्त्रिक हुन्छ भन्ने सम्मको स्पष्टता पनि भएन ।'

कार्यक्रममा कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्काले सार्वजनिक शिक्षा सुधारका लागि अवसर र चुनौती दुवै आएको उल्लेख गर्दै आफूहरु सार्वजनिक शिक्षा सुधारका लागि आवश्यक श्रोतमा कमी हुन नदिने प्रतिवद्धता ब्यक्त गरिन् । आफूहरुले सार्वजनिक शिक्षामा गरेको काम कीर्तिपुरका लागि मात्रै नभएर ७ सय ५३ वटै स्थानीय सरकारका लागि उदाहरणीय हुने उनको प्रतिवद्धता थियो । 

कार्यक्रममा प्राकृतिक संग्राहलयका निर्देशक डा. धर्म डंगोलले विद्यार्थीलाई प्राकृतिक श्रोत पहिचानका लागि समेत सकृय बनाउँदै अघि बढ्न शिक्षकहरुलाई आग्रह गर्दै यस तर्फ स्थानीइ सरकार र विद्यालयसँग सहकार्य गर्न ईच्छुक भएको उल्लेख गरे । 

श्रोत ब्यक्ति खगराज जोशीले सार्वजनिक शिक्षा खस्कनुको सबै दोष शिक्षकलाई दिनु गलत हुने तर्क गर्दै आवश्यक ऐन नियमको अभावले भने जस्तो सुधार हुन नसकेको दावी गरे । 

त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक रामकृष्ण महर्जनले शिक्षाका सवालमा संघीय सरकारका कामहरु हचुवाको भरमा अघि बढेको भन्दै आपत्ति जनाए । पछिल्लो समय जारी भएको भनिएको पाठ्यक्रम प्रारुप विना छलफल र सुझबुझ पूर्ण तरिकाले नआएको भन्दै उनले आपत्ति जनाए । पाठ्यक्रमलाई उदाहरण मात्रै मानेर सार्वजनिक शिक्षाका अन्य क्षेत्रमा पनि संघीय सरकार हचुवाका भरमा अघि बढेको त हैन ? भन्दै उनले शंका ब्यक्त गरे ।  

विद्यार्थी मदन अर्यालले पछिल्लो समय सार्वजनिक, सामुदायिक र सरकारी शिक्षा भनेर अलमल भएको भन्दै यस्ता विषयमा स्पष्टताको खाँचो रहेको बताए । 

रत्नराज्य क्याम्पसमा अध्यापनरत सुदीप श्रेष्ठले देश र जनताको चाहना विपरित नीति नियम बनाउँदा सार्वजनिक शिक्षा खस्केको तर्क गर्दै सार्वजनिक विद्यालयहरु प्रति बढ्दो अविस्वासको कारण पत्ता लगाउन आग्रह गरे । आफूहरु सामुदायिकमै पढ्ने तर सन्तान नपढाउने क्रमले पनि स्तर खस्केको उनको निष्कर्श थियो । 

त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक शिवशरण महर्जनले सार्वजनिक शिक्षामा राज्यको लगानी घट्नले गरीब मुखि शिक्षा नीति नभएकोले पुष्टि गरेको बताउँदै विज्ञान र प्राविधिक शिक्षा गरीबका सन्तानले पढ्न नसक्ने गरी भएको ब्यवस्था तत्काल सच्याउनु पर्ने उल्लेख गरे । 

सामाजिक कार्यकर्ता पुजा रोकाले सीप नभएको पढाईले अवसर सृजना नहुने बताउँदै यस तर्फ ध्यान दिन नीति निर्मातालाई आग्रह गरिन् । आदीनाथ माविका प्रधानाध्यापक जुजुभाइ महर्जनले शिक्षकलाई तालि दिनु साटो सँधै गाली गरेर सुधार नहुने बताए । सार्वजनिक विद्यालय कमजोर नभएको दावी गर्दै उनले सामुदायिक र निजी विद्यालयका विद्यार्थी परिवर्तन गरेर केही समय पढाएर नतिजा हेर्न चुनौती दिए । 

लेखक बन्दना ढकालले विभेद र हिनताबोधको कुरा पाठ्यक्रमबाटै शुरु भएको उल्लेख गर्दै त्यहीबाट सुधार नथाली सार्वजनिक शिक्षाको स्तर नसुध्रने दावी गरिन् ।

टौदह माविका प्रधानाध्यापक सोभितराम कार्कीले शिक्षालाई श्रमको सम्मान गर्ने खालको बनाउनु ध्यान दिन आग्रह गरे । 

कार्यक्रममा राराहिल स्कुलका अध्यक्ष तुल्सीदास महर्जनले आफूहरु सरकारी स्कुल नभए पनि सामुदायिक भएको दावि गर्दै समाज रुपान्तरण र विकासका लागि शिक्षा मार्फत् अभियान सञ्चालन गरेको उल्लेख गरे । 

प्रिन्सिपल जगतबहादुर महर्जनले मूल्यमा आधारित शिक्षा प्रणालीको विकास गर्न अन्र्तकृया गरेको बताउँदै आगामी दिनमा सार्वजनिक शिक्षाका पक्षका अन्य विषयमा  थप अन्र्तकृया गर्दै जाने जनाए । 

२०४६ सालको जनआन्दोलनमा शहीद भएका चार जना युवाको स्मरणमा २०४९ सालमा स्थापना भएको यो स्कुल पहिले निजीका रुपमा शुरु भए पनि निजी गुठि हुँदै अहिले सार्वजनिक गुठिका रुपमा सञ्चालित छ । 

प्रतिक्रिया