Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विदेशमा शिक्षा

प्रधानमन्त्री भवन शैक्षिक संस्थाको प्रयोगमा !

मंगलबार, १५ साउन २०७५

काठमाडौं - निर्वाचनमा सबैभन्दा धेरै मत पाएर सत्ता सम्हाल्ने तयारीमा रहेको पाकिस्तान तेहरिकए इन्साफ पार्टी (पीटीआई) का नेता इमरान खानले प्रधानमन्त्री भवनलाई शैक्षिक संस्थाको प्रयोगमा ल्याउने घोषणा गरेका छन् । आफूलाई प्रधानमन्त्रीका रूपमा घोषणा गर्दै उनले आफू त्यस्तो महँगो 'हबेली' मा नबस्ने उद्घोष गरेका हुन् । 

सरकारी खर्च कम गर्दै शुसासनमा सुधार ल्याउन वाचा गरेका खानले युवालाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्ने बताए । उनले लाखौं पाकिस्तानी अझै पनि गरीबीको रेखामुनि बाँच्न विवश रहेको अवस्थामा आफू प्रधानमन्त्रीका लागि बनाइएका महँगा हबेलीमा बस्न नसक्ने बताएका हुन् ।

'यो यस्तो देश जसको आधा आवादी गरीबीको रेखा मुनी छ, मलाई प्रधानमन्त्री भवनमा बस्न लाज लाग्ने छ' अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका उनले आफ्नो सम्बोधनमा भनेका छन्, 'प्रधानमन्त्री भवन के गर्ने भन्ने कुरा सरकारले तय गर्ने छ, यसलाई कुनै शैक्षिक संस्थाको उपयोगका लागि प्रयोग गर्न सकिने छ । प्रधानमन्त्रकिा लागि कतै सानो ठाउँ लिईने छ ।' 

उनले सरकारी भवनहरुको प्रयोग जनहितमा गर्ने पनि उल्लेख गरेका छन् । 

बेलायती मोडलमा आधारित कल्याणकारी राज्य प्रणाली अवलम्बन गर्ने उल्लेख गर्दै उनले आफू प्रधानमन्त्रीका रूपमा कम खर्चिलो जीवनयापन गर्ने बाचासमेत गरेका छन् । 

उनले आफ्नो भाषणमा मुलुकका करदाताहरूको रकमको रक्षा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । 

‘यो मुलुक जहाँ गरिबी बढेकै छ र समानतासहितको पाकिस्तान बनाउने हाम्रो ठूलो सपना पनि भताभुंग भएको अवस्था छ’ पूर्व क्रिकेट नायक खानले गलत क्रियाकलापलाई ठीक ट्रयाकमा ल्याउने बाचा समेत व्यक्त गरे ।

 

प्रतिक्रिया