Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

शिक्षा अभियन्ताको स्मरण

विहीबार, १७ साउन २०७५

काठमाडौं - शिक्षा क्षेत्रमा कृयाशिल विभिन्न ब्यक्तिहरुले शिक्षा अभियन्ता स्व. प्रकाश सिंह अधिकारीको योगदानको स्मरण गरेका छन् । आफ्ना संस्थापक सदस्यहरु मध्येका एक अधिकारीको स्मरणमा शिक्षाका लागि राष्ट्रिय अभियान एनसीई नेपालले गरेको स्मति सभामा बोल्ने उनका सहकर्मी तथा परिवारका सदस्यले शिक्षाका सवालमा उनले अघि सारेको अवधारणा कार्यान्वयन गरेमा उनी प्रति सच्चा श्रद्धाञ्जली हुने भन्दै यस तर्फ आआफ्नो प्रतिवद्धता ब्यक्त गरे । 

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गौरी प्रधानले सबैका लागि शिक्षाका पक्षमा उनले शुरु गरेको अभियानलाई बालबालिकाको सार्थक शिक्षा प्राप्त गर्ने अभियानमा केन्द्रित गर्नु पर्ने खाँचो औल्याए । उच्च स्तरीय शिक्षा आयोगका सदस्य तथा शिक्षा अभियन्ता विमल फुयालले राज्यको बदलिदों परिवेशमा उनले अबलम्बन गरेको समुदाय केन्द्रित सिकाइको अवधारणा अझै सान्दर्भिक भएको भन्दै शिक्षा आयोग मार्फत बन्ने नयाँ शिक्षा नीतिमा यस विषयलाई समेट्ने प्रतिवद्धता ब्यक्त गरे । 

यस्तै भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले अधिकारीलाई अनौपचारिक शिक्षाका अभियन्ता मात्रै भन्दा अन्याय हुने भन्दै समग्र शिक्षा क्षेत्रमा उनले पुर्याएको योगदानको स्मरण गरे । 

कार्यक्रममा अधिकारीकी श्रीमती तथा सामाजिक अभियन्ता सलोनी सिंहले परिवारमा परेको दुखद् घटनाले आफू भावुक बने पनि शिक्षा र विकासको पक्षमा अधिकारीको धैर्यताले उक्त अभियान पुरा गर्ने हिम्मत दिएको उल्लेख गरिन् । सार्वजनिक शिक्षा सुढृढीकरण र अनौपचारिक शिक्षाको क्षेत्रमा उनले पु¥याएको योगदान र उनका सहकर्मीहरुको स्मरण सहित स्मृति ग्रन्थ प्रकाशन गर्ने योजना बनाएको उनले बताईन् । 
एनसीई नेपालका अध्यक्ष कुमार भट्टराईले अधिकारीको निधन सँगै समाजले सार्वजनिक शिक्षा सुढृढीकरणको क्षेत्रका नागरिक अभियन्तालाई गुमाएको भन्दै उनको अवधारणालाई थप सकृयताका साथ अघि बढाउने बताए ।  

कार्यक्रममा पूर्व सचिव महाश्रम शर्मा, शिक्षा आयोगका सदस्य डा. बाबुराम अधिकारी लगायतले अधिकारीको योगदानको स्मरण गरेका थिए । 

गत जेठ ८ गते निधन भएका अधिकारी मुख्यतया अनौपचारिक शिक्षाका अभियन्ता हुन् ।

 

प्रतिक्रिया