Edukhabar
बुधबार, १२ बैशाख २०८१
जिव्रो

गणित सरलाई प्रश्न

बुधबार, १६ माघ २०७५

Durga Lamichhane Maapremrupa

 

२ एकान २, २ दुना ४
२ मा २ जोडे ४, ४ मा २ घटाए २
६ लाई २ ले भाग गर्दा ३, बाँकी नि:शेष
५ लाई २ ले भाग गर्दा २, बाँकी १ शेष
यही होइन त सर तपाईँले मलाई पढाउनु भएको ?

अंक गणित, बिज गणित, ज्यामिती
खुब पढाउनु भयो ऐकिक नियम र सम्भाव्यता सिद्धान्त 
गणित भनेपछि कञ्चटका रौं चट् चट् हुने म
सोध्थें, सर यी सब कहाँ काम लाग्छन् ?

तपाईं भन्नुहुन्थ्यो, राम्ररी पढ पछि जिन्दगीमा काम लाग्छ ।
सरले भनेपछि पक्कै हो, ठानें र खुब पढें
जिन्दगीमा काम लाग्ने भएपछि मन जगाएर पढें 
परीक्षा आयो, नतिजा आयो, काम लाग्यो 
प्रमाणपत्र आयो, सबै खुसी भए, काम लाग्यो

अन्तर्वार्तामा गएँ
सोचेकी थिएँ, २ एकान कति हुन्छ, सोध्छन् होला 
सोधियो, तलब कति चाहँनुहुन्छ ?
उत्तर अंकमै दिनु थियो
त्यसैले जोड लगाएर, 
निधार खुम्च्याएर सम्झिन खोजेँ,
यस्को उत्तर गणितको कुन च्याप्टरमा थियो भनेर

पाइचार्टमा छ कि, रुटमा छ कि, 
या छ जुँगे कोष्टभित्र, सम्झिन खोजेँ
चिट् चिट् पसिना आयो
तर उत्तर आएन सर ।

सम्बन्धको गणितमा केले केलाई गुणन या भागा गर्ने,
खुट्याउन जानिनँ
दु:खलाई केले भाग गर्दा नि:शेष हुन्छ
अनि खुसीलाई केले गुणन गर्दा नतिजा ठूलो आउँछ
पत्तो पाउन सकिनँ, सर ।

राग, द्वेष, मोह, ईर्ष्या, अहंकार
कुन च्याप्टरको कुन हिसाबले हल हुन्छ ?
प्रेम, मैत्री, करुणा, सद्भावको हिसाबमा
पास हुने फर्मुला के हुन्छ ?

श्रद्धा छ मेरा गुरुप्रति 
अझै टुटेको छैन विश्वास तपाईँको आश्वासनप्रति 
सायद म आफैले जानिनँ होला ती गणितका फर्मुला जिन्दगीमा लगाउन 
होइन भने किन देख्दिनँ
मेहनत+लगन+इमान्दारिता= बढी तलब, पदोन्नती
चाप्लुसी+कामचोरी+अल्छी= तलब कटौती, निष्कासन

जिन्दगी गणितै गणितमा गुज्रेको छ
तर भन्नुस् न सर, 
गणितको कुन च्याप्टर जिन्दगीको कुन च्याप्टरसँग मेल खान्छ ?

किन पढाउनु भएन,
छोरी हुँदाका कुनकुन कुरा बुहारी हुँदा घटाउनु पर्छ
अनि कुनकुन जोड्नु पर्छ ?
श्रीमती अनि आमा हुँदा केके कुरा गुणन हुन्छन्
अनि केके भाग लाग्छन् ?

के तपाईँले पढाएको गणितमा 'जिन्दगी' च्याप्टर थिएन, सर ?
कि परीक्षा आएर त्यो च्याप्टरै छुट्यो ?

बिना अभ्यास परीक्षामा बसाइएको विद्यार्थी जस्तो
म बारम्बार जिन्दगीको हिसाब बिगारिरहेछु
लौन सर, जिन्दगीको हिसाब कुन च्याप्टरमा छ,
म एक पटक पढ्न चाहँन्छु ।

प्रतिक्रिया