Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

शिक्षाको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, तीन विषयगत प्रस्तुती

शुक्रबार, २४ जेठ २०७६

काठमाडौं - विश्वविद्यालय शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न उद्धेश्य सहित त्रिभुवन विश्वविद्यालयले सम्मेलन गर्ने भएको छ । विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण शीर्षकमा आईतबार र सोमबार हुने दुई दिने सम्मेलनमा नेपाल सहित विभिन्न आधा दर्जन देशका प्रतिनिधि सहभागी हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । 

पाठ्यक्रम र शिक्षण, अनुसन्धान र आविष्कार तथा उद्यमशीलता र व्यवस्थापन गरी तीनवटा विषयगत क्षेत्रमा सम्मेलनमा छलफल हुने रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । सम्मेलनमा नेपालका प्राध्यापक सहित शिक्षाका क्षेत्रमा कृयाशिल विज्ञ र अमेरिका, बेलायत, फिनल्याण्ड, भारत, सिंगापुर र जापानका गरी १० जना प्रतिनिधि तथा विश्वविद्यालयका गरी १ सय २५ जनाको सहभागिता रहने जनाईएको छ । 

'सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै त्रिविको नीति निर्माण र कार्यान्वयनमा रहेका पदाधिकारी एवं प्राज्ञिकहरु लाभान्वित हुने, विश्वविद्यालय शिक्षालाई  अन्तर्राष्ट्रियकरण गर्नमा सहयोग पुग्ने, विश्वविद्यालयको शैक्षिक स्तर माथि उकासिने र विश्व सामु यसको प्रतिष्ठा उच्च हुने अपेक्षा गरिएको' सम्मेलनका बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ । 

सम्मेलनले विश्वविद्यालयको शैक्षिक सुधारका लागि परम्परा बसाल्ने भन्दै यसबाट नयाँ प्रकृयाको शुभारम्भ हुने उपकुलपति तिर्थ खानियाले दावी गरे । 

विश्वविद्यालयले विगत २० बर्ष देखि विभिन्न १ सय ६० विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुबीचको सहकार्यमा शिक्षक विद्यार्थी आदानप्रदान गर्दै आएको विश्वविद्यायले जनाएको छ । सम्मेलनको आईतबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीले उनकै निवासमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सुरक्षा संवेदनशीतालाई ध्यानमा राखेर यस अघि तय भएको कार्यक्रममा परिवर्तन गरिएको खनियाले बताए ।

'आईतबार मच्छेन्द्रनाथको भोटो देखाउने कार्यक्रममा सहभागी भएर फर्कने क्रममा राष्ट्रपति ज्यूबाट उद्घाटन गराउने यस अघिनै तय भएको थियो, राष्ट्रपति कार्यालयले पनि सहमती जनाएको थियो' उनले भने 'राष्ट्रपति निवासबाट जावलाखेलमा हुने भोटोजात्रामा सहभागी भएर फर्कने क्रममा बीच बाटोमा पर्ने कुपण्डोलको होटल हिमालयमा उद्घाटन गराउने तय भएको थियो, तर सुरक्षाका कारण निवासमै गर्नु पर्ने अवस्था आयो, सम्मेलनका अन्य कार्यक्रम भने होटलमै हुनेछन् ।'

प्रतिक्रिया