Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

शिक्षकलाई आत्मनिर्णयको अधिकार सहित १७ बुँदे घोषणापत्र

मंगलबार, २८ जेठ २०७६

काठमाडौं - विश्वविद्यालय शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्धेश्य सहित त्रिभुवन विश्वविद्यालयले गरेको सम्मेलनले शिक्षकलाई आत्मनिर्णयको अधिकार सहित १७ बुँदे घोषणापत्र पारित गरेको छ । विभिन्न आधा दर्जन देशका प्रतिनिधि सहभागि विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण शीर्षकमा आईतबार र सोमबार भएको दुई दिने सम्मेलनले पाठ्यक्रम निर्माण लचिलो हुने र परम्परागत मानसिकता माथि उठ्ने, पाठ्यक्रम निर्माणमा बहुविधागत विषयहरु संलग्न गराउने, विश्वका ख्याती प्राप्त उच्च शैक्षिक संस्थाहरु शैक्षिक सहकार्य गर्ने अन्तराष्ट्रियकरणलाई महत्वपूर्ण रणनीतिको रुपमा  अवलम्वन गर्ने घोषणापत्रमा उल्लेख छ ।

यस्तै शिक्षकहरुलाई आत्मनिर्णयको अधिकार उपलब्ध गराउने, अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण विषय वस्तुहरु पाठ्यक्रम निर्माणमा संलग्न गराउने, प्राध्यापकहलाई थप शसक्तीकरण गर्दै समस्या समाधान गर्ने खालका शैक्षिक कार्यक्रमहरु निर्माण  गर्ने, अनुसन्धानलाई ग्राहयता दिदै अनुसन्धानमा बजेट बढाउने लगायतका सम्मेलनले सकंल्प गरेको छ । सम्मेलनमा जम्मा १२ वटा कार्यपत्र प्रस्तुत भएको थियो भने  विश्वविद्यालयको अन्तराष्ट्रियकरण गर्ने विषयमा छलफल सत्र आयोजना गरिएको थियो ।

विश्वस्तरमा ख्यातीप्राप्त १७ प्राध्यापक र त्रिभुवन  विश्वविद्यालयका गरी सम्मेलनमा सहभागि १ सय ५० प्राध्यापक एवं विभिन्न निकायका प्रमुखहरुको विच त्रिभुवन विश्वविद्यालयका उपकुलपति  प्रा.डा तीर्थराज खनियाले उक्त घोषणापत्र सार्वजनिक गरेका हुन् । सम्मेलनको समापनसत्रमा बोल्दै खनियाले सम्मेलनले आफुहरुलाई महत्वपूर्ण सुझाव उपलब्ध गराएको र यसले विश्वका विश्वविद्यालयहरुसँग प्रतिपस्र्धा र समयसामयिक बनाउन भूमिका निर्वाह गरेको बताए ।

पाठ्यक्रम र शिक्षण, अनुसन्धान र आविष्कार तथा उद्यमशीलता र व्यवस्थापन गरी तीनवटा विषयगत क्षेत्रमा सम्मेलनमा छलफल भएको थियो । विश्वविद्यालयले विगत २० बर्ष देखि विभिन्न १ सय ६० विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुबीचको सहकार्यमा शिक्षक विद्यार्थी आदानप्रदान गर्दै आएको विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया