Edukhabar
विहीबार, १३ बैशाख २०८१
शिक्षामा यो साता

उच्च शिक्षामा अनियमितता र भ्रष्टाचारको निरन्तरता

आइतबार, ०५ साउन २०७६

काठमाडौं - उच्च शिक्षामा भैरहेको भ्रष्टचार सम्बन्धमा गत साता पनि थुर्पै खबर सार्वजनिक भए । स्थानीय सरकारहरूले मातृभाषाको शिक्षा र स्थानीय पाठ्यक्रम निर्माणमा दिएको ध्यानका खबर पनि गत साता सार्वजनिक भएका छन् । त्रिभुवन विश्वविद्यालयको अप्रिय लाग्ने विषयसँग सम्बन्धित प्रसस्त खबर तथा विचार मूलक लेखहरु पनि आएका छन् । शिक्षकले दिएको शारीरिक सजाय सम्बन्धी एक अत्यन्तै सम्बेदनशील खबर पनि बाहिर आएको छ । धार्मिक कार्यक्रम मार्फत सामुदायिक विद्यालयहरुले अर्थ संकलन गरेका समाचारहरुले पनि स्थान पाएका छन् । 

मेडिकल कलेजहरुमा भइरहेको अनियमितता र थप शुल्क लिएको बिरोधमा विभिन्न मेडिकल कलेजका विद्यार्थीले फरक फरक किसिमले आन्दोलनको सुरुवात गरेका छन् । विश्वविद्यालयले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको भन्दै चितवन मेडिकल कलेज, भरतपुरका विद्यार्थीले बिरोध प्रदर्शन गरेका छन् । बिरोधमा एमबिबिएस पहिलो, दोस्रो र तेस्रो बर्षका विद्यार्थीको सहभागीता रहेको छ । कलेजले लिएको थप शुल्कको बिल नदिई नगदै तिर्न लगाएकोमा विद्यार्थीको गुनासो रहेको छ । 

यसै गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिट संख्या निर्धारणमा भएको अनियमितता विरुद्धमा विद्यार्थी आन्दोलन चलिरहेकै बेला प्रतिष्ठानका उपकुलपति लगायत ७ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ गरेको छ । आयोगले पुर्व उपकुलपति, सामाग्री आपुर्ती कर्ता सहित अन्य सात जना विरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गराएको छ । प्रतिवादिहरु मध्ये छ जना विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकै वर्तमान र निवर्तमान कर्मचारी रहेका छन् । मुद्धामा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्व निर्देशक, रजिष्टार्ड, लेखा प्रमुख र स्वास्थ्य विज्ञानका सहायक व्यवस्थापक समेतलाई प्रतिवादि बनाइएको छ । उच्च शिक्षाको अनियमिता अन्तगर्त पोखरा विश्वविद्यालयमा कर्मचारी नियुक्ति प्रक्रियामा भएको अनियमितता विरुद्ध विद्यार्थीले आन्दोलन गरेको समाचार पनि आएको छ ।

शैक्षिक संस्थाहरुमा देखिएको अनियमितताका विरुद्धमा विद्यार्थीले चालेका कदमको समाचारले खास गरि चिकित्सा शिक्षाका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको छ । निकै लामो समय देखि अनियमितता भएको भए पनि यसका विरुद्धमा विद्यार्थीले अडान लिन लागेका छन् । पछिल्ला दिनहरुमा खास गरि चिकित्सा शिक्षा क्षेत्रका पदाधिकारीहरुलाई भ्रष्टाचारको अभियोगमा अदालतले दोषी ठहर गरेका घटनाहरु हेर्दा विद्यार्थीले स्वतन्त्र रुपमा गरेको भ्रष्टाचारको विरोध सान्दर्भिक भएको देखिन्छ । 

कान्तिपुर दैनिकमा प्रकाशित भएको कार्टुनले त्रिभुवन विश्व विद्यालयका परीक्षामा भैरहेको भ्रष्टाचार र लब्धाङंक पत्र जारी गर्दा हुने गरेको अनियमितताको सन्दर्भलाई उठान गरेको छ । कार्टुनमा त्रिभुवन विश्विवद्यालयको परीक्षा नियन्त्रण कार्यालयलाई देखाउन खोजिएको छ । उक्त कार्टुनमा एक जना विद्यार्थी परीक्षा दिन कार्यालयमा आएका छन् । उनले पदाधिकारीलाई कोटको भित्रि खल्तीको नोटको बिटो देखाउँदै “जाँच दिन आ ! लौ त लौ ! छिट्छिटो गोजी जाँचेर ... मार्कसिट दिइहाल्नोस त ! ” भनेका छन् ।

शिक्षकको कुटाइबाट घाइते भएका विद्यार्थीको मृत्यु भएको विषय गत सताको अर्को विशेष खबरका रुपमा आएको छ । यो समाचार शिक्षकबाट भएका शारीरिक सजायका घटना मध्ये बर्षकै सब भन्दा दुखद् समाचार हो । निजी विद्यालयका शिक्षकको निर्घात कुटाइबाट घाइते विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको छ । श्री महाकाली बाल विद्यालय भिमदत्त नगरपालिका कञ्चनपुरको कक्षा ९ मा पढ्ने १३ बर्षीय विद्यार्थीको उपचारकै शिलशिलामा मृत्यु भएको थियो । सो घटनामा विद्यालयका प्रधानाध्यापक लगायत चार जना शिक्षकलाई प्रहरीले प्रकाउ गरेको छ । मृतक विद्यार्थीका परिवारले यस अगाडी पनि ज्यान मार्ने उद्धम गरेको भनेर प्रधानाध्यापक सहित चार जना शिक्षक विरुद्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दर्ता गराएका थिए । त्यस पछि प्रहरीले अभिभावक र विद्यालय बीचमा मध्यस्तताको काम गरी उपचार खर्च विद्यालयले व्यहोर्ने सहमति भएको थियो । तर विद्यार्थीको मृत्यु भए पछि उनीहरुलाई प्रक्राउ गरिएको छ । 

जटिल अवस्थामा पुगे पछि मात्रै बाहिर आउने गरेका शारीरिक दण्डका घटना सम्बन्धी समाचार बारम्बार दोहोरिनुले विद्यार्थीलाई शारीरिक दण्ड दिने शिक्षकका व्यवहार नियमनका लागि कडा कानुनको आवश्यकता देखिन्छ । यसको अभाव हुँदा घटनाले संवेदनशील रुप नलिउञ्जेल  बाहिर नआउने र दण्ड दिने प्रवृति निरन्तर चलिरहेको छ । यसले साच्चै के कति विद्यालयहरु भय रहित वातावरण भएका र शारीरिक दण्डको अभ्यास कायमै रहेका छन् भनेर अनुसन्धान गर्नुपर्ने अवस्था देखाएको छ । यसले सरकारको बालमैत्री विद्यालय नीतिलाई कागजमा सिमित भएको र बालबालिकाले बास्तवमै यसको अनुभुती गर्न नपाएको अवस्थाको प्रमाणित गरेको छ ।

हिमालय टाइम्समा प्रकाशित एक तस्विरमा डोटीको जोरायल गाँउपालिकाको एक सामुदायिक विद्यालयका विद्यार्थीले ठूलो बाढी आएको नदि तरेर विद्यालयबाट घर फर्कदै गरेको देखाइएको छ । तस्विरले ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयका अधिकांस बालबालिकाहरु विद्यालय आउन जान गर्नुपर्ने संघर्षको  प्रतिनिधित्व गरेको झलक दिन्छ । निजी र सामुदायिक विद्यालयका बीच एसइइ जस्ता परीक्षाका प्राप्तांकलाई मात्र आधारमा मानेर उपलब्धी तुलना गर्दा यस्ता संघर्षलाई गौण रुपमा रुपमा लिने गरिन्छ ।

त्रिभुवन विश्वविद्यालयका दोषी पदाधिकारी माथी हुने सँजाय सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको  अभिब्यक्तिलाई आधार बनाएर पनि समाचार आएका छन् । प्रधानमन्त्रीले भ्रष्ट पदाधिकारीहरुलाई कडा भन्दा कडा कारवाहि गर्न सम्बन्धित पक्षलाई सचेत गराएका छन् । कमजोर पूर्वाधार र प्राज्ञिक रुपमा भएको क्षयीकरणका कारण मुलुककै सब भन्दा पुरानो र ठूलो विश्वविद्यालयले आफ्नो साख गुमाइरहेको छ । यस सम्बन्धी विषयलाई पाठक पत्र र विचार लेख मार्फत निरन्तरता दिदै यस बिषयमा सरकारको कुन तहको राजनीतिक प्रतिवद्धता रहने भनेर प्रश्न उठाइएको छ । राजनीतिक हस्तक्षेपका कारण सब भन्दा ठुलो शैक्षिक संस्थाले आफ्नो इज्यत जोगाउन र प्राज्ञिक समृद्धि प्राप्त गर्न सकिरहेको छैन भन्दै गत साता धेरै विचार मूलक लेखहरु प्रकाशित भएका छन् । यस अवस्थाले उच्च शिक्षाको प्राज्ञिक पक्षमा आइरहेको गिरावट र त्रिविको घट्दो साखका विषय विचार मूलक लेखमा प्रस्तुत गरिएको छ ।

साताका अन्य खबरमा, 

चिकित्सा शिक्षा क्षेत्रको शुल्क संरचनामा परिमार्जन प्रयोजनार्थ सरकारद्वारा गठिन उपसमितिले एमविविस र बिडिएस कार्यक्रमको लागि नयाँ शुल्क सरचना सिफारिस गरेको विषय खबरमा समेटिएको छ । मेडिकल कलेजहरुका लागि समितिले नयाँ शुल्क संरचना सिफारिस गरेको हो । शिक्षकबाटै विद्यार्थी माथी यौन हिंसा भएको घटना सन्दर्भलाई पाठक पत्रको स्तम्भमा प्रस्तुत गरिएको छ । काठमाडौंको तारकेश्वर र शंखरापुर नगरपालिकाले यस बर्ष देखि स्थानीय पाठ्यक्रम लागु गरेको समाचारले पनि गत साता छापामा राम्रो स्थान पाएको छ । 

‘शिक्षामा यो साता’ छापा माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । छापा माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरले कान्तिपुर (नेपाली) र द हिमालयन टाइम्स (अंग्रेजी) दैनिक हिमाल साप्ताहिक (नेपाली), BBC.com (अन्तराष्ट्रिय अनलाइन पोर्टल) मा २०७६ असार २५ देखि ३१ गते सम्म प्रकाशित शिक्षा सम्वन्धि विषयवस्तुलाई आधार बनाई यो विश्लेषण गरिएको हो – सम्पादक ।

यो विश्लेषणलाई अंग्रेजीमा पढ्नुहोस् : More reports of Corruption / Irregularity in higher education

गत साताको विश्लेषण पढ्नुहोस् : उच्च शिक्षाको भ्रष्टाचार, एसईई नतिजा र प्लस टु का विकल्प

अहिले सम्म प्रकाशित सबै विश्लेषणलाई एकै ठाउँबाट पढ्नका लागि यो लिंक क्लिक गर्नुहोस् : शिक्षामा यो साता

प्रतिक्रिया